कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ हुने – Nepal Press

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ हुने

काठमाडौं । आजबाट सुरु हुने नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ हुने भएको छ । कांग्रेसको आधिकारिक फेसबुक पेजबाट बैठकको प्रत्यक्ष प्रशारण हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनले भने- सभापति ज्यूले लाइभ गर्ने इच्छा देखाउनुभएको छ । प्राविधिक तयारी भइरहेको छ । बैठकका विषयवस्तुका बारेमा कार्यकर्ताले पनि थाहा पाउन भन्ने उद्देश्यले सभापति ज्यूले लाइभ गर्ने भन्नुभएको हो । लाइभ हुन्छ । 

बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

बैठकमा पहिलो एजेन्डाको रूपमा समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुनेछ ।

सांगठनिक कार्य योजना र कार्य तालिका प्रस्तुत हुनेछ भने कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुनेछन् ।

केन्द्रीय कार्य समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेश गर्ने एजेन्डा पनि रहेको छ ।

यस्तै पार्टीले प्रतिनिधिसभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर