राना थारु समुदायका महिलाले तीज पर्व भदौ २ मा मनाउने – Nepal Press

राना थारु समुदायका महिलाले तीज पर्व भदौ २ मा मनाउने

कैलाली । कञ्चनपुरका मुल निवासी राना थारु समुदायका महिलाले श्रावण शुक्लपक्षको तृतीया तिथिमा मनाउने तीज पर्व आगामी भदौ २ गते मनाउने भएका छन् ।

श्रावण महिनाको शुक्लपक्षको तृतीया तिथिमा मलमास परेपछि तीज पर्व भदौ २ गते मनाउने निर्णय गरिएको नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले बताए । ‘राना थारु समुदायको तिथि, मितिअनुसार यो वर्ष लौध (मलामास) पर्नाले तीज पर्व एक महिनापछि मनाउने निर्णय गरिएको छ’, उनले भने “राना थारु समुदायका अगुवा भलमन्सा, पध्नालगायत अन्य सरकोरावालालाई जानकारी गराइएको छ ।”

तीज पर्व राना थारु समुदायका महिलाको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । दिदीबहिनी र दाजुभाइ भतिजाको आत्मीयता बढाउने महत्वपूर्ण पर्वका रुपमा यसलाई लिईने गरिन्छ । परम्परागतकालमा राना समुदायमा बिरामी फैलिएपछि घरका कमाउने व्यक्तिको मृत्यु भई गरिबी बढेपछि दिदीबहिनीले भगवान् श्रीकृष्णको पूजाअर्चना गरेपश्चात् समाजबाट दुःख, पीडा र गरिबी हटेकाले त्यसै दिनदेखि यो पर्व मनाउँदै आएको किम्वतन्ती रहेको छ ।

सांस्कृतिक सामाजिक र भ्रातृत्व प्रेमले ओतप्रोत तीज पर्वमा दिदीबहिनीले दाजुभाइ भतिजाको लामो आयुको कामना गर्दै पानीसमेत नखाई व्रत बस्ने गर्दछन् । दाजु भाइले तीजपर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिई बोलाएर ल्याउनुपर्ने चलन रहेको छ । तीज पर्वको आगमनसँगै सार्वजनिक स्थान, बगैँचा र सामूहिकरुपमा भेला हुने ठाउमा दाजुभाइले दिदीबहिनीका लागि डोला (पिङ) राख्ने चलन रहेको छ ।

उनका अनुसार परम्परागत आभूषण र पहिरनमा सजिएका महिलाले डोलामा चढेर ठूलो स्वरमा सावनका माङ्गलिक गीत गाउने गर्दछन् । महिलाको एक टोलीले गीत गाउँदै डोला मच्चाउने गर्दछन् । डोलामा चढेकाले स्वरमा स्वर मिलाउँदै सावनका गीतहरू गाउने गर्दछन् । महिलालाई उत्साह थप्नका लागि पुरुषले ठूलो स्वरमा गीत गाउने गर्दछन् । यसबाट दिदीबहिनी र दाजुभाइ भतिजाबीच आत्मीयता बढ्ने भएकाले यसलाई बढी महत्व दिइने गरिएको छ ।

दिदीबहिनीले पानीसमेत नपिएर निरहार बसी दाजुभाइ भतिजाको दीर्घायुको कामना गरी तीज पर्व मनाउने गरेका छन । निरहार बसेका दिदी बहिनीले प्रसादका रुपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् ।

गडरौँदा जातको घाँसमा विवाहिताले सात गाँठा र अविवाहितले पाँच गाँठा पारी चाँदीको गहनाले काटेर नदीको बीच भागमा पुगेर बत्ति संगै बिर्षजन गर्ने चलन रहेको राना थारु संस्कृतिका जानकार नवलसिंह रानाले बताए । बिर्सजन गर्ने बेला दिदीबहिनीले दाजुभाइलाई धन सम्पत्ति, उन्नति र नदीको धारजस्तै दाजुभाइको आयु बढोस् भनी वरदान माग्ने गर्दछन् ।

बिर्सजन गर्न जाने बेला गाँउका युवाले दिदी बहिनीलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने प्रयत्न गरी हस्यौली ठट्र्यौली र मनोरञ्जन लिने गर्दछन् । जसलाई राना थारु भाषामा झुडकी छिराउने भन्ने गरिन्छ । तीजमा माइतीलाई भेट्न नपाएका दिदीबहिनी यसै अवसरको सदुपयोग गर्दै भेटघाट गर्न आउने भएकाले यसले वर्षभरिको सुख दुःख साटासाट गर्ने अवसरका रुपमा लिने गर्दछन ।

तीजका अवसरमा घरघरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाई आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *