रुपन्देही पूर्ण खोप र कपिलवस्तु पूर्ण साक्षर जिल्ला घोषणा – Nepal Press

रुपन्देही पूर्ण खोप र कपिलवस्तु पूर्ण साक्षर जिल्ला घोषणा

रुपन्देही । लुम्बिनी प्रदेशको रुपन्देही पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला र कपिलवस्तु पूर्ण साक्षर जिल्ला घोषणा भएका छन् ।

जिल्ला खोप समन्वय समिति रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको कार्यक्रममा लुम्बिनीका स्वास्थ्यमन्त्री राजु खनालले रुपन्देहीलाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरेका हुन् ।

पूर्ण खोप जिल्ला सुनिश्चित गर्ने राष्ट्रिय निर्देशिकाबमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी रुपन्देही जिल्लालाई आर्थिक वर्ष २०७९/८० मा १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्रमा पाउनुपर्ने पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा रुपन्देहीलाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समिति रुपन्देहीले जनाएको छ ।

कार्यक्रममा स्वास्थ्यमन्त्री खनालले विगतको समयमा महामारीको रुपमा आउने सरुवा रोगलाई खोपको माध्यमबाट केही छिटपुट घटनाबाहेक पूर्ण रुपमा अन्त्य गरिएको बताए ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापाईंले स्वास्थ्य सबैका लागि भन्ने नारा भए पनि जिल्ला र प्रादेशिक अस्पतालमा पहुँच नभएका व्यक्तिले स्वास्थ्य सेवा, उपचार नपाएको गुनासो आइरहेको बताए ।

उनले जिल्ला अस्पताल विकास समितिको जिम्मेवारी जिल्ला समन्वय समितिलाई दिन आग्रह गरे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले ‘पूर्ण खोप दिगोपना सुनिश्चित’ जिल्ला घोषणा गर्न सफल हुनुको श्रेय स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई जाने बताए ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डा. विनोदकुमार गिरीले खोपले रोगसँग लड्ने क्षमता प्रदान गर्ने भएकाले नियमित खोप आवश्यक रहेको बताए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले रुपन्देही जिल्ला २०७३ सालमा पूर्ण खोप जिल्ला पहिलोपटक भएको र त्यसपछिका वर्षहरुमा हरेक वर्ष पूर्ण खोप दिगोपना सुनिश्चितता दिँदै आएको बताए ।

कार्यक्रममा रुपन्देहीका पालिकाहरु, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालगायतलाई सम्मान गरिएको थियो ।

यसैगरी प्रदेशसभा सदस्य सुधाकर पाण्डेले कपिलवस्तुलाई साक्षर जिल्ला घोषणा गरेका छन् । साक्षर घोषणा भएकाहरुमध्ये देशभरमा कपिलवस्तु ६४ औं जिल्ला हो । लुम्बिनीको भने १२ औं जिल्लामा परेको छ ।

सो अवसरमा बोल्दै प्रदेशसभा सदस्य पाण्डेले लुम्बिनी प्रदेश सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताए ।

साक्षर घोषणा अभियानलाई सफल बनाउन स्थानीय तहको महत्वपूर्ण भूमिका रहने सदस्य पाण्डेको भनाइ छ ।

कपिलवस्तुका दशवटै पालिकालाई साक्षर घोषणा गरिएसँगै जिल्लालाई पनि साक्षर घोषणा गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले जिल्लाको साक्षरता दर १५ देखि ६० वर्ष उमेरका जनसङ्ख्यालाई लिइएको बताए ।

साक्षर हुन १२ सूचकमध्ये ६ अर्थात् ५० प्रतिशत पूरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर