मौद्रिक नीतिको मस्यौदा तयार, खुकुलो बनाइएको राष्ट्र बैंकको संकेत – Nepal Press

मौद्रिक नीतिको मस्यौदा तयार, खुकुलो बनाइएको राष्ट्र बैंकको संकेत

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (२०८०/८१) को मौद्रिक नीतिको मस्यौदा तयार पारेको छ । यस पटक मौद्रिक नीति खुकुलो हुने संकेत केन्द्रीय बैंकले गरेको छ ।

बैंकका एक अधिकारीले अहिले राष्ट्र बैंकमा दैनिक तरलता नै पौने १ खर्ब थुप्रिन थालेकाले यही तरलता घटाउन चाहेको बताए । यता अन्तर बैंक ब्याजदर १ प्रतिशतसम्म झरेको र तरलता बढेको भन्दै अब कर्जा विस्तारको योजनामा केन्द्रीय बैंक रहेको ती अधिकारीले बताए ।

उनका अनुसार अब हरेक क्षेत्रको कर्जामा सहज हुनेछ । यद्यपी अधिक लचकताका कारण ऋण जति फेरि पनि आयातमै जाने हो की भन्नेतर्फ पनि केन्द्रीय बैंक सजग रहेको ती अधिकारीले बताए ।

मौद्रिक नीतिको एक खालको मस्यौदा बनेपनि गभर्नर महाप्रसाद अधिकारी स्वदेशमा नहुँदा मस्यौदामाथि छलफल हुन सकेको छैन । गभर्नर अधिकारी सहितको टिम असार २३ गते क्यानडा गएका छन् । क्यानडामा फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को मूल्यांकन समूहसँग छलफल गर्न नेपालबाट गर्भनर सहितको टिम गएको हो ।

नेपालमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी १९ वटा ऐन–कानून विचाराधीन अवस्थामा छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रस्तावित विधेयक संसदबाट पारित नहुँदा नेपाल ग्रे लिस्टमा पर्ने जोखिममा छ । सोही ग्रे लिस्टबाट जोगाउन सो टीम क्यानडा गएको हो ।

गभर्नर सहितको टिम साउन ३ गते स्वदेश फर्कनेछ । त्यसपछि व्यवस्थापनसँग र सञ्चालकसँगको बैठक बस्नेछन् । डेपुटी गभर्नर बम बहादुर मिश्रका अनुसार साउन सात गतेभित्र मौद्रिक नीति आउनेछ ।

मौद्रिक नीतिमार्फत शेयर तथा घर जग्गाामा जाने ऋणलाई खुकुलो बनाउन आवाज उठिरहेको छ । मौद्रिक नीतिका सम्बन्धमा अर्थविद्हरुले विस्तारकारी नीति र संकुचित नीति दुवै खालको नल्याउन सुझाएका छन् ।

विस्तारकारी नीति ल्याउँदा देशलाई समस्या पर्ने र संकुचित नीति ल्याउँदा उद्योग व्यवसाय धराशायी हुने भएकाले सन्तुलित खालको मौद्रिक नीति ल्याउन विज्ञहरुले सुझाउँदै आएका छन् ।

शेयर लगानीकर्ताले भने मार्जिन कल बढाउनेदेखि कर्जा सुविधासम्मको माग गरेका छन् । मार्जिन कल बढाएर ७० प्रतिशत कायम गर्न लगानीकर्ता संघले आग्रह गरेको छ । हाल शेयर धितोवापत कूल मूल्याङ्कनको ५० प्रतिशत मात्रै कर्जा प्रवाह हुने व्यवस्था छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर