वैदेशिक रोजगारीमा जानेहरूका लागि अध्यागमनले अघि सार्यो ४ शर्त – Nepal Press

वैदेशिक रोजगारीमा जानेहरूका लागि अध्यागमनले अघि सार्यो ४ शर्त

काठमाडौं । अध्यागमन विभागले कुवेत जान लागेका कामदारहरुको कागजात शंकास्पद लागेर रोकिएको र सबै वैदेशिक रोजगारीमा जानेले थप चार कागजात पेश गर्न आग्रह गरेको छ ।

विभागका निर्देशक एवम् सूचना अधिकारी खिमराज भुसालले जारी गरेको विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यमहरुमा कुवेत जान लागेका कामदाहरुलाई अध्यागमन कार्यालयले रोकेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै उनीहरुले पेश गरेको कागजातमा प्रारम्भिक अनुसन्धान गर्दा शंकास्पद लागेर रोकिएको बताएका छन् ।

अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली २०५१, अध्यागमन कार्यविधि २०६५ बमोजिम नेपालबाट बाहिर प्रस्थान गर्ने र नेपालभित्र प्रवेश गर्ने जुनसुकै यात्रुहरूले आगमन तथा प्रस्थान अनुमति लिने सन्दर्भमा यात्रुहरूले पेश गरेका कागजातहरूको आधिकारिकता जाँच गरी आगमन तथा प्रस्थान अनुमति दिने वा नदिने सम्बन्धमा निर्णय गर्नसक्ने सार्वभौम अधिकार कानूनतः अध्यागमन अधिकृतमा निहित रहने विज्ञप्तिमा भनिएको छ ।

‘सोही आधारमा शंकास्पद कागजात पेश गरेको भन्ने लागेमा थप कागजात पेश गर्ने वा आधिकारिता पुष्टि गर्ने प्रमाणको भार सम्बन्धित यात्रुमा रहने र सो पुष्टि नभएसम्म आगमन वा प्रस्थान अनुमति दिन अस्वीकार गर्ने अधिकार समेत सम्बन्धित अध्यागमन अधिकृतलाई हुने हुँदा सोही अधिकारअन्तर्गत विदेश प्रस्थान गर्ने वा नेपाल आगमन गर्ने यात्रुको सम्बन्धमा आवश्यक निर्णय गर्ने विषय अध्यागमन प्रशासनको नियमित प्रक्रियाअन्तर्गत पर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, यस विषयमा विभागले समिति गठन गरेर छानबिन सुरु गरिएको विज्ञप्तिमा जनाइएको छ । कामदारहरुको भिसामा उल्लेख भएको कम्पनी र कामदारले पेश गरेको विवरण वेबसाइटमा नखुलेको, भिसाको अवस्था अवेटिङ अप्रोभल देखिई भिसाको आधिकारिकताका समबन्धमा द्विविधा उत्पन्न भएकोलगायत समस्याले रोकिएको विभागको भनाइ छ ।

जसका लागि कामदारहरुले अंग्रेजीबाहेकको भाषाको भिसाको अंग्रेजीमा अनुवाद गरेर पेश गर्नुपर्ने, रोजगारदाताको नाम र श्रम स्वीकृति सम्झौता पत्रमा उल्लेख भएको विवरण एउटै हुनुपर्ने लगायतका कागजात पेश गर्न भनिएको छ ।

यस्तो छ विभागको विज्ञप्तिः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *