रोहिणी गाउँपालिकाले १८ दिनपछि ल्यायो नीति तथा कार्यक्रम र बजेट – Nepal Press

रोहिणी गाउँपालिकाले १८ दिनपछि ल्यायो नीति तथा कार्यक्रम र बजेट

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाले ढिलो गरी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

संविधानअनुसार पालिकाले असार १० गते बजेट ल्याउनुपर्ने भए पनि वडाध्यक्ष र पालिका अध्यक्षबीचको बजेट बाँडफाँट विवादले रोकिएको थियो । बिहीबार गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले १३औं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

१४८ बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कृषिलाई आर्थिक समृद्धिको मेरूदण्ड मान्दै कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिने र व्यवसायिक तथा साना कृषकहरूलाई अनुदानको व्यवस्था गरिने उल्लेख छ ।

त्यस्तै धकधईमा १५ शय्याको आधारभूत अस्पताल निर्माणको लागि परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत भइसकेकोले ठेक्का प्रक्रियामा लगिने उल्लेख छ ।

गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुका लागि निःशुल्क शिक्षा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष यादवले बताए । यसबाट गाउँपालिकाभित्रकै शैक्षिक संस्थाहरुमा अध्ययन गर्ने परिपाटीको विकास हुने उनले बताए ।

त्यस्तै आमा र शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै बर्थिङ सेन्टर तथा अस्पतालमा सुरक्षित सुत्केरी गराउन प्रोत्साहन गर्ने र बर्थिङ सेन्टर तथा अस्पतालमा प्रशूति गराइएका गाउँपालिकाभित्र स्थायी बसोबास भएका सुत्केरी महिलालाई साउन १ गतेदेखि नै कार्यान्वयन गर्ने गरी ‘उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरी पोषण सामग्री उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष यादवले बताए ।

त्यसैगरी गाउँपालिकाको इतिहास, भूगोल, संस्कृति, चालचलन, रीतिरिवाज, भाषा, आर्थिक-सामाजिक, क्रियाकलाप र पर्यटकीय स्थल झल्किने गरी स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिने उनले बताए ।

आर्थिक, सामाजिक र शैक्षिक रुपमा पछाडि परेका महिला, दलित, आदिवासी जनजाती, मुस्लिम, पिछडावर्ग, अपांंगता भएका व्यक्तिलगायतका वर्ग तथा समुदायलाई सीपमूलक, आयमूलक र रोजगारमुलक कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बजेट करिब ५६ करोड

बिहीबार भएको गाउँपालिकाको १३औं गाउँसभाले ५५ करोड ९१ लाख १२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बजेटमा आन्तरिक आयबाट २ करोड ८२ लाख ६८५, संघीय सरकारबाट प्राप्त ४३ करोड २५ लाख ४४ हजार ६००, प्रदेश सरकारबाट प्राप्त ३ करोड ४३ लाख ६६ हजार ७१५, बैंक मौज्दात ४ करोड, जिल्ला समन्वय समितिबाट २ करोड ४० लाख रुपैयाँ अनुमान गरिएको छ ।

गाउँसभामा गाउँपालिकाका सेवानिवृत्त (स्थायी) शिक्षक, जनप्रतिनिधि, कर्मचारी, गाउँपालिकामा निर्माण हुने १३ शय्याको अस्पताल जाने सडकका लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई सम्मान गरिएको थियो ।

त्यस्तै उत्कृष्ट विद्यालय भविष्य उज्ज्वल आधारभूत विद्यालय र उत्कृष्ट शिक्षक पिपरहवा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राधेश हरिजनलाई सम्मान गरिएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत मधुप्रसाद घिमिरेले बताए ।

गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनको अनुमतिमा अध्यक्ष यादवले नै बजेट पेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर