एमाले कर्णालीले प्रदेशका २४ हजार नेता कार्यकर्तालाई पार्टी स्कुलमा जोड्ने – Nepal Press

एमाले कर्णालीले प्रदेशका २४ हजार नेता कार्यकर्तालाई पार्टी स्कुलमा जोड्ने

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका २४ हजार १ सय नेताकार्यकर्ताहरुलाई पार्टीको स्कुलमा जोड्ने भएको छ ।

प्रदेशबाट प्रतिनिधित्व गर्ने २८ जना केन्द्रीय सदस्य, १३५ प्रदेश कमिटी सदस्य, ५५ जना हरेक जिल्ला कमिटीका पदाधिकारी र सचिवालय सदस्य गरेर ५५ जना जनालाई पार्टी स्कुलमा जाेड्ने भएको हाे ।

यस्तै, प्रत्येक पालिका स्तरका ७५ देखि ८० सदस्य, वडा कमिटीमा आबद्ध सदस्य र २३ वटै जनवर्गीय संगठनमा आबद्ध पदाधिकारी र सदस्यहरू गरेर २४ हजार नेता कार्यकर्तालाई प्रदेश पार्टी स्कुल विभागमा जोड्ने योजना एमालेको छ ।

विभागले सुर्खेतमा आयोजना गरेको पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिमका क्रममा कार्य योजना पारित गर्दै एमाले कर्णालीले प्रदेशका दशवटै जिल्लाका पार्टीका नेता, जनप्रतिनिधि र पार्टी सदस्यहरूका लागि प्रशिक्षण प्रदान गर्ने गरी कार्य योजना निर्माण गरेको केन्द्रीय सदस्य तथा पार्टी स्कुल विभाग कर्णालीका केन्द्रीय समन्वयकर्ता विष्णु रिजालले जानकारी दिए ।

उनले भने, ‘प्रदेशमा पार्टी स्कुलको कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीको पाँचौँ बैठकपछि विशेष कार्य योजना निर्माण गरी कार्यान्वयनका लागि अन्तर पार्टी निर्देशन–७ अनुसार पार्टी स्कुललाई अघि बढाउने नीति अनुसार कर्णालीको पार्टी स्कुल विभागले एक वर्ष भित्रमा आधारभूत सिद्धान्त र बिचारका बारेमा प्रशिक्षित गर्न योजना पारित गरेको हो ।’

पार्टी स्कुलको उद्देश्य अनुरूप पार्टीका सबै सदस्यहरूलाई कुनै न कुनै रूपमा पार्टी स्कुलमा जोड्ने प्राथमिक, माध्यमिक र उच्च तह गरी तीन तहमा विभाजन गरेको उनले बताए ।

प्रदेश स्तरमा माध्यमिक र जिल्ला तथा पालिका तहमा प्राथमिक तहको पार्टी स्कुल सञ्चालन गरी पहिलो चरणमा कम्तीमा कमिटीमा आबद्ध सबै कमरेडहरूलाई पार्टी कक्षा प्रदान गर्ने गरी प्रदेश स्कुलले वार्षिक कार्य योजना पारित गरेको रिजालले बताए ।

पार्टीका सैद्धान्तिक, वैचारिक र राजनीतिक धारणाहरूमा एकरूप बुझाइ कायम गर्न कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको छुट्टै कार्यशालाको आयोजना एमाले कर्णाली ले गर्ने भएको छ ।

एमालेले हरेक कमिटीमा आबद्ध युवाहरूलाई सैद्धान्तिक–वैचारिक रूपमा तयार गर्न विशेष प्रशिक्षणहरू सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रदेश स्कुल विभागले आगामी भदौ महिना भित्र एमाले कर्णाली प्रदेशको आधारभूत पुस्तीका प्रकाशन गर्ने, कर्णाली प्रदेशको आधारभूत पुस्तीका प्रकाशन भदौ भित्रमा प्रकाशन गर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर