कुवेत उड्न लागेका ११७ जना फर्काइएकोमा अध्यागमनसँग व्यवसायी संघले क्षतिपूर्ति माग्ने – Nepal Press

कुवेत उड्न लागेका ११७ जना फर्काइएकोमा अध्यागमनसँग व्यवसायी संघले क्षतिपूर्ति माग्ने

कर्मचारीले भिसा हेर्न नजान्दा फिर्ता गरिएकाे वैदेशिक राेजगार व्यवसायी संघकाे दाबी

काठमाडौं । गत बुधबार र बिहीबार गरेर कुवेत जान लागेका ११७ नेपालीलाई अध्यागमन कार्यालयले त्रिभुवन विमानस्थालबाट फिर्ता गरेको थियो ।

११७ जनामध्ये आज ९ जान श्रमिकहरु पुरानै कागजात पेस गरेर कुवेत रोजगारीका लागि गएका छन् भने १०८ जना कुवेत जाने पर्खाइमा रहेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज पत्रकार सम्मेलन गरेर अध्यागमनमा आएका नयाँ कर्मचारीले भिसा हेर्न नजानेका कारण नै कुवेत जान लागेका ११७ जना श्रमिकलाई रोकेको बताएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भन्डारीले भने, ‘गत बुधबार र बिहीबार विमानस्थालबाट अध्यागमन कार्यालयले फर्काएको मध्ये ९ जना आज कुवेतमा काम गर्नका लागि गएका छन् । विभागका केही कर्मचारीले भिसा हेर्न नजानेको र केही कर्मचारीले रोक्ने मनसायले नै कुवेत जान लागेका ११७ जना श्रमिकलाई रोकेको देखियो । हामीले मेनपावरको कतै गल्ती पेश गर्न भनेका छौं । हाम्रो गल्ती देखिएको छैन । तर, शंका लागेको भरमा नै घरबाट खादा र माल लगाएर आएका कर्मचारीलाई रोक्ने राम्रो कुरा होइन । अहिले व्यवसायीले नै श्रमिकलाई टिकट काटेर श्रमका लागि पठाइरहेका छन् । हामीले अध्यागमनका कर्मचारीसँग क्षतिपूर्ति माग्ने छौं ।’

एक जना श्रमिकलाई कुवेत काममा पठाउदा ६० हजार टिकट खर्च लाग्ने छ । गत बुधबार कुवेताका कम्पनीहरु नै टिकट काटिदिएका थिए । तर, अध्यागमनले रोकेपछि जहाज ती श्रमिक नबोकी कुवेत गएको थियो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेगनाथ भुर्तेलले अध्यागमन कार्यालयले शंकास्पद कागजात भनिएको र केहीलाई बोर्डीङ लिन ढिलो गरेको कारण देखाईएको थियो । तर, आज त्यही कागजात पेस गरेर श्रमिक कुवेत काम गर्न गएको बताए ।

उनले भने, ‘वैधानिक रुपमा सबै कानुनी प्रक्रिया पुरा गरेर कुवेतमा रोजगारीको लागि पठाउने क्रममा श्रमिकहरुलाई अनावश्यक दुःख दिईएको देखिन्छ ।’

भिसा र टिकट प्रमाणित गरेर पठाउँदा पनि राज्यले रोकेको व्यवसायीहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर