लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेश, एक विधेयक फिर्ता – Nepal Press

लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेश, एक विधेयक फिर्ता

रुपन्देही । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औँ बैठकमा दुई विधेयक पेश भएका छन् भने एक विधेयक फिर्ता भएको छ ।

शनिवार दिउँसो बसेको बैठकमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री सन्तोष पाण्डेयले प्रदेशसभाका पेस गरेका थिए ।

स्वास्थ्य मन्त्री राजु खनालले पेश गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलका लागि पेश गरेका थिए । त्यसै गरी एक विधेयक भने फिर्ता भएको छ ।

लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको थियो ।

प्रदेशसभामा छलफल नभई रोकिएको उक्त विधेयक शनिवारको प्रदेशसभा बैठकबाट मुख्यमन्त्रीको तर्फबाट आन्तरिक मामिला मन्त्री सन्तोष पाण्डेयले फिर्ता गर्ने प्रस्ताव पेश गरेका थिए ।

सभामुख तुलाराम घर्तीले सभामा पेश भएको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलमा लगेर केही सांसदहरूलाई बोल्न दिएर अगाडि बढाएका थिए ।

यो विधेयकमा सांसदहरू लोकीकुमारी बिक, भगवती अधिकारी, विष्णु पन्थी, राजकुमार चौधरी, निमा गिरीले छलफलमा आफ्नो धारणा राख्दै विधेयकमा समावेश गरिनुपर्ने विषयहरू टिपोट गरेका छन् ।

उनीहरूले निजी क्षेत्रलाई कानुन बनाएर स्वास्थ्य क्षेत्रमा स्थान दिनुपर्ने र उनीहरूले दिने सेवा सुविधाका विषयमा बलियो कानुन बनाउनुपर्ने बताए ।

प्रदेशमा अहिले रहेका १६ नर्सिङ कलेज बन्द भएको र भारतीय सीमा क्षेत्रमा यसको पढाई भइरहेकाले विशेष सचेत रहनुपर्ने बताएका थिए ।

सभामुख घर्तीले दोस्रो अधिवेशनको २० औँ बैठक साउन ८ गते बस्ने गरी १९ औँ बैठकको समापन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर