पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बन्ने भयाे इन्धन डिपो, नियमित अन्तर्राष्ट्रिय उडानकाे सम्भावना कति ? – Nepal Press

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बन्ने भयाे इन्धन डिपो, नियमित अन्तर्राष्ट्रिय उडानकाे सम्भावना कति ?

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे ७ महिनापछि हवाई इन्धन डिपो निर्माण सुरु भएको छ । गत पुस १७ बाट सञ्चालनमा आएको उक्त विमानस्थलमा सोमबारदेखि हवाई इन्धन डिपो निर्माण सुरु भएको हो ।

विमानस्थल परिसरभित्र हवाई इन्धन डिपो निर्माणको शिलान्यास उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरेका हुन् । ३ हजार ६०० किलोलिटर हवाई इन्धन भण्डारण ट्यांक निर्माण गरिने योजना रहेको नेपाल आयल निगमले जनाएको छ । जसमा १ हजार २०० किलोलिटरका ३ वटा ट्यांक रहने निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले बताए ।

इन्धन डिपो ७७ करोड लगानीमा बन्न लागेको हो । अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भए पनि हवाई इन्धन भण्डारण डिपो थिएन । डिपो निर्माण गर्न भारतीय कम्पनी बीएचएनसँगको सहकार्यमा रेलिगेयर कन्सट्रक्सन र समानान्तरले ठेक्का पाएका छन् । काम सुरु भएको १ वर्षमा डिपो निर्माण गर्ने गरी सम्झौता भएको निगमले जनाएको छ ।

हवाई इन्धन डिपो निर्माण गर्न निगमले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग पोखरा विमानस्थलमा रहेको जग्गा लिजमा लिएको हो ।

हाल पुरानो विमानस्थलमा रहेको डिपोबाट हवाई इन्धन प्रयोग गर्दै आइरहेको विमानस्थलका प्रमुख विक्रम गौतमले बताए ।

उनका अनुसार हाल विमानस्थलमा दैनिक २० देखि २५ हजार लिटर हवाई इन्धन खपत हुने गरेको छ । ‘नयाँ डिपो भएपछि इन्धन ढुवानीमा सहज हुने अपेक्षा गरेका छौं’, उनले भने ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । गत असार ६ गते पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको थियो । विमानस्थलमा चिनियाँ जहाज ‘सिचुवान एयरलाइन्स’बाट फेवातालमा असार ८ र ९ गते आयोजना भएको ‘ड्रागन बोटरेस फेष्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी र केही नेपाली पोखरा विमानस्थलमा अवतरण भएका थिए ।

चीन भ्रमणमा गएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सोही विमानबाट पोखरा अवतरण गरेका थिए । त्यसयता भने विमानस्थलमा कुनै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मापदण्डअनुसार फोरडी मोडलमा बनेको पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सोसरहका जहाज आउजाउ गर्न सक्नेछन् ।

करिब ३ हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलमा २ हजार ५०० मिटर लामा धावन मार्ग ४५ मिटर चौडाइ र ३४ सेन्टिमिटर मोटाइको छ । एटीसी टावर, सातवटा भवन, एउटा ह्यांगर पनि निर्माण गरिएको छ । चिनियाँ ऋण सहयोगको २२ अर्ब रुपैयाँमा पोखरा विमानस्थल निर्माण भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर