रमेश सायनको उपन्यास ‘अन्तर’ सार्वजनिक – Nepal Press

रमेश सायनको उपन्यास ‘अन्तर’ सार्वजनिक

काठमाडौं । लेखक रमेश सायनको पहिलो उपन्यास ‘अन्तर’ सार्वजनिक भएको छ। राजधानीको मण्डला थिएटरमा आयोजित कार्यक्रममा ब्लगर तथा समलिङ्गी लेक्स लिम्बूसहित लेखक रमेश सायन र सञ्चारकर्मी रूपेश श्रेष्ठले पुस्तकको लोकार्पण गरे।

पुस्तकबारे रुपेश श्रेष्ठसँगको अन्तरसंवादमा लेक्सले आफ्नो भोगाइ र उपन्यासको पात्र ‘शब्द’ को भोगाइ समानान्तर भएको र लैंगिकतालाई अब फरक दृष्टिकोणले हेर्न नहुने बताए।

उनले भने, ‘मैले २५ वर्ष पुग्दा मात्रै म समलिङ्गी हुँ, म फरक हुँ भनेर परिवारका सदस्यलाई भन्न सकेको थिएँ। तर अब समय र समाजको चेतना फरक भैसक्यो। त्यसैले अब जन्मको प्राकृतिकतालाई नेपाली समाजले स्वीकार्न सक्नुपर्छ।’

नेपाली समाजमा विद्यमान लैंगिक विभेद र त्यसमा पनि समलैंगिकता आजसम्म पनि सर्वस्वीकार्य नरहेको अवस्थामा यसबारे खुलेर बहस हुनुपर्ने र राज्यको नीति निर्माण तहले यो विषयलाई विषयान्तर गर्न नहुने लेक्सले बताए।

फरक विषयमा उपन्यास लेख्न निकै चुनौती भए पनि नेपाली समाजमा आजसम्म नलेखिएको विषयमा उपन्यास लेख्न पाएकोमा सायनले खुशी व्यक्त गरे।

उनले भने, ‘यो विषयमा मैले लेख्न सक्नु नै यो समाजको विषयसँगको मेरो गहिरो साक्षात्कार हो !’

अनुप न्यौपानेले उपन्यासको एक अंश नाट्यरुपान्तरण गरी प्रस्तुत गरेको दृश्यबाट सुरू भएको कार्यक्रममा उपन्यासका पात्रहरूका संवाद ध्वनिमा प्रस्तुत गरिएको थियो।

बुकहिलले प्रकाशन गरेको २५२ पृष्ठको उपन्यासको मूल्य ५५५ रुपैयाँ रहेको छ।

सायनका यसअघि ‘भागेर भूगोलभरि’ (कविता संग्रह) र पद्मश्री साहित्य पुरस्कार विजेता कृति ‘छुटेका अनुहार’ (निबन्ध) प्रकाशित छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर