भंगहामा दुई दशकपछि चल्यो रेल, स्थानीय दंग (भिडिओ) – Nepal Press

भंगहामा दुई दशकपछि चल्यो रेल, स्थानीय दंग (भिडिओ)

जनकपुरधाम । दुई दशकपछि नेपालको एकमात्र ब्रोडगेज रेल सेवा महोत्तरीको भंगहासम्म पुगेको छ । फूलले सिंगारिएको रेल आएको देखेर भंगहावासी दंग परे । रेलमा सेल्फी लिनेहरुको भीड लागेको थियो ।

आजबाट भंगहा नगरपालिकामा पर्ने विजलपुरबाट भारत विहार राज्यको जयनगरसम्म रेल औपचारिक रुपमा संचालनमा आएको छ । रेलको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गरे । उनले हरियो झण्डा देखिएपछि रेल जयनगरका लागि छुट्यो ।

दुई दशकअघि भारतमा शासन गरिरहेको तत्कालीन इष्ट इण्डिया कम्पनीले काठ ओसार्न भंगहासम्म न्यारोगेज रेल सञ्चालन गरेको थियो । तर बाढीले ट्रयाक बगाएपछि रेल जनकपुरधामदेखि जयनगरसम्म सीमित भयो । पछि न्यारोगेज पनि बन्द भयो ।

त्यसपछि ब्रोडगेज रेल चलाउन भारतको सहयोगमा ट्याक र स्टेशनहरु पुनः निर्माण गरियो । भारतबाटै नेपाल सरकारले दुई थान रेल खरिद गर्यो । र, ०७८ चैत १९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेपछि जयनगर-जनकपुरधाम-कुर्था (३५किलोमिटर) रेल सेवा सञ्चालनमा आयो ।

दैनिक चार पटक जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा चल्दै आएको रेल आजबाट थप १७ किलोमिटर गरी अब ५२ किलोमिटर गुड्छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार अब बिजलपुरबाट विहान साढे सात बजे रेल जयनगरका लागि खुल्नेछ । दैनिक ६ पटक रेल गुड्ने उनको भनाई छ ।

अहिले एक सय १४ जना नेपाली र २० जना भारतीय विभिन्न पदमा कार्यरत छन् । रेल सेवा १७ किलोमिटर विस्तार भएपनि पहिलेदेखि कार्यरत जनशक्तिबाटै तत्काल काम चलाउने महाप्रबन्धक झाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर