पानी पर्दा र बादल मडारिँदा तर्सिन्छन् कैलाली भजनीका नदी किनारबासी (भिडिओ) – Nepal Press

पानी पर्दा र बादल मडारिँदा तर्सिन्छन् कैलाली भजनीका नदी किनारबासी (भिडिओ)

कैलाली । पछिल्लो केही दिन यता भजनी ५ की ठगनिया चौधरीलाई रातिमा राम्ररी निद्रा पर्दैन । त्यसैमाथि सामान्य पानी पर्दा र आकाशमा कालो बादल मडारिँदा पनि उनी घर बाहिर निस्किन्छिन् र रात भरि घर नजिकै बगिरहेको कन्द्रा हेरिरहन्छिन् ।

अघिल्लो वर्ष आएको बाढीले बनाउँदै गरेको घरको जग नै बगाउन थालेपछि अहिले उनी बसिरहेको घर पनि जोखिममा छ ।

कैलाली भजनी नगरपालिकाको ३, ८, ५ र ७ का नदी किनारका हजारौं नागरिकहरूको पीडा यस्तै यस्तै छ ।

अघिल्लो कार्यकालमा टिकाराम चौधरी भजनी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य थिए , । भगतपुरमा उनी लगायत दर्जनाैँ परिवार मोहनामा बाढी आउनु भन्दा अघि नै राम्रै घर भत्काएर सामुदायिक बनमा बस्न बाध्य भए ।

त्यो बेला सिताराम डगौरा, बाबुराम डगौरा, जुगराम डगौरा, सञ्जय चौधरी, सन्तराम चौधरी, राजकुमार चौधरी, टिकाराम चौधरी विस्थापित भएका थिए । उनीहरूले अहिले हिम्मतपुर सामुदायिक वनमा बसिरहेका छन् । उनीहरू अहिले बसेको ठाउँ पनि सुरक्षित नभएको बताउँछन् ।

‘हामी ज्यान जोगाउन भएको राम्रै घर भत्काएर यहाँ आएका हौँ यहाँ पनि हामी सुरक्षित छैनौँ’ उनले भने ‘सरकारले हाम्रो लागि केहि गर्दिनु पर्छ । ’

सामान्य झरीमा पनि घरमा पानी पस्ने र लत्ता कपडा तथा अन्नबाली नोक्सान हुने गरेको उनको गुनासो थियो ।

यहाँ प्रत्येक वर्ष आउने बाढीले स्थानीयलाई विस्थापित गराउने गरेको छ । केही दिन विद्यालयमा बसेर फेरि घर फर्किने गर्छन् भन केहि पूर्ण रुपमा विस्थापित हुन्छन् ।

वडा नम्बर १ ठेङ्गरपुरमा कन्द्रा नदी गाउँ पस्नै थालेको छ । यहाँका पनि केही स्थानीय विस्थापित भइसकेका छन् ।

वडा नम्बर ३ मा ७ हजार ५९३, ५ मा ७ हजार २५६, ७ मा ५ हजार ८७२ र ८ मा ६ हजार ८९२ जनसङ्ख्या छ । तीमध्ये अधिकांश घरहरूमा सामान्य वर्षामा पनि पानी पस्ने र आधा भन्दा बढी घर बर्सेनि डुबानमा पर्ने गरेको स्थानीयले बताए ।

केहि वर्ष पहिले बाढीले बगाउँदा वडा नम्बर ८मा तीन जनाको मृत्यु भएको थियो । अहिले पनि त्यही नियति दोहोरिने हो कि भन्ने चिन्तामा छन् यहाँका स्थानीय ।

तीनै तहको सरकारले ठोस कलम नचाल्दा निकै समस्या भइरहेको स्थानीयको गुनासो छ ।

‘पहिले केहि तटबन्धन भएको थियो केहि राहत पलाएको थियो तर, त्यो काम पुरा नहुँदा फेरी यहाँका स्थानीय त्रसित र चिन्तित छन्’ स्थानीय खडकसिंह बुढाले बताए ।

यस अघि पटक पटकको बाढीका कारण यहाँका सयौँ परिवार पूर्ण रूपमा विस्थापित भइसकेका छन् । बर्सो पहिलेको चलनचल्तीको हुलाकी सडक भत्किसकेको छ भने अहिले पनि कन्द्रा नदिले हुलाकी राजमार्ग क्षति गरिरहेको छ ।

वडा नम्बर ५ को कार्यालय नजिकै बलियो तटबन्ध गर्न नसकिए कन्द्राको पानी सोझै मोहना पुग्ने र हजारौँ नागरिक प्रभावित हुने स्थानीय राज बुढा बताउँछन् ।

‘यहाँ धेरै ठुलो समस्या पैदा हुने सङ्केत देखिएको छ । समस्या आइसकेपछि सरकार गम्भीर बन्नुभन्दा अहिले भजनीको क्षेत्रमा गम्भीर बन्नु पर्छ’ उनले भने । यस अघि पनि बाढी आएपछि निरीक्षण पुग्ने र त्यसलाई नियन्त्रणका लागि कुनै पहल नगर्ने गरेको आरोप सरकारलाई बुढाले लगाए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर