एयरपोर्टमा सेटिङ नमिल्दा श्रमिकलाई सास्ती, अध्यागमनका कर्मचारीले श्रम विभागमा थर्काए – Nepal Press

एयरपोर्टमा सेटिङ नमिल्दा श्रमिकलाई सास्ती, अध्यागमनका कर्मचारीले श्रम विभागमा थर्काए

'अध्यागमन कार्यक्षेत्रभन्दा बाहिर गएको वैदेशिक रोजगार विभागको भनाई, छानबिन समितिप्रति आपत्ति'

काठमााडौं । वैदेशिक रोजगारीमा जान लागेका नेपाली श्रमिकलाई अध्यागमनले फर्काएको विषयमा सरकारका दुई निकायबीच नै कुरा बाझिएको छ । केही दिनअघि कुवेत उड्न लागेका ११७ जना श्रमिकलाई अध्यागमनका कर्मचारीले कागज नपुगेको भनी फर्काएका थिए । यस सम्बन्धमा वैदेशिक रोजगार विभाग र अध्यागमन विभागको फरकफरक भनाइ सार्वजनिक भएको छ ।

अध्यागमन विभागले नेपाली कामदार रोकिएको समाचारमा ध्यानाकर्षण भएको भन्दै उनीहरूले पेश गरेको कागजात शंकास्पद लागेर फर्काइएको प्रष्टीकरण दिएको थियो । रोजगारीका लागि विदेश जाने यात्रुहरूका लागि अध्यागमनले ४ वटा शर्तसमेत अघि सारेको छ ।

हेर्नुस् अध्यागमन विभागको विज्ञप्ति

निर्देशक खिमराज भुसालले आइतबार प्रेस विज्ञप्तिमार्फत् पेश गरेका कागजातहरूको आधिकारिकता जाँच गरी आगमन तथा प्रस्थान अनुमति दिने वा नदिने सम्बन्धमा निर्णय गर्नसक्ने सार्वभौम अधिकार कानूनतः अध्यागमन अधिकृतमा निहीत रहने जिकिर गरिएको छ ।

अध्यागमनले यस विषयमा समिति गठन गरेर छानबिन थालेको पनि बताएको थियो । कामदारहरूको भिसामा उल्लेख भएको कम्पनी र कामदारले पेश गरेको विवरण वेबसाइटमा नखुलेको, भिसाको अवस्था वेटिङ अप्रोभल देखिई भिसाको आधिकारिकताका सम्बन्धमा द्विविधा उत्पन्न भएकोलगायत समस्याले रोकिएको दाबी गरिएको थियो ।

कामदारहरुले अंग्रेजीबाहेकको भाषाको भिसा अंग्रेजीमा अनुवाद गरेर नोटरी गरी पेश गर्नुपर्ने, रोजगारदाताको नाम र श्रम स्वीकृति सम्झौतापत्रमा उल्लेख भएको विवरण एउटै हुनुपर्नेलगायतका कागजात पेश गर्न भनिएको छ ।

यता वैदेशिक रोजगार विभागले पनि हिजै विज्ञप्ति निकालेर कुवेत र जोडर्न जान लागेका १५६ कामदारलाई विनाकारण फर्काउनु मनासिव नरहेको बताएको छ ।

हेर्नुस् वैदेशिह रोजगार विभागको विज्ञप्ति

‘यस विभागमा श्रम स्वीकृति लिई कुवेत र जोर्डन जान लागेका १५६ जना कामदारलाई विना कारण प्रस्थान रोक लगाएको विषयमा छानबिन गरी दोषीलाई कारबाही र कामदारलाई विदेश पठाउने विषयमा ध्यानाकर्षण पत्र र अध्यागमन विभागले जारी भएको प्रेस विज्ञप्ति सन्दर्भमा समेत यस विभागको ध्यानाकर्षण भएको छ,’ विभागका निर्देशक गुरुदत्त सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अंग्रेजीबाहेकको भाषाको भिसा अनुवाद गरी नोटरी पेश गर्नुपर्ने अध्यागमनको शर्तलाई खारेज गर्दै वैदेशिक रोजगार विभागले आफ्नै अनुवादकबाट अनुवादक भई विभागले श्रम स्वीकृत गर्ने जानकारी गराएको छ ।

भिसामा उल्लेख भएको रोजगारदाताको नाम, श्रम स्वीकृति/सम्झौता पत्रमा उल्लेख भएका रोजगारको नाम र पेशा एउटै हुनुपर्ने उल्लेख भएकोमा सोही बमोजिम हुने गरेको यदि फरक परे त्यसको अन्तिम निर्णयको अधिकार वैदेशिक रोजगार विभागको रहेको श्रम स्वीकृतिको विषयमा अध्यागमन विभाग प्रवेश गर्न उपयुक्त नहुने पनि प्रष्ट पारिएको छ ।

अध्यागमनबाट छानबिन समिति बनाइएको विषयमा वैदेशिक रोजगार विभागले गृह, श्रम मन्त्रालयअन्तर्गतको संयुक्त समिति गठन गरेर स्वतन्त्रतापूर्ण छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिएको छ ।

वैदेशि रोजगार विभागले श्रम स्वीकृति दिने निकालेलाई औपचारिक जानकारीसमेत नदिई एयरपोर्टबाट फर्काउनु अस्वाभाविक भएको भन्दै आउँदा दिनमा संयुक्त बैठक र छलफलबाट समस्या निराकरण हुनुपर्नेमा जोड दिँदै आफू सहकार्य र समन्वयका लागि तयार भएको बताएको छ ।

वैदेशिक रोजगार विभागमा अध्यागमनका कर्मचारीको ‘धम्की’

एक-अर्काप्रति लक्षित गर्दै वक्तव्यबाजी भएपछि दुई विभागबीच विवाद बढेको छ । अध्यागमन कार्यालयका कर्मचारीले वैदेशिक रोजगार विभागका कर्मचारीलाई फोन गरेर एउटा सरकारी कार्यालयको विरुद्ध अर्को सरकारी कार्यालय उत्रिएको राम्रो नहुने भनेर थर्काएका छन् ।

वैदेशिक रोजगार विभागका एक कर्मचारीले भने, ‘हामीलाई अध्यागमनका कर्मचारीले उल्टै फोन गरेर थर्काए । हामीले कागजात हेरेर सबै प्रक्रिया ठीकठाक देखेपछि नै श्रम स्वीकृति दिएको हो । तर, अध्यागनलाई आफूखुसी के गरेको हो । उसैले जानोस् ।’

उड्न ठिक्क परेका कामदार फर्काएको विषयमा गृह, श्रममन्त्रालयका सचिव, अध्यागमन र वैदेशिक रोजगार विभागका महानिर्देशकहरूको संयुक्त बैठक बस्यो । उक्त बैठकमा अध्यागमनका कर्मचारीले गन्तव्य मुलुक जानबाट फर्काउनुपर्नाको ठोस प्रमाण र जवाफ दिन नसकेको बताएको स्रोतको भनाइ छ । अध्यागमनका अधिकारीले ती कागजातमाथि छानबिन भइरहेको बताएको थियो ।

के भन्छन् मेनपावर व्यवसायी ?

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी अध्यागमन विभागले वैदेशिक रोजगार विभागको क्षेत्राधिकार मिच्न खोजेको आरोप लगाए ।

उनले भने, ‘अध्यागमनको काम भनेको भिसा, टिकट र कुनै अपराध गरेको भए त्यस्ता व्यक्तिलाई मात्रै विदेश जान रोक्न पाउने व्यवस्था छ । तर, हिजो अध्यागमनले ४ शर्त राखेर निकालेको सूचना उसको क्षेत्रमा पर्दैन । विनाकारण कुवेत र जोर्डन जान लागेका श्रमिक रोकेर अध्यागमन आफ्नो क्षेत्रभन्दा बाहिर गएको देखिन्छ ।’

वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई उड्न एयरपोर्ट पुगेका श्रमिकलाई अध्यागमनका कर्मचारीले अनावश्यक दु:ख दिने, कानूनविपरीतको गलत सूचना दिने गरेको भन्दै उनीहरूलाई कारबाही गरी फर्काइएका कामदारलाई सहजरूपमा पठाउन सहयोगका लागि उपप्रधान तथा गृहमन्त्री र श्रममन्त्रीसँग व्यवसायीले माग गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर