परराष्ट्रमन्त्री साउद र डोनाल्ड लुबीच एमसीसी कार्यान्वयनबारे छलफल – Nepal Press

परराष्ट्रमन्त्री साउद र डोनाल्ड लुबीच एमसीसी कार्यान्वयनबारे छलफल

काठमाडौं । अमेरिकाका लागि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान सहायता परियोजना एमसीसी कार्यान्वयनबारे चर्चा गरेका छन् ।

परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार अपरान्ह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले एमसीसी कार्यान्वयनबारे छलफल गरेका थिए ।

भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र सो पछि पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरी र दुवै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री साउदले सहायकमन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि कृतज्ञता व्यक्त गरे ।

सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए ।

भेटका क्रममा उनले अमेरिकामा ठूलो संख्यामा रहेको नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्याएको योगदान र हासिल गरेको प्रगतिको प्रशंसा गरे ।

दुई देशबीचको लामो मित्रवत सम्बन्धको परिपेक्ष्यमा उच्चस्तरीय भ्रमणको आदान–प्रदानको महत्वबारे समेत भटवार्ताका क्रममा चर्चा भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर