वीपी क्यान्सर अस्पतालको कार्यकारी निर्देशक बनाउन ‘प्रधानमन्त्रीका भाइ’ को अस्वाभाविक चलखेल – Nepal Press

वीपी क्यान्सर अस्पतालको कार्यकारी निर्देशक बनाउन ‘प्रधानमन्त्रीका भाइ’ को अस्वाभाविक चलखेल

चितवन । तीन महिनादेखि कार्यकारी प्रमुख नभएर चितवनको वीपी कोइराला क्यान्सर अस्पताल अस्तव्यस्त छ । ठीक यही बेला प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नीशोकमा रहेका कारण कार्यकारी नियुक्तिमा थप ढिलाइ भइरहेको छ ।

हुन त वीपी कोइराला क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक नियुक्ति गर्न प्रधानमन्त्रीको सीधा साइनो देखिँदैन तर अस्पताल भरतपुर चितवनमा रहेको र भरतपुर महानगरपालिका प्रमुख प्रधानमन्त्रीपुत्री रेणु दाहाल रहेका कारण कार्यकारी प्रमुख नियुक्तिमा प्रधानमन्त्री दाहाल जोडिन पुगेका हुन् ।

प्रधानमन्त्रीले चाहेकै व्यक्ति कार्यकारी प्रमुख हुने भएकाले प्रधानमन्त्री निकटहरूले आ-आफ्ना उम्मेदवार बोकेर चलखेल थालेको आरोप समेत छ ।

चितवनमा रहेको वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी प्रमुख बन्न अहिले तीनजनाले काठमाडौंको बालुवाटारमा प्रधानमन्त्री निवासमा चक्कर लगाइरहेका छन् । अहिले डा. शिवजी पौडेल, डा. विजय आचार्य र डा. कृष्णसागर शर्मा कार्यकारी प्रमुखका दाबेदार हुन् ।

डा. शिवजी पौडेल कांग्रेसनिकट मानिन्छन । उनी केन्द्रमा स्वास्थ्यमन्त्री कांग्रेसकै मोहनबहादुर बस्नेत भएका कारण आफूले पाउनु पर्ने भन्दै लबिङमा छन । तर, चितवन प्रधानमन्त्रीको गृहजिल्ला भएका कारण बस्नेतले धेरै अडान लिने सम्भावना छैन ।

यस्तै यसअघि नै कार्यकारी निर्देशक भइसकेका डा. विजय आचार्य पुन: दोहोरिने दाउमा छन । उनलाई पहिलो पटक कार्यकारी निर्देशक बनाउन प्रधानमन्त्री प्रचण्डका भाइ नारायण दाहालले सबै शक्ति लगाएका थिए ।

अहिले पनि नारायण दाहालकै बलमा उनी दाबेदार बनेका छन् । दाहालले जसरी पनि आचार्यलाई बनाउन लागि परेको माओवादीनिकट स्रोतको दाबी छ । अर्का प्रतिस्पर्धी डा. कृष्णसागर शर्मा माओवादीनिकट चिकित्सक संघका पूर्वअध्यक्ष हुन् ।

माओवादीको आधिकारिक दाबेदार कृष्णसागर हुन् । यसो हुँदा प्रधानमन्त्री प्रचण्डको आशीर्वाद पाउने आशमा उनी पनि काठमाडौं नै धाइरहेका छन । शर्मा अस्पतालका निवर्तमान उपनिर्देशक हुन् ।

अस्पतालमा निर्देशक नहुँदा अस्तव्यस्त भएको कर्मचारीहरूले गुनासो गर्न थालेका छन् । त्यसैमा अस्पताल जस्तो ठाँउमा विषय विज्ञभन्दा राजनीतिक र आर्थिक चलखेलका आधारमा नियुक्ति हुने परम्परा नै बस्न थालेकोमा व्यवसायिक छविका चिकित्सकहरू चिन्तित छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल शोकमा रहेका कारण नियुक्ति प्रक्रियामा अलमल भएपनि उनका भाइ नारायण दाहालको भने वीपी क्यान्सरको नियुक्तिमा अस्वभाविक सक्रियता बढेको छ ।

नारायण दाहालले यसअघि गगन थापा स्वास्थ्यमन्त्री हुँदा नाटकीय ढंगबाट मन्त्रीलाई चक्मा दिएका थिए । प्रचण्ड प्रधानमन्त्री भएका बेला उनको प्रशासनिक सल्लाहकारमा नारायण दाहाललाई नियुक्त गरेका थिए ।

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापा डा. अनिलविक्रम कार्कीलाई कार्यकारी निर्देशक बनाउन चाहन्थे । तर, नारायण दाहालको आर्थिक चलखेलमा थापा हारेको धेरैको बुझाइ छ ।

कार्यकारी निर्देशक बन्न प्रधानमन्त्रीका नारायण दाहाल निर्णायक देखिएपछि उनलाई खुसी पार्न यतिबेला तीनैजनाबीच प्रतिस्पर्धा चलेको अस्पतालका एक डाक्टरले बताएका छन् ।

नाम उल्लेख नगर्ने शर्तमा अस्पताका एक कर्मचीले भने, ‘यहाँ प्रधानमन्त्रीको नाम बेच्ने, स्वास्थ्यमन्त्री मिलाइदिन्छु भन्ने देखि रेणु दाहाल र गंगा दाहालसम्म मिलाउनपर्छ भन्नेहरूको बिगबिगी बढेको छ, त्यसैमा प्रधानमन्त्रीका भाइ नारायण दाहालको हस्तक्षेप हुने तहसम्म हुन्छ हामी सबैले देखेकै छौं । अस्पताल कसरी राम्रो बनाउने भन्दापनि मन्त्री, प्रधानमन्त्री र उनका परिवार खुसी पारेर पद हातपार्ने खोज्नेहरू बढे यसरी यो अस्पताल कसरी चल्छ ?

क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक नियुक्त प्रकरणमा फेरि पनि रेणु दाहाल हार्ने अवस्थामा पुगेकी स्रोतको बुझाइ छ । नारायाण दाहालले यसअघि कार्यकारी निर्देशक रहँदा बिजय आचार्यसँग अस्वाभाविक फाइदा लिएकाले यसपटक त्यसको ऋण तिर्न लागि परेका छन । नारायणको घर नै बिजयको नामबाट नामसारी भएको थियो ।

माओवादीको कोटामा अहिले विजय न्यौपाने वोर्ड अध्यक्ष भइसकेकोले केन्द्रमा सहमतीय सरकारको हैसियतमा स्वाभाविकरूपमा कांग्रेसलाई कार्यकारी निर्देशकको भाग चाहिने भन्दै चितवन कांग्रेसबाट काठमाडौंमा डेलिगेसन समेत गएको छ ।

यता कांग्रेस नै भएपनि कार्यकारी निर्देशक बन्न माओवादी देखिन तयार विजय आचार्यलाई नियुक्त नगर्न माओवादीहरूको जोडबल रहेको छ । विगतमा उनी कार्यकारी निर्देशक हुँदा प्रधानमन्त्रीका भाइ नारायण दाहालले अनावश्यक लाभ लिएको आरोप लागेको थियो ।

अस्पतालको कार्यकारी निर्देशक चयन गर्न अहिले अध्यक्षको नेतृत्वमा बोर्ड गठन भइसकेको छ । मंगलबार यसबारे निर्णयको सम्भावना छ । त्यसैले सबै दाबेदार र सरोकारवाला प्रधानमन्त्री भेट्ने काठमाडौंमा छन् ।

बोर्डका एक सदस्यले भने, ‘हामी नियुक्ति गर्नसक्ने अवस्थामा रहेनौं, यहाँ डाक्टरभन्दा पनि कोही माओवादी, कोही कांग्रेस, कोही प्रधानमन्त्रीका परिवारनिकटका मान्छे छन् ! हामीले अस्पतालको कार्यकारी निर्देशक नियुक्ति गर्न पर्ने हो तर यहाँ त दलको कार्यकारी निर्देशक नियुक्ति हुन लागेजस्तो हुँदैछ । हामीले आर्थिक चलखेल भइरहेको गाँइगुइँ गुनासो पनि सुनेका छौं, यस्तै भयो भने बोर्डको बैठकसमेत बस्न सक्ने अवस्था छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर