डा. पुकारचन्द्र श्रेष्ठको अभियानः मृगौला डायलाइसिस होइन प्रत्यारोपण, अंगदानलाई प्राथमिकता – Nepal Press

डा. पुकारचन्द्र श्रेष्ठको अभियानः मृगौला डायलाइसिस होइन प्रत्यारोपण, अंगदानलाई प्राथमिकता

रुपन्देही । मृगौलामा समस्या आएका बिरामीलाई डायलाइसिसको साटो प्रत्यारोपण गरे राज्यको लाखौं रकम बचाउन सकिने र मस्तिकघातपछि मृत्यु हुनेबाट अंगदानलाई अभियानका रुपमा संचालन गरेका छन् डा. पुकारचन्द्र श्रेष्ठले ।

अहिले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक रहेका उनै श्रेष्ठको नेतृत्वमा वीर अस्पतालमा मिर्गौलाको र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा शुरु भएपछि अंग प्रत्यारोपणका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य भएको थियो ।

अध्ययन सकेर सन् २००८ मा बेलायतबाट श्रेष्ठ फर्किएपछि स्वदेशमै अंग प्रत्यारोपण सेवा शुरू भएको हो । एमबीबीएस र एमएस तहको अध्ययनपछि बेलायत गएका उनले रोयल कलेज अफ इडिनबराबाट सन् २००३ मा एमआरसीएस तहको अध्ययन पूरा गरेका थिए ।

उनले सन् २००२ देखि २००८ सम्म बेलायत सरकारको न्यासनल हेल्थ सर्भिस अन्तर्गत रहेर काम गरेका थिए । त्यसै क्रममा उनले बेलायतको फ्रि म्यान अस्पतालमा सिनियर रजिष्ट्रारको रूपमा काम गरेका थिए ।

मृर्गौला, कलेजो र प्याङक्रियाज प्रत्यारोपणसम्बन्धी अध्ययन गरेर आएका उनले अन्य चिकित्सकहरूको समन्वयमा सन् २००८ को डिसेम्बरमा वीर अस्पतालमा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरेको स्मरण गर्छन् ।

विगतमा नजिकका सीमित नातेदारले मात्रै अंगदान गर्न सक्ने कानून रहेकाले त्यो प्रावधानले प्राविधिक रूपले अंग नमिल्नाले प्रत्यारोपणमा सहजता थिएन । ८ वर्ष निरन्तर खटेर त्यस्तो कानून परिमार्जन गरेर ५१ प्रकारका जुनसुकै नातेदारले पनि अंगदान गर्न सक्ने व्यवस्था राख्न पहल गरेर अहिलेको अवस्थामा आएको डा. श्रेष्ठको भनाइ छ ।

बेलायतमा अंग प्रत्यारोपणको काममा अनुभवी भएका उनले त्यहाँ राम्रो जागिर खाइरहे पनि देशमै यो सेवा संचालन गर्ने उद्देश्यले आफू फर्केको श्रेष्ठले बताए । यहाँ आएपछि उनले प्रतिष्ठित व्यक्तित्वहरू समेटेर गैरनाफामूलक संस्था आरोग्य प्रतिष्ठान स्थापना गरे । प्रतिष्ठान अन्तर्गत देशमै पहिलो पटक अंग प्रत्यारोपणका लागि अत्यावश्यक एचएलए ल्याब स्थापना भयो । साथै, उनले डाइलसिस सेवा तथा अंगदान र प्रत्यारोपणबारे जनचेतना जगाउने कामलाई पनि निरन्तर लागिरहेका छन् ।

‘सरकारले मृगौलाका बिरामीहरुका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ तर त्यसको लागि वार्षिक साढे दुई लाख रकम खर्च भइरहेको छ तर नेपालमै मृगौला प्रत्यारोपणका लागि ५ लाखभन्दा बढी लाग्दैन, दुई वर्ष व्यक्तिलाई डायलाइसिस गराउने रकमले त प्रत्यारोपण नै हुन्छ, अनि त्यसपछि उ पुरानै अवस्थामा फर्कन्छ’ डा. श्रेष्ठले आफ्नो अभियानका बारेमा भन्छन्–‘सरकारले सहज बाटो नरोजेर बिरामीलाई जोखिमको बाटो र महंगो उपचार पद्दति चलाइएको छ, त्यो तत्कालीन समयको बाध्यता थियो, अब बदल्नुपर्दछ ।’ नेपालीमा असावधानी, खानपान तथा दैनिक गतिविधिमा गरिने हेलचेक्रयाइँले मृगौला तथा अन्य दीर्घ रोगीको संख्या बढ्दै गएको छ ।

श्रेष्ठले आफूले विभिन्न बिरामीमा गरेको परीक्षणबाट मृगौला रोगीहरुले डायलोसिस गरेकाको भन्दा प्रत्यारोपण गरेकाहरुको जीवन धेरै सहज भएको पाएको र प्रत्यारोपण गरेकाहरु पुरानै अवस्थामा पुगेको पाएको बताए । बिरामीलाई डायलाइसिस नगरी प्रत्यारोपण गर्नसके मानिसले नयाँ र सुखको जीवन प्राप्त गर्छ भने सरकारको खर्च धेरै बचत हुन्छ ।

‘प्रत्यारोपणको बिकल्प डायलोसिस होइन,डायलोसिसमा हुने खर्च वा उपचार प्रविधिहरुमा हुने खर्च रोक्नसके त्यो लगानी अरु सेवा बिस्तारमा लगाउन सकिन्छ । प्रतिव्यक्ति वर्षमा डायलाइसिस गर्न २ लाख ५२ हजार खर्च हुन्छ । दुई वर्षको खर्च रकमबाट मृगौला प्रत्यारोपण गर्न सकिन्छ, प्रत्यारोपणमा ५ लाख रुपैयाँ खर्च हुन्छ जुन सरकारले उपलब्ध गराउँदै आएको छ’– उनले भने ।

तर यस्तो अवस्थामा पनि नेपालमा मृगौला प्रत्यारोपणको संख्या बढ्न सकेको छैन । यसका लागि मृगौला दान गर्नेहरुको संख्या बढ्न नसक्दा पनि समस्या छ । ‘यसको समाधानका लागि मस्तिष्क मृत्युपछि गर्न सकिने अंगदानबाट बढाउन सकिन्छ, अहिले यही अभियानमा छौं, मृत्युपश्चात नष्ट हुने अंगदान गरी अरुलाई जीवनदान गर्न सकिन्छ भन्नेबारे सचेतनाको अभाव छ’– डा. श्रेष्ठले बताउँछन् ।

नेपालमा बिस्तारै प्रत्यारोपण गर्नेको संख्या बढ्दै जानुका साथै सचेत नागरिकहरुले अंगदान गर्ने बानीको विकास हुँदै गएकाले खुसी लागकाे उनले बताए । कुनैबेला नेपालमा मृगौला प्रत्यारोपणको कानुनी मान्यता नभएको तथा त्यस सम्बन्धी ज्ञान र प्रविधिको अभावबारे सम्झिँदै उनले अहिले त्यो अवस्थाबाट निकै ठूलो फड्को मार्न सफल भएको बताए ।

विगत स्मरण गर्दै उनले भने–‘डब्लुएचओले जब २००८ मा एउटा प्रतिवेदन सार्वजनिक गर्यो । नेपालमा मृगौला फेल भएका ९० प्रतिशत मानिस ३ महिनामा मर्छन् भनेर, त्यो प्रतिवेदनले मलाई निक्कै गम्भीर बनायो ।’ बेलायत अध्ययनपछि नेपाल फर्किएका डा. श्रेष्ठ मृगौला प्रत्यारोपण सम्बन्धी सचेतना र कानूनी जटिलताहरुको अन्त्यका लागि लागिरहे । नेपाल सरकारले २०७२ सालमा प्रत्यारोपणलाई कानूनी मान्यता दियो । २०७३ सालदेखि कार्यविधि बनाएर लागू गर्यो । यसपछिको समयमा अंग प्रत्यारोपणको संख्यामा बिस्तारै वृद्धि हुँदै गएको छ । नेपालमा प्रत्यारोपण सफलताको प्रतिशत ९९ प्रतिशत रहेको डा. श्रेष्ठले दाबी गर्छन् ।

अहिले प्रत्येक वर्ष मृगौला प्रत्यारोपणको माग ३ हजार जनाको आउने गर्छ । जबकी केन्द्रमा २ सय जनाको प्रत्यारोपण क्षमता छ । ‘अब सबै प्रदेशमा प्रत्यारोपण सेवा चलाउन जरुरी छ ।’–डा. श्रेष्ठले भने–‘अहिले पोखरा, सुर्खेत, धनगढी, हेटौडा, बीरगंजमा सुरु गर्ने तयारी गरिरहेका छौं ।’ अब बुटवलमा पनि शुरुवात जरुरी रहेको उनले बताए ।

प्रत्यारोपणको तथ्यांक हेर्दा सबैभन्दा धेरै बागमती प्रदेश र दोस्रो नम्बरमा कोशी प्रदेशमा रहेको उनले बताए । नेपालमा भएकामध्ये मृगौला प्रत्यारोपण गर्दा ५० जोडीहरु बीच म्याचिङ एक्सचेन्ज भएको उनले बताए ।

उनको अभियानमा साथ दिएकी नेफ्रोलोजिष्ट डा. कल्पना कुमारी श्रेष्ठका अनुसार नेपालमा २०७३ सालमा अंग प्रत्यारोपण सम्बन्धि ऐन तथा कार्यविधि बनेपछि मृत्यु पश्चात अंगदान गरेका ५ जनाबाट हालसम्म १० वटा मृगौला र ३ वटा कलेजो प्रत्यारोपण भएको छ । मानिसले आफ्नो मृत्युपश्चात मृगौलासहित ८ वटा अङ्ग दान गर्न सक्छन् ।

नेपालमा प्रत्येक वर्ष १ हजार जनाको मस्तिष्क मृत्यु हुने तथ्याङ्कले देखाएको छ । जसबाट ८ हजार अंगहरु प्राप्त गर्न सकिने सम्भावना छ । तर निक्कै थोरैले मात्र यसको प्रत्यारोपणमा उपयोग भएको छ । एउटा मस्तिष्क मृत्यु भएकोबाट आठ जनाले जीवन दान पाउन सक्छन् । तर हालसम्म नेपालमा २ हजार २ सय जनाले मात्र मृत्युपछि अंगदान गर्ने घोषणा गरेका छन् ।

नेपालमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विदेशीको सहयोगमा कलेजो प्रत्यारोपण समेत गर्दै आएको छ । जुन बढीमा १५ लाख खर्च हुने गर्छ । यसैगरी नेपालमा अंगदान गर्नेहरुमा ८० प्रतिशत महिला रहेका छन् भने लिनेहरुमा ८० प्रतिशत पुरुष छन् ।

विगतमा अंगदानका लागि परिवारभित्रको सदस्यबाट मात्रै लिन पाउने व्यवस्था रहेको थियो भने नयाँ बनेको कानुनल त्यसको दायरा बढाएको छ । आफन्तहरुको ५१ जना नाताबाट प्रत्यारोपण गर्न सकिने प्रावधान बनेको छ ।

डा. कल्पना श्रेष्ठले अंगदान गरेको ब्यक्तिको परिवारलाई बुझाउन धेरै कठिनाई देखिएको बताइन् । अंगदान गर्न तयार हुनेको विषयमा सरकारले प्राथमिकता नदिएका कारण पनि यो समस्या आएको उनी बताउँछिन् ।

जबकि २ वर्षसम्म अंग प्रत्यारोपण गरेको व्यक्तिको परीक्षण निःशुल्क गरिएको छ भने मृत्युपश्चात अंगदानको घोषणा गरेकाहरुका लागि कुनै स्वास्थ्य सुविधा दिइएको छैन । यसले पनि धेरैलाई आकर्षण गर्न सकेको छैन ।

के हो मस्किष्क मृत्यु ?

ब्रेनस्टेम जीवनलाई सुचारु राख्न चाहिने मस्तिष्कको एक महत्वपूर्ण भाग हो । मस्तिष्क मृत्यु भएको व्यक्ति स्वयं सास लिन सक्दैनन् र सासको लागि भेन्टिलेटरमा निर्भर रहन्छन् । भेन्टिलेटरको सहायताले सास लिए पनि उसको नाडी, रक्तचाप एवं जीवनका लक्षण महशुस गर्न सकिन्छ । मस्तिष्क मृत्यु भएको व्यक्तिलाई चिकित्सा विज्ञानले पूर्ण रुपमा मृत घोषित गर्दछ । यस्तो अवस्थामा मृत व्यक्तिको नातेदारको सहमतिमा अंग निकाल्ने काम हुन्छ ।

कतिपय व्यक्तिलाई कोमा र मस्तिष्क मृत्युको अन्तरमा शंका हुनसक्छ । कोमामा रहेको विरामी कुनै पनि बेला ठीक हुने सम्भावना रहन्छ । कोमाको बिरामीलाई मस्तिष्क मृत्यु भएको घोषणा गर्न सकिदैन । चिकित्सकका अनुसार मानिसको मस्तिष्क मृत्युपछि २४ घण्टाभित्र सुरक्षित राखेर प्रत्यारोपण गर्न सकिन्छ ।

नष्ट हुन अंगलाई कसरी प्रयोग गर्ने ?

मस्तिष्क मृत्युपश्चात अंगदानबारे आममानिसहरुमा चेतना अभाव हुँदा दाताको संख्या बढ्न सकेको छैन । यसरी मृत्यु हुने व्यक्तिको ८ वटा अंग निकाल्न सकिन्छ जुन जलेर वा गाडेर नष्ट हुन्छ त्यसले अर्को कुनै व्यक्तिको जीवन पाउनसक्ने हुन्छ । तर यसबारे सचेतना अभावमा कार्यान्वयन आउन सकेको छैन । एउटा दाताको स्वास्थ्यको बारेमा ग्यारेन्टी, कानुनी, प्राविधिक जटिलता काम गरेर प्रत्यारोपणलाई प्रभावकारी बनाउनुपर्ने सुझाव आएका छन् ।

बुटवलमा गरिएको मस्तिष्क मृत्युपश्चातको अंगदानमा सम्बन्धि कानुनी ब्यवस्था र कार्यान्वयनको अवस्था विषयक कार्यक्रममा सरोकारवालाले यसबारे आमनागरिकलाई सचेतना जगाउँदै कार्यक्रम समुदायस्तरमा लैजानुपर्ने सुझाव दिए । डा पुकारचन्द्र श्रेष्ठले ठूलो जनसंख्या भएको देशमा अहिलेसम्म २ हजार २ सय जनाले मात्र मृत्युपछि अंगदान गर्ने घोषणा गरेको बताए ।

छोटोसमयमा एक हजार जनाको प्रत्यारोपण सम्पन्न गरिएको उनको भनाइ छ । नेपालमा प्रत्येक वर्षको १ हजार जनाको मस्तिष्क मृत्यु हुन्छ । जसबाट ८ हजार अंगहरु प्राप्त गर्न सकिने सम्भावना छ । नेपालमा निक्कै थोरैले मात्र यसको प्रत्यारोपणमा उपयोग भएको छ । डा. कल्पना श्रेष्ठले अंगदान गरेको ब्यक्तिको परिवारलाई बुझाउन धेरै कठिनाई देखिएको, अंग दान गर्न तयार हुनेको विषयमा सरकारले प्राथमिकता नदिएको बताइन् ।

पूर्वस्वास्थ्य मन्त्री तथा स्रदेश सांसद भोजप्रसाद श्रेष्ठ तथा बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले नीतिगत समस्यालाई समाधान गरेर सेवा बिस्तारमा सरकारी अस्पतालहरुको ध्यान जानुपर्ने र त्यसका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाए । प्रत्यारोपण विशेषज्ञ दिपेश श्रेष्ठ, डा शक्ति बस्नेतले समाजमा प्रत्यारोपणको बारेमा सचेतना जगाउने, प्रत्यारोपण खेलकुद गतिविधि चलाउदै आएको उनले बताए ।

बुटवलमा किन राखिएन ?

देशका मुख्यस्थानमा यसअघि नै प्रत्यारोपण केन्द्र संचालन गर्ने प्रकृया अघि बढेपनि रुपन्देहीमा अहिलेसम्म त्यसको पहल नगरिएकोमा सरोकारवालाले चिन्ता गरेका छन् । कर्णाली, सुदूरपश्चिमलगायत सबै प्रदेशमा यसको प्रकृया अघि बढ्दा यो क्षेत्रमा कसैले त्यसको नेतृत्व लिन सकेको छैन । यो सेवा सुचारु हुने अवस्थामा यहाँ किन हुन सकेन ? कसको पहल भएन भन्ने विषयले चर्चा पाएको छ ।

डा. पुकार श्रेष्ठले बुटवलमा यो सेवा सुरु हुन नसक्नु राम्रो सन्देश नगएको बताए । पूर्वस्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले कर्णालीमा सुरु भएको सेवा रुपन्देहीजस्तो मेडिकल हवमा संचालन हुन नसक्नु चुनौतीको विषय भएको भन्दै आफूले अब अग्रसरता लिने प्रतिवद्धता जनाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर