सिद्वबाबा धामको आम्दानीमा ब्रम्हलुट : पुजारी र कर्मचारी बर्खास्त, स्थानीय पुगे अख्तियारमा – Nepal Press

सिद्वबाबा धामको आम्दानीमा ब्रम्हलुट : पुजारी र कर्मचारी बर्खास्त, स्थानीय पुगे अख्तियारमा

रूपन्देही । रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको सिद्वबाबा धामका सञ्चालक र कर्मचारीले मनोमानी गरी आम्दानी लुकाउने गरेको तथ्य बाहिर आएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ३ चिडियाखोला नजिक रहेको सिद्धबाबामा भएको ब्रम्हलुटको यस्तो घटना सार्वजनिक भएको छ ।

तल्लो सिद्धबाबाका नामले प्रसिद्ध मन्दिरमा आउने भक्तजनहरूले दिएको दानमा खुलेआम ब्रम्हलुट भएको प्रमाण सार्वजनिक भएपछि यति बेला बुटवल र त्यस आसपासका सामाजिक सञ्जाल आलोचनाले भरिएका छन् ।

मन्दिरमा सेवा लिएबापत भक्तहरूले बुझाएको रकमको रसिदको अर्धकट्टीमा आधा रकम घटाएर मात्र मन्दिरमा दाखिला हुने गरेको प्रमाण सार्वजनिक भएपछि मन्दिर व्यवस्थापन समितिमा खैलाबैला मच्चिएको छ ।

चरम विवादका कारण म्याद सकिएर पनि नयाँ व्यवस्थापन बन्न नसकेको मन्दिरमा लामो समयबाट अध्यक्ष चलाउँदै आएका कृष्णप्रसाद तिमिल्सिनाकै मिलेमतोमा वर्षौँदेखि दान रकममा हिनामिना हुने गरेको सञ्जालकर्ताहरूले आरोप लगाएका छन् ।

भेटिएको नगदी रसिदमा दानकर्तालाई दिइएको रसिदको रकमभन्दा आधा घटाएर अर्धकट्टीमा लेखिएको पाइएको हो ।

अध्यक्ष तिमिल्सिनाले कर्मचारीबाट यस्तो गलत काम भएको भेटिएको पुष्टि भएपछि मन्दिरका पुजारी भुवन ज्ञवाली, उनका छोरा विकास ज्ञवाली र कर्मचारी तारा जीसीलाई कारबाही गरिएको बताए ।

‘हामीले गल्ती भेटिएपछि उनीहरूलाई कारबाही गरिसकेको छौँ, रसिदको जिम्मेवारी उनीहरूलाई नै हुन्छ, यो घटनाले अब सचेत गरायो’, उनले भने ।

गत मंसिरमा म्याद सकिएको व्यवस्थापन समितिको निर्वाचनका लागि सहमति जुट्न नसकेपछि तिमिल्सिनाकै समितिलाई काम चलाऊ कार्यसंचालनको जिम्मेवारी दिइएको समितिका एक पूर्व पदाधिकारीले बताए ।

नयाँ निर्वाचन हुने अवस्था नदेखिएपछि यही हो मौका भनेर अध्यक्षको मिलेमतोमा कर्मचारीले गलत काम गर्ने गरेको मन्दिरमा पूजा गर्न आएका एक भक्तजनले बताए । तर अध्यक्ष तिमिल्सिनाले यस्तो आरोप लगाउने समितिले निकालेका व्यक्ति नै भएको दाबी गरे।

बुटवल ३ का वडाध्यक्ष तथा धामका सल्लाहकार विष्णुप्रसाद ढकालले कर्मचारीको मिलेमतोमा भएको गलत कामबारे सचेत गराएको र सोही अनुसार समितिले कारबाही गरेको जानकारी दिएको र अब छिटो नयाँ नेतृत्वका लागि प्रक्रिया अघि बढाएको बताए ।

मन्दिरको आम्दानी अपचलन भएपछि स्थानीयले अहिले अख्तियार र प्रशासनमा अहिलेसम्मकै आम्दानी विवरण खोजबिन गर्न माग गर्दै उजुरी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर