कृषि सहकारीले रैथाने उत्पादनको बजारीकरणमा सहयोग गरेनन्’ – Nepal Press

कृषि सहकारीले रैथाने उत्पादनको बजारीकरणमा सहयोग गरेनन्’

काठमाडौं । बागमती प्रदेशका सांसद दिनेशचन्द्र देवकोटाले कृषि सहकारीहरूले रैथाने उत्पादनको बजारीकरणमा सहज भूमिका निर्वाह नगरेको गुनासो गरेका छन् ।

रैथाने एग्रो प्रडक्टस् नेपालले आयोजना गरेको रैथाने कृषि हाटबजार उदघाट्न कार्यक्रममा सांसद देवकोटाले गाउँमा उत्पादन भएको रैथाने बालीको सहज बजारीकरण गर्ने उद्देश्यले खुलेका कृषि सहकारीहरूले गलत बाटो लिँदा रैथाने उपजहरू संकटमा परेको बताए ।

उनले रैथाने उत्पादनलाई प्राथमिकता दिन प्रत्येक पालिकाले रैथाने हाटबजार राखेर किसानको उत्पादनलाई सहज बजारीकरण गर्नु अहिले आवश्यक रहेको बताए ।

उनले भने, ‘देशभर बहुराष्ट्रिय कम्पनीहरूले एकछत्र बीउ वितरण गरेर यहाँका पुराना रैथाने उपज संकटमा छ । त्यस्तो अवस्थाको अन्त्य गरेर हरेक स्थानीय तहले रैथाने बीउहरू किसानलाई उपलब्ध गराउनुपर्छ ।’

राष्ट्रिय जीन बैंकका प्रमुख तथा बाली वैज्ञानिक डा. बालकृष्ण जोशीले आयातित बीउको प्रयोग बढेपछि नेपालका परम्परागत र रैथाने बाली संकटमा पर्न थालेका बताए ।

नेपालमा हाल खेतीपातीमा प्रयोग हुने बीउमध्ये झन्डै ९५ प्रतिशत हिस्सा आयातितले ओगटेको उनको भनाइ छ । ‘सबैको मानसिकतामा उत्पादन बढाउनुपर्छ भन्ने सेट भयो, उत्पादन बढाउनलाई विकासे जात भनेर परिभाषित गरिएको छ’, उनले भने, ‘विकासे जात चाहिन्छ भन्यो अनि रैथाने बालीलाई प्रथामिकता दिइएन । जसले रैथाने जात करिब ५० प्रतिशत हराएको छ, बाँकी रहेका अधिकांश संकटमा छ ।’

रैथाने एग्रो प्रडक्टस् नेपालका अध्यक्ष तिलक ढकालले रैथाने तथा स्थानीय कृषि उपजको बजार व्यवस्थापनमार्फत किसान र उपभोक्तालाई सीधै जोड्न हाटबजारको मुख्य उद्देश्य रहेको बताए ।

कृषि हाट बजारबाट किसानको खेतबारी, घर, गोठदेखि उपभोक्ताको भान्सासम्म रैथाने तथा स्थानीय कृषि उत्पादन र सामग्रीहरू पुग्ने हुँदा स्वच्छ वातावरण, स्वस्थ्य जीवन बनाउने अभियानमा मद्दत पुग्ने अपेक्षा रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर