लुम्बिनीमा एक वर्ष बित्दासम्म कार्यान्वयनमा आएन प्रदेश प्रहरी ऐन – Nepal Press

लुम्बिनीमा एक वर्ष बित्दासम्म कार्यान्वयनमा आएन प्रदेश प्रहरी ऐन

रुपन्देही । लुम्बिनी प्रदेशले एक वर्षअगाडि बनाएको प्रदेश प्रहरी ऐन संघीय सरकारले ऐन नबनाउँदा कार्यान्वयनमा आउन सकेको छैन । आन्तरिक मामिला तथा कानून मन्त्रालयले २०७९ वैशाख १६ गते प्रदेशसभामा पेश गरेको विधेयक प्रहरी नायव महानिरीक्षक (डीआईजी) को नेतृत्वमा श्रेणी रहने गरी तयार पारिएको भए पनि विषयगत समितिले त्यसलाई संशोधन गरेर अतिरिक्त महानिरीक्षक (एआईजी) को कमाण्ड राख्ने गरी सोही वर्षको असार १५ गते पारित गरिएको थियो ।

पटक पटक प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रीहरुले प्रदेशमा प्रहरीसमेत आफू मातहत नआएको भन्दै असन्तुष्टि पोखिरहेको बेला प्रहरी सेवा सम्बन्धी ऐन तयार गरिएपनि कार्यान्वयनमा नआएर यसै थन्किएको हो । संघीय प्रहरी ऐनको मस्यौदासँग मिल्ने गरी प्रदेश सरकारले ऐन बनाएको सरकारको दाबी छ। प्रहरी सेवा सम्बन्धमा बनेको ऐनमाथि प्रदेश मामिला तथा कानून समितिमा छलफल गरी हतार हतार संसद‍्बाट पारित गरिएको थियो । संघमा यो ऐन नबन्दै प्रदेशमा बनाएर दबाब सृजना गर्न खोजिएपनि त्यो पूरा हुन सकेको छैन ।

प्रदेश ऐनहरुबारे विशेष अध्ययन गरेका अधिवक्ता युवराज कंडेलले संघीय ऐन नबनेका कारण नै प्रदेश प्रहरी ऐन कार्यान्वयन नभएको बताउँदै त्यो तत्काल बन्न पनि संभव नभएको संकेत आएको जनाएका छन् । ‘संघकै कारण रोकिएको छ, यसमा पनि विभिन्न स्वार्थ रहेका छन्, संघले निर्देशन दिएको छ, त्यसले केही काम गर्न बाटो खुलाएको छ तर संघीय ऐन नबन्दै प्रदेशमा प्रहरी खोल्न संभव छैन, त्यसका लागि संघीय मन्त्री तथा सांसदको रुचि नभएर ढिलाई भएको प्रष्ट देखिन्छ, प्रहरीको पनि माथिल्लो तहबाट रोकिएको हुनसक्छ, लामो समय बढुवा हुन नसकेका मात्रै इच्छुक छन् नभए प्रदेशबाट यति दबाब हुँदा किन आउन सकेन भन्ने जवाफ कसैसँग छैन’, उनले भने ।

के छ प्रदेश प्रहरी ऐनमा व्यवस्था

डीआईजी र एसएसपी प्रदेश सरकारले सिफारिस भएकालाई नियुक्त गर्न पाउने व्यवस्था गरिएको छ । प्रहरी उपरीक्षक (एसपी), प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इनस्पेक्टर) पदमा बढुवा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले गर्न पाउने व्यवस्था गरिएको छ।

त्यसैगरी प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी वरिष्ठ हल्वलदार, प्रहरी हवल्दारलाई प्रदेश प्रहरी प्रमुखले खुल्ला प्रतियोगिताबाट वा बढुवा गर्न पाउनेछन्।
ऐन अनुसार प्रहरी नायव उपरीक्षक वा सो भन्दामाथिको तहका पदमा प्रदेश सरकारले बढुवामार्फत पदपूर्ति गर्नेछ । प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकमा खुल्ला प्रतिस्पर्धाबाट ७० प्रतिशत र बाँकी ३० प्रतिशत पद बढुवामार्फत गर्नसक्ने प्रावधान राखेको छ।

यस्तै प्रहरी सहायक हल्वादर र प्रहरी जवान पदमा प्रहरी वरिष्ठ उपरीक्षक वा प्रहरी उपरीक्षकले नियुक्त गर्न पाउनेछ। प्रहरी कार्यालय सहयोगी पदका लागि कम्तीमा प्रहरी नायव उपरीक्षक दर्जाको कार्यालय प्रमुखले नियुक्ति दिन सक्ने अधिकार ऐनमा गरिएको छ।

ऐन अनुसार प्रहरी नायव उपरीक्षक वा सो भन्दामाथिको तहका पदमा प्रदेश सरकारले बढुवामार्फत पदपूर्ति गर्नेछ । प्रहरी निरीक्षक ९इनिसपेक्टर० र प्रहरी सहायक निरीक्षकमा खुल्ला प्रतिस्पर्धाबाट ७० प्रतिशत र बाँकी ३० प्रतिशत पद बढुवामार्फत गर्नसक्ने प्रावधान राखेको छ।

यसैगरी प्रहरी वरिष्ठ नायव निरीक्षक र प्रहरी नायव निरीक्षक, प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने ऐनमा उल्लेख छ।
त्यस्तै प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी वा सो सरहका पदमा भने खुल्ला प्रतियोगिताबाटै पदपूर्ति गर्ने ऐन बनाएको छ ।

प्रदेश प्रहरी सेवामा भर्ना, छनौट तथा रिक्त पदपूर्तीका लागि प्रदेश लोक सेवा आयोगका अध्यक्ष वा आयोगले तोको सदस्य अध्यक्ष रहने गरी ५ सदस्यीय पदपूर्ति समिति गठन गर्ने उल्लेख छ।
समितिको सदस्यमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, प्रदेश प्रहरी प्रमुख, मन्त्रालयको सुरक्षा महाशाखा प्रमुख र प्रदेश प्रहरी प्रधान कार्यालयका सम्बन्धित महाशाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ।

विपन्न खसआर्यलाई पनि आरक्षण पद

प्रदेशमा प्रहरी सेवालाई समावेशी बनाउन खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद छुटाएर त्यसलाई शतप्रतिशत मानी सात समूहको समावेशीका आधारमा पदपूर्ति गर्ने व्यवस्था गरेको छ।

हालसम्म संघीयतहमा भइरहेको समावेशीको पदपूर्तिभन्दा पृथक खालको समावेशिताको रूपरेखा तयार पारिएको छ। ऐन अनुसार महिला ३३, आदिवासी जनजाति १५, थारु १४, दलित १४, मधेसी १०, विपन्न खसआर्य ६, मुस्लिम ५ र द्वन्द्व पीडित ३ प्रतिशत रहने गरी समावेशी समूह राखिएको छ। अन्य ऐनमा पिछडिएको क्षेत्र राख्ने गरिएको भए पनि विपन्न भनेर खसआर्यलाई आरक्षणको व्यवस्था गरिएको छ ।
प्रदेश सरकारले प्रहरीसमेत सञ्चालन गर्न नपाउँदा संघीयता कार्यान्वयनमा असहजता हुँदै आएको बेला सरकारले ऐन संसदबाट पारित गरेको तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीले बताएका थिए । प्रहरीका विभिन्न पदहरूमा कार्यरतका लागि तलवभत्ता र राशन दिने जस्ता नियमित सुविधासँगै प्रदेश प्रहरी अस्पताल, प्रदेश प्रहरी विद्यालयसम्म खोल्ने ऐनमा उल्लेख गरिएको छ।

तत्कालीन समयमा प्रदेश मामिला तथा कानुन समितिले सरकारले सदनमा दर्ता गरेको विधेयकमा ७६ वटा बुँदा संशोधन गरेर समितिका तत्कालीन सभापति एवं प्रदेश सांसद दामा कुमारी शर्माले असार १५ गते सदनमा पेस गरेकी थिइन्।

शर्माले विधेयक सदनमा पेस गरेकै दिन पारित भएको थियो। सोही दिन संसदीय समितिको नाम हेरफेर गरी सदस्यहरू मात्रै रहने व्यवस्था तत्कालीन सभामुख पूर्ण बहादुर घर्तीले गरेका थिए। नेपालको संविधान २०७२ को धारा २६८ को उपधारा २ मा उल्लेख भए अनुसार प्रत्येक प्रदेशमा प्रहरी संगठन रहेन व्यवस्था अनुसार सरकारले ऐन बनाएको बताइएपनि त्यसपछि तीनवटा मुख्यमन्त्री फेरिएपनि कार्यान्वयन हुन सकेको छैन । प्रदेशका मुख्यमन्त्रीले प्रहरी चलाउनका लागि प्रमुख जिल्ला अधिकारी गुहार्नुपरेको भन्दै गुनासो धेरैपटक मुख्यमन्त्रीहरुले नै भन्दै आएका छन् । यो ऐन निर्माण भएकाले त्यसलाई सहज गराउने अनुमान गरिएपनि कार्यान्वयन नभएकाले थप चुनौती थपिएको छ।

एक वर्षपछि नियमावलीमा छलफल

कानुन सदनबाट पास भएको एक वर्षपछि पनि प्रदेश प्रहरी नियमावलीका विषयमा छलफल भइरहेको छ । आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशले रुपन्देहीको भैरहवामा प्रदेश प्रहरी नियमावली र सुरक्षा सम्बन्धी रणनीतिक योजनाका विषयमा कार्यक्रम आयोजना गरेर यसको कार्यान्वयनका विषयमा छलफल चलाएको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले प्रदेश प्रहरी र सुरक्षा सम्बन्धी कानून निर्माण गर्दा प्राप्त भएका सल्लाह–सुझाव लिपिबद्ध गरिने बताए । उनले प्रहरीसँग आम जनताको सहज पहुँच हुनुपर्ने र २१ औं शताब्दीमा जनताले समाजको प्रहरी खोजेकाले प्रहरीलाई टाढा राखेर नहुने बताए ।

तीन महिनाभित्र प्रदेशमा प्रहरी भर्ना गर्ने तयारी

मन्त्री पाण्डेयले आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले प्रहरी कार्यालयहरुका लागि आवश्यक उपकरण, सामग्रीका उपलब्ध गराउनका लागि रकम उपलब्ध गराउने बताए । उनले प्रदेशको औचित्य पुष्टि हुने गरी कानून बनाउने र आगामी तीन महिनाभित्र प्रदेश प्रहरी भर्ना गरिने दावी गरे ।

‘पोखरामा सबै प्रदेशका मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री प्रचण्डले प्रतिवद्धता गर्नुभएको छ, ऐन बनेका प्रदेशहरुमा प्रहरी भर्ना गर्न पाउने भन्ने छ, प्रधानमन्त्रीले तीन महिनामा त्यो प्रकृयामा जान सबै मुख्यमन्त्रीलाई निर्देशन गरेकाले पनि सोही अनुसार हामीले बोल्ने हो, अब केही पदहरुमा हामी तत्काल भर्ना खोल्छौं’ उनले भने । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सुरक्षा निकाय केन्द्रीय संरचना अनुसार तयार भएको बताए । उनले एउटै निकायलाई १० ठाउँबाट आदेश आउँदा अन्यौलता हुनसक्ने भएकाले कुनै अफ्ठयारो नपर्ने गरी पुर्नसंरचना, समायोजन गर्नुपर्ने बताए ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशका कानुन सचिव राजेन्द्र थापाले अबको प्रहरी संगठन जनताको लागि हुनुपर्ने र पुर्नसंरचना अवसर पनि भएको बताए ।

नेपाल प्रहरीका पूर्व एआईजी सुरेन्द्र शाहले लुम्बिनी प्रदेश प्रहरी संगठन निर्माणका आधार, गठन र परिचालन तथा लुम्बिनी प्रदेशका कानून सचिव राजेन्द्र थापाले लुम्बिनी प्रदेशको प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्ने बनेको ऐन सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । प्रदेशमा प्रहरी ऐन बनेपनि संघीय ऐनबाट कार्यान्वयनमा ढिलाई भएको छ । प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पटक पटक प्रदेशमा यो ऐन बनेपनि संघका कारण कार्यान्वयनमा लैजान नपाएको बताउँदै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै उनले यो विषय पटक पटक राखिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर