उपप्रधानमन्त्री खड्कासँग युएईका राजदूतले गरे शिष्टाचार भेट – Nepal Press

उपप्रधानमन्त्री खड्कासँग युएईका राजदूतले गरे शिष्टाचार भेट

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग युएईका राजदूत अब्दुल्लाह आई शाम्सीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्

भेटघाटको क्रममा उपप्रधानमन्त्री खड्काले नेपाल र युनाइटेड अरब इमिरेट्सबीच असल र नजिकको सम्बन्ध रहेको स्मरण गर्दै संयुक्त राष्ट्र संघको सदस्य तथा असंलग्न परराष्ट्र नीतिको पक्षधर रहेका दुवै देशको विश्‍वव्यापी मुद्दाहरुमा समान धारणा रहेको विचार व्यक्त गरे ।

साथै उनले युनाइटेड अरब इमिरेट्सले स्वास्थ्य, शिक्षा, अन्तरिक्ष प्रविधि, उर्जा, आर्टिफिसियल इन्टेलिजेन्स, नवप्रवर्तन लगायतका अन्य क्षेत्रमा गरेको उल्लेखनीय प्रगति र समृद्धिका लागि बधाई दिए ।

त्यस्तै, आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म युएईले आयोजना गर्न लागेको संयुक्त राष्ट्र संघको जलबायु परिवर्तन सम्मेलन (कोप २८) का लागि शुभकामना व्यक्त गरे ।

साथै मन्त्री खड्काले १३ देखि १७ नोभेम्बरमा हुन लागेको २०२३ दुबई एअर सोको सफलताको कामना पनि गरे ।

भेटमा खड्काले नेपाल र युनाइटेड अरब इमिरेट्सको सहकार्यका लागि पर्यटन, नवीकरणीय उर्जा र मानव संसाधन विकासका क्षेत्रमा प्रशस्त सम्भावना रहेको विश्‍वास व्यक्त गर्दै युनाइटेड अरब इमिरेट्सले नेपाली नागरिकलाई ठूलो संख्यामा रोजगारी उपलब्ध गराईरहेकोमा धन्यवाद दिए ।

उक्त अवसरमा राजदूतले राजकुमार शेख मोहम्मद बिन रशिद आई माक्तोउमले २०२३ दुबई एअर सोमा मन्त्री खड्काको सहभागिताको लागि पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुको साथै कार्यक्रममा सहभागिताको लागि अनुरोध समेत गरेको रक्षा मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।

साथै उनले दुई देशबीच राम्रो सम्बन्ध रहेको कुरा औंल्याउँदै संयुक्त अरब इमिरेट्सका उद्यमीहरु नेपालमा लगानी गर्न इच्छुक रहेकोले त्यसका लागि आवश्यक पर्ने द्विपक्षीय सम्झौता गर्ने कार्यलाई छिटो अगाडि बढाउनुपर्ने कुरामा जोड दिए ।

साथै दुई देशका सेनाबीच समेत राम्रो सम्बन्ध रहेको कुरा औंल्याउँदै तालिम एवं क्षमता विकास लगायतका क्षेत्रमा सहकार्य गर्ने सम्भावना रहेको धारणा समेत व्यक्त गरे ।

भेटमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका सहसचिव समेतका अधिकारीको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर