चौकीमा बाढी पसेपछि प्रहरी भागाभाग – Nepal Press

चौकीमा बाढी पसेपछि प्रहरी भागाभाग

विराटनगर । लगातार परेको पानीसँगै सुनसरी खोलामा आएको बाढीका कारण सिसुवाधरमपुर प्रहरी चौकी डुबानमा परेको छ ।

शुक्रबार बिहान कार्यालयमा बाढी पसेपछि प्रहरीले चौकी छाडेका छन् । भोक्राह नरसिंह गाउँपालिका-८ मा रहेको सिसुवाधरमपुर चौकीमा असई रमेश परियारको नेतृत्वमा ६ जना प्रहरी परिचालित थिए । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले बाढीले चौकी डुबानमा परेपछि प्रहरी विस्थापित भएको बताए ।

उनका अनुसार बाढीलले प्रहरी परिसरमा ४ फिटसम्म पानी जमेको छ । सबै प्रहरीले हातहतियार, सञ्चार सामग्री तथा बन्दोबस्तका सामानसहित बिहान ५:५० तिर प्रहरीले चौकी छाडेका छन् ।

बाढीका कारण मोरङ र सुनसरीका दर्जनौं स्थान डुबानमा परेका छन् । मोरङको जहदा गाउँपालिका-३ स्थित भाथीगन्जमा बाढीले घर बगाएपछि ३ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढीले घर-टहरा भत्काउँदा खोला किनारमा बसोबास गर्दै आएकाहरू विस्थापित भएका हुन् । सार्वजनिक जग्गामा घर बनाएर बसेका अर्जुन मुखिया, सुरज मुखिया र विष्णुदेव मुखियाको घर बाढीले बगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

मोरङका बूढी, सिंघिया, लोहन्द्रा, बक्राहा लगायतका खोलामा बाढी आएको प्रहरीले जनाएको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जिल्लाको दक्षिण, पश्चिम र उत्तरी क्षेत्रमा डुबानले प्रभावित भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर