सर्वकालीन कीर्तिमानी जोकोभिचविरुद्ध २० वर्षीय अल्काराजको ‘बहादुरी’, बने विम्बल्डन च्याम्पियन – Nepal Press

सर्वकालीन कीर्तिमानी जोकोभिचविरुद्ध २० वर्षीय अल्काराजको ‘बहादुरी’, बने विम्बल्डन च्याम्पियन

लन्डन । सर्वकालीन विश्व कीर्तिमानी नोभाक जोकोभिचलाई पराजित गर्दै २० वर्षीय स्पेनिस कार्लोस अल्काराजले वर्षको तेस्रो ग्रान्डस्लाम टेनिस विम्बल्डनको उपाधि जितेका छन्।

पुरुष एकलतर्फ २३ पटक ग्रान्डस्लाम जितेका जोकोभिचसँग ५ सेट खेल्दै अल्काराजले जित हात पारेका हुन्।

पहिलो सेट १-६ ले गुमाएका अल्काराजले त्यसपछि लगातार दुई सेट ७-६ र ६-१ ले जितेका थिए। तर चौथो सेट जोकोभिचले ३-६ ले जितेपछि खेल पाँचौँ तथा निर्णायक सेटमा धकेलिएको थियो।

उक्त सेट अल्काराजले ६-४ ले जितेका थिए। जोकोभिच लगातार पाचौँ पटक विम्बल्डन जित्ने प्रयासमा थिए। सन् २०१८ यता जोकोभिचबाहेक अरूले यो प्रतियोगिता जित्न सकेको थिएन।

सन् २०२० मा कोरोना महामारीका कारण विम्बल्डन आयोजना हुन सकेको थिएन।

त्यसबाहेक जोकोभिचले आफू सहभागी पछिल्ला लगातार तीन ग्रान्डस्लाम जितेका थिए। यो वर्षका अस्ट्रेलियन ओपन र फ्रेन्च ओपन जितेका उनले गत वर्षको अन्तिम ग्रान्डस्लाम यूएस ओपनमा भने सहभागी थिएनन्।

जोकोभिचले यसपटक जितेको भए उनी ग्रान्डस्लामको एकल स्पर्धामा सर्वाधिक उपाधि जित्ने विश्व कीर्तिमानको बराबरी गर्ने थिए। महिलातर्फ २४ पटक एकै खेलाडीले एकल स्पर्धाको उपाधि जितेको इतिहास छ।

‘सपना पुरा भएको जस्तो भएको छ’, अल्काराजले भनेका छन्, ‘यदि मैले हारेको थिएँ भने पनि निकै गर्व लाग्ने थियो। मलाई आफूदेखि निकै गर्व लागिरहेको छ।‘ अल्काराजले गत वर्ष मात्र युएस ओपनका रूपमा पहिलो ग्रान्डस्लाम उपाधि हात पारेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर