भ्रष्टाचार प्रकरणमा मुछिएकालाई कारबाही गर्ने विषयमा कांग्रेसमा दुई धार (भिडिओ) – Nepal Press

भ्रष्टाचार प्रकरणमा मुछिएकालाई कारबाही गर्ने विषयमा कांग्रेसमा दुई धार (भिडिओ)

काठमाडौं । भ्रष्टाचारको प्रकरणमा मुछिएका कांग्रेसका नेताहरुलाई कारबाही गर्ने विषयमा कांग्रेसमा दुई धार देखिएको छ । संस्थापनइतर पक्षका नेताहरुले भ्रष्टाचार प्रकरणमा मुछिएकालाई कारबाही गर्नुपर्ने भने पक्षमा संस्थापन पक्ष तत्काल नगर्ने पक्षमा उभिएको हो ।

भ्रष्टाचार प्रकरणमा सभापति शेरबहादुुर देउवा निकट नेताहरु नै मुछिएका छन् । भोलिबाट बस्ने केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्नको लागि बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा भ्रष्टाचार प्रकरणमा मुछिएकालाई कारवाही गर्ने विषयमा छलफल नभएको नेता डा. शशांक कोइरालाले बताए ।

उनले भने, ‘भ्रष्टाचारको बिषयमा कुरा भएन। तर, यो पहिलो बैठकमा कतिपय युवा साथीहरुले कारबाही गर्नुपर्छ भनिराख्नुभएको छ । अरुहरुले कारबाही अहिले नगरौं भन्नुभएको छ । भोलि यो कुरा बैठकमा पनि उठ्छ नै । तर पार्टीबाट ठोस निर्णय भएको छैन ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाणमाथि कारबाहीको विषय एजेण्डा बनाउने कि नबनाउने भन्ने विषयमा विवाद छ । डा. शेखर कोइराला, महामन्त्री गगन थापासहितका नेताहरुले भुटानी शरणार्थीसहित भ्रष्टाचार प्रकरणमा मुछिएकाहरुमाथि कारवाही गर्नुपर्ने पक्षमा छन् ।

तर, देउवा खाणको विषय बैठकमा प्रवेश नै नगराउने समझदारी बनाउने प्रयासमा छन् । यस्तै, विजयकुमार गच्छेदार ललिता निवास र केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङ भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दा विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् ।

तर, कांग्रेसले कसैलाई कारबाही गरेको छैन । कांग्रेसले खुमबहादुर खड्का, गोविन्दराज जोशी र चिरञ्जीवी वाग्ले पनि भ्रष्टाचारको आरोप लाग्दा पनि कारबाही गरेको थिएन । अहिले त्यही परम्परालाई बोक्दै देउवाले आफू निकट नेताहरुलाई पार्टीबाट कारवाही गर्नेबारे बचाउने पक्षमा देखिएका छन् ।

तर, संस्थापन इतर समूहका नेता मघु आचार्य परम्पराको नाममा गलत कुरालाई बोक्न नसक्ने बताउँछन् । उनी भन्छन्, ‘औपचारिक रुपमा एजेण्डा बनेर नआएपनि अहिले जनताको सरोकारको एजेण्डा भएकाले कुरा उठ्छ। निर्णय के हुन्छ त्यो बैठकपछि नै थाहा हुन्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर