लुम्बिनी केबलकारको ‘मर्निङ अफर’मा ५० प्रतिशत छुट – Nepal Press

लुम्बिनी केबलकारको ‘मर्निङ अफर’मा ५० प्रतिशत छुट

रुपन्देही । लुम्बिनी केबलकारले साउन र भदौ महिनाका लागि टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ ।

साउनको पहिलो बुधबारदेखि लागू हुने गरी हरेक बुधबार बिहान ९ देखि १२ बेसम्म मात्र टिकट काट्ने पर्यटकहरुका लागि हाल कायम साधारण टिकटदरमा ५० प्रतिशत छुट गर्ने निर्णय भएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए ।

हाल केबलकारको साधारण टिकटदर ७५० रुपैयाँ रहेको छ । अब नेपाली नागरिकहरुले हरेक बुधबार बिहान ९ देखि १२ बजेसम्म ३७५ रुपैयाँमा केबलकारमा यात्रा गर्न पाउनेछन् । भारतीय नागरिकले भने ३७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने कम्पनीले जनाएको छ ।

लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत जेठ १५ गतेबाट व्यवसायिक सञ्चालनमा रहेको छ । केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर हिन्दू धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ ।

मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने संख्या बढ्दो क्रममा रहेको आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए ।

टप स्टेशनमा सय वर्ष पुरानो भगवती मन्दिर, महादेव शिवको वाहन नन्दी, वरपिपल चौपारी, पोखरीलगायतका धार्मिक संरचनाहरु रहेका छन् । साउन महिनामा टप स्टेशनमा जलार्पण गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ ।

केबलकारले बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई ५० प्रतिशतका दरले बाँडफाँट गर्ने गरी प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्कवापत दिने सम्झौता गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर