वीर अस्पतालको डाक्टर भन्दै प्रेमिकाको ४० लाख झ्वाम्, पक्राउपछि खुल्यो ठगीका अरु कर्तुत – Nepal Press

वीर अस्पतालको डाक्टर भन्दै प्रेमिकाको ४० लाख झ्वाम्, पक्राउपछि खुल्यो ठगीका अरु कर्तुत

काठमाडौं । कन्चनपुरको पुनरवास नगरपालिकाका २७ वर्षीय बलराम भन्ने मातृका जैसीले आफू वीर अस्पतालको १२औँ तहको डाक्टर रहेको भन्दै एक महिलालाई ठगेका छन् । मातृकाले जे जे भन्दै गए, उनले पनि आँखा चिम्लिएर पत्याउन थालिन् । विस्तारै दुवैजना भक्तपुरको कौशलटारस्थित मातृकाको कोठामा बस्न थाले । महिला आफ्नै व्यवसायमा थिइन् ।

एक दिन मातृकाले आफूले मिटरव्याजमा पैसा लिएको र त्यो तिर्न नसके सरकारी जागिर नै अप्ठेरोमा पर्ने बताए । ती महिलाले ४० लाख रूपैयाँ पैसा पनि दिइन् । विस्तारै प्रेमी डाक्टर नभएको चाल पाएपछि महिलाले पैसा फिर्ता मागिन् । तर, मातृकाले उल्टै आफूले भनेको नमाने आत्महत्या गर्ने धम्की दिन थालेको उनको भनाइ छ ।

त्यसपछि प्रेमिकाले प्रहरीमा जाहेरी दिइन् । मातृका पक्राउ परेको सूचना पाएपछि उनीबाट ठगिएका अन्य ५ जना पनि प्रहरी सम्पर्कमा पुगे । अधिकांशलाई उनले आफू डाक्टर भएको बताउँदै विभिन्न बहानामा पैसा लिएको पाइयो । उनीबाट ठगिएकामध्ये अमरबहादुर विष्ट पूर्वप्रहरी हवल्दार हुन् । पठाओ राइडरका रूपमा काम गर्दै गर्दा ग्राहक बनेर परिचय भएका मातृकाले उनीसँग पनि २५ हजार ९ सय ३० रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

काठमाडौं प्रहरी परिसरका अनुसार कौशलटारबाट महाराजगञ्ज जानेक्रममा मातृकाले विष्टको पठाओ बुक गरेका थिए । त्यसबेला उनले आफूलाई प्रहरी अस्पतालको इन्सपेक्टरका रुपमा चिनाएको र पछि आफूलाई पठाओ चालकका रूपमा नियमित प्रयोग गर्ने गरेको विष्टले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । मातृकाले आफू डीएसपीमा बढुवा भएको पनि पछि बताएका थिए ।

विष्टका अनुसार एक दिन मातृकाले आफू बाहिर रहेको र बैंकमा किस्ता तिर्नुपर्ने छ भन्दै उनीसँग २५ हजार ९ सय ३० रूपैयाँ मागेका थिए । तत्काल रकम पठाएको तर, पछि फोन पनि उठाउन छाडेको विष्टको जाहेरीमा उल्लेख छ ।

अनुसन्धानका क्रममा मातृकाले आफ्नो छालाको समस्याको उपचारका लागि क्लिनिकमा फोन गर्दा पछि प्रेमिका ती महिलाको मोबाइल नम्बर प्राप्त भएको बताएका छन् । उनले सुरूवातमा आफू डाक्टर रहेको बताएपनि पछि वास्तविकताबारे महिला र परिवारलाई जानकारी गराएको पनि दाबी गरेका छन् ।

आफूले सञ्चालन गरेको चित्रकला एक्सपोर्ट इम्पोर्ट प्रालिको ऋण तिर्न पैसा लिएको उनको भनाइ छ । मातृकाले १७ महिनादेखि कार्यालयको भाडा नतिरेको भन्दै घरबेटीले समेत ठगीको उजुरी हालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर