काठमाडौंमा दोब्बर बढ्यो अपराधिक घटना, बैंकिङ कसुरका मुद्दा धेरै (भिडिओ) – Nepal Press

काठमाडौंमा दोब्बर बढ्यो अपराधिक घटना, बैंकिङ कसुरका मुद्दा धेरै (भिडिओ)

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा काठमाडौंमा अपराधका घटना बढेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै आर्थिक २०७८/७९ को तुलनामा २०७९/८० मा अपराधका घटना बढेको जानकारी दिएको छ । २०७८/७९ मा ८ हजार ९ सय ७७ मुद्दा दर्ता भएकोमा पछिल्लो आर्थिक वर्षमा १३ हजार ४ सय ६४ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए ।

उनकाअनुसार सबैभन्दा बढी बैंकिङ कसुरसम्बन्धी ७ हजार १ सय १ मुद्दा दर्ता भएका छन् भने अभद्र व्यवहारका २ हजार ८ सय ९४ मुद्दा दर्ता भएका छन् । त्यस्तै आर्थिक बर्ष २०७९/८० मा प्राप्त २ हजार १ सय ६२ उजुरीमध्ये ६ सय ४१ को मात्रै फर्स्यौट भएको छ । कार्कीले अनलाइन प्रविधिबाट देखा परेका आर्थिक अपराध पनि पछिल्लो समय बढ्दै गएको बताए ।

पछिल्लो समय देखिएका अपराधका चुनौतीलाई सामना गर्न दक्ष र प्रविधियुक्त जनशक्ति विस्तार गरी अनुसन्धानलाई प्रभावकारी बनाउने परिसरले जनाएको छ । कार्कीले नाकामा प्रवधियुक्त प्रणाली जडान गरी अपराध नियन्त्रत्रमा ध्यान दिने योजना पनि सुनाए ।

त्यस्तै साइबर अपराध र अनलाइन ठगीका घटना हुन नदिन समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत लक्षित वर्गमा जनचेतना प्रदान गरिने, प्रभावकारी तबरले प्रहरी परिचालन गरी शान्त र सुरक्षित काठमाडौं निर्माणको अवधारणालाई सशक्त पार्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर