इन्सद्वारा भानु जयन्ती विशेष कार्यक्रम सम्पन्न – Nepal Press

इन्सद्वारा भानु जयन्ती विशेष कार्यक्रम सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) अन्तर्गतको भाषा तथा साहित्य समितिले २१० औँ भानभक्त जयन्ती विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार भर्चुअल माध्यममार्फत भएको कार्यक्रमका प्रमुख अतिथि भाषा आयोगका अध्यक्ष प्रा. डा. गोपाल ठाकुर थिए भने विशेष अतिथि एवम् प्रमुख वक्ता नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा सहप्राध्यापक डा. धनप्रसाद सुवेदी थिए ।

कार्यक्रममा प्रमुख अतिथि ठाकुरले आदिकवि भानुभक्तले नेपाली भाषमा पुर्याएको योगदान तथा रामायणको चर्चा गरेका थिए ।

त्यस्तै, प्रमुख वक्ताका रुपमा रहेका सुवेदीले भानुभक्तले नेपाली भाषा, साहित्यमा दिएको योगदानको स्मरण गर्दै आफ्नो प्रस्तुती दिएका थिए ।

इन्स भाषा साहित्य समितिकी अध्यक्ष एवम् कार्यक्रमकी संयोजक डा. जानुका पौडेलले भानुभक्तबाट सिक्नुपर्ने विषयको चर्चा गरेकी थिइन् ।

त्यस्तै, इन्सका अन्तर्राष्ट्रिय अध्यक्ष अर्जुन घिमिरेले संस्थाले भाषा र संस्कृति उत्थानका लागि निरन्तर प्रयास गरिरहेको बताउँदै यसलाई निरन्तरता दिने बताए ।

वरिष्ठ साहित्यकार वैद्यनाथ श्रमजीवि, बाबुराम न्यौपाने, प्रमोद पाण्डेय, पत्रकार तथा साहित्यकार कल्पना भण्डारी, विक्रम याक्खा, वृन्दा पराजुली, प्रतिमा केसी, शोभा बरालगायत अन्य सहभागीहरुले रचना वाचन गरेका थिए । त्यस्तै, कार्यक्रमलाई डा. चैतन्य अधिकारीले सञ्चालन गरेका थिए ।

विश्वका करिब ८० देशमा सक्रिय समिति रहेको इन्सले नेपालको भाषा, संस्कृतिको उत्थानका लागि विभिन्न तवरले योगदान गरिरहेको छ भने सामाजिक क्षेत्रमा पनि आफ्नो उपस्थिति बलियो बनाउने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर