इन्टर मियामीसँग मेस्सी सन् २०२५ को अन्त्यसम्म रहने, उत्साही छन् बेकह्याम – Nepal Press

इन्टर मियामीसँग मेस्सी सन् २०२५ को अन्त्यसम्म रहने, उत्साही छन् बेकह्याम

काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेस्सी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीसँग कम्तीमा सन् २०२५ को अन्त्यसम्म रहने भएका छन् ।

मेस्सी र इन्टर मियामीबीच उक्त अवधिका लागि सम्झौता भएको हो । फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेपछि मेस्सीले एमएलएस क्लबमा आबद्ध हुने निर्णय गरेका थिए ।

७ पटकका बेलोन डीअर विजेता ३६ वर्षीय मेस्सीले पीएसजीका लागि दुई सिजन खेलेपनि फ्रेन्च क्लबले युरोपियन च्याम्पियन्स लिग उपाधि जित्न सकेको थिएन । दुवै सिजन घरेलु लिग विजेता बनेको पीएसजीले हालसम्म युरोपियन च्याम्पियन्स लिग हात पार्न सकेको छैन । मेस्सीले गत सिजनमा १६ गोल र १६ असिस्टसहित पीएसजीका लागि ७५ खेलमा ३२ गोल गरेका थिए ।

‘मेरो करियरको आगामी पाइला इन्टर मियामी र अमेरिकामा सुरु गर्न लाग्दा म निकै उत्साही छु’, गत वर्ष मात्र विश्व विजेता बनेका अर्जेन्टिनी कप्तानले भनेका छन् । यता इन्टर मियामीका मालिक डेभिड बेकह्यामले मेस्सीलाई आबद्ध गरेर सपना पूरा भएको बताएका छन् । ‘ सपना सत्य भएजस्तै भएको छ’, इङ्ल्यान्डका पूर्व स्टार खेलाडीले भनेका छन् ।

मेस्सीले हालसम्म युरोपबाहिर व्यवसायिक फुटबल खेलेका छैनन् । उनी स्पेनिस क्लब बार्सिलोनामा १७ वर्ष प्रिमियर लिग खेलेर पीएसजीमा स्थानान्तरण भएका थिए । इन्टर मियामीले आगामी जुलाई २१ तारिखमा लिग कपको पहिलो खेलमा क्रुज अजुलसँग खेल्दै छ । उक्त खेलका लागि मेस्सी उपलब्ध हुनेछन् ।

‘१० वर्षअघि जब मैले मियामीमा नयाँ टीम बनाउने निर्णय गरेको थिएँ, मैले यो शहरमा महान् खेलाडीहरुलाई ल्याउने सपना देखेको थिएँ’, बेकह्यामले भनेका छन्, ‘ आज सपना सत्य भएको छ। मेस्सीजत्तिको क्षमता भएको खेलाडीलाई भित्र्याउन पाउँदा मलाई योभन्दा बढी गर्व लाग्ने छैन । मेरो राम्रो साथी, अदभुत व्यक्ति र उसको परिवारलाई हाम्रो इन्टर मियामी कम्युनिटीमा लाई स्वागत गर्न पाउँदा निकै खुसी लागेको छ ।’

मेस्सी कुनै समय बार्सिलोनामा रहँदा बेकह्याम उनको प्रतिद्वन्द्वी भएर रियल म्याड्रिडबाट मैदान उत्रन्थे । बेकह्यामले पनि सन् २०१३ मा पीएसजीबाट खेलेका थिए । त्यसबीचमा उनी सन् २००७ देखि २०१२ मा एमएलएस क्लब एलए ग्यालेक्सीमा आबद्ध थिए । करिअरको अन्तिम समयतिर आइपुगेका मेस्सीले व्यवसायिक फुटबल अमेरिकामा टुंग्याउँछन् की अन्यत्र रोज्नेछन् भन्नेबारे केही खुलाएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर