१९५ देशका राष्ट्रिय गान एउटै पुस्तकमा – Nepal Press

१९५ देशका राष्ट्रिय गान एउटै पुस्तकमा

काठमाडौं । ‘विश्वका राष्ट्रिय गान’ नामक पुस्तक राजधानीमा लोकार्पण भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले ललितपुर, कुपण्डोलस्थित होटल हिमालयमा आयोजित विशेष समारोहमा शनिबार पुस्तकको लोकार्पण गरे । पुस्तक नेपाल वाङ्मय फाउन्डेसनले प्रकाशन गरेको हो । विश्वका १९५ देशका राष्ट्रिय गानहरू नेपाली भाषामा अनुवाद गरी पुस्तकमा समेटिएका छन् ।

लोकार्पण समारोहमा बोल्दै परराष्ट्रमन्त्री साउँदले नेपाली भाषामा अनुवाद गरेर पहिलो पटक आएको ‘विश्वका राष्ट्रिय गान’ नामक पुस्तकले पाठकलाई विश्वका १९५ ओटा राष्ट्रका बारेमा समेत बुझ्न सहयोग पुर्‍याउने विचार व्यक्त गरे । उनले राष्ट्र गानबाट सम्बन्धित राष्ट्रको निर्माण, इतिहास, संस्कृति र सभ्यताका बारेमा समेत जानकारी पाउन सकिने बताए ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति वैरागी काइँलाले नेपाल वाङ्मय फाउन्डेसनले नेपाली भाषामा अनुवाद गरेर १९५ ओटा राष्ट्रका राष्ट्रिय गानको पुस्तक प्रकाशन हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

कार्यक्रममा परराष्ट्रविद् मधुरमण आचार्यले ‘विश्वका राष्ट्र गान’ पुस्तकका बारेमा समीक्षात्मक मन्तव्य व्यक्त गरेका थिए । उनले १९५ ओटा राष्ट्रका राष्ट्रिय गानलाई एउटै कृतिमा समेटेर ग्रन्थ निकाल्नु उल्लेखनीय कार्य भएको विचार व्यक्त गरे।

उनले राष्ट्र भनेको भूगोल मात्रै नभएर नागरिक, सभ्यता र संस्कृति प्रमुख भएको उल्लेख गर्दै राष्ट्रिय गान सम्बन्धित राष्ट्रको विशिष्ट पहिचान भएको विचार व्यक्त गरे ।

कार्यक्रममा फाउन्डेसनका विशिष्ट सल्लाहकार, कवि, गीतकार तथा पूर्व अर्थमन्त्री एसपी कोइरालाले ‘विश्वका राष्ट्रिय गान’ पुस्तक शब्द, सङ्गीत र स्वरको त्रिवेणीका साथै देश, भूगोल, भाषा र भावनाको संगम भएको बताए ।

फाउन्डेसनका प्रमुख संरक्षक, शिक्षाविद् तथा पूर्व राज्यमन्त्री उमेश श्रेष्ठले विश्वका १९५ ओटा राष्ट्रका राष्ट्रिय गानले ती राष्ट्रको गाथा झल्काउने धारणा राखे ।

फाउन्डेसनका अध्यक्ष तथा पुस्तकका सम्पादक डा. विप्लव ढकालले पुस्तक प्रकाशनको औचित्यमाथि प्रकाश पार्दै पुस्तकमा संयुक्त राष्ट्र संघका १९५ सदस्य राष्ट्रहरू तथा दुई पर्यवेक्षक राष्ट्रका राष्ट्रिय गानहरू पुस्तकमा समेटिएको बताए । उनले पुस्तक संसारभरिका देशहरूको हृदय जोड्ने पुलको प्रतीकका रूपमा रहने विश्वास व्यक्त गरे ।

पुस्तकभित्र राष्ट्रपति रामचन्द्र पौडेल, नेपालस्थित संयुक्त राष्ट्र संघका महामहिम आवासीय संयोजक हाना सिंगर–हाम्दी तथा फाउन्डेसनका विशिष्ट सल्लाहकार शङ्करप्रसाद कोइरालाका मन्तव्य समेटिएका छन् ।

यस पुस्तकका प्रकाशन सौजन्यकर्ता उमेश श्रेष्ठ तथा तेन्जी शेर्पा रहेका छन् । पुस्तकको मूल अनुवादक प्रदीप निरौला र व्यवस्थापक डा. पद्मा अर्याल रहेका छन् ।

उक्त पुस्तकको प्रकाशन तथा लोकार्पणसँगै नेपाल वाङ्मय फाउन्डेसनको औपचारिक यात्रा आरम्भ भएको जानकारी गराइएको थियो ।

कार्यक्रममा नेपालका राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई फाउन्डेसनका तर्फबाट सम्मान अर्पण गरिएको थियो भने अनुवादक प्रदीप निरौला, प्रकाशन सौजन्यकर्ता उमेश श्रेष्ठ र तेन्जी शेर्पा कदरपत्र सम्मानपत्र अर्पण गरिएको थियो ।

कार्यक्रमको सहजीकरण कवि तथा गीतकार मुकुन्दराज शर्माले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर