प्रधानमन्त्री ३ दिन शोकमा बस्ने, काजक्रिया भने नगर्ने – Nepal Press

प्रधानमन्त्री ३ दिन शोकमा बस्ने, काजक्रिया भने नगर्ने

सातौं दिन बालुवाटारमै शोकसभा आयोजना गर्ने तयारी

काठमाडौं । पत्नी वियोगमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ दिनसम्म शोकमा बस्ने भएका छन् । आउँदो ३० गतेबाट उनी नियमित काममा फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले ३ दिनसम्म प्रधानमन्त्री निवासमै रहने जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यू ३० गतेपछि पूर्ववत सक्रिय हुनुहुनेछ’, उनले भने ।

प्रधानमन्त्री पत्नी सीता दाहालको हिजो नर्भिक अस्पतालमा निधन भएको थियो । उनको राजकीय सम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । हिन्दू संस्कारअनुसार नै दाहसंस्कार गरिएको हो । अन्य काजक्रिया भने नगरिने भएको छ ।

प्रधानमन्त्रीको परिवारमा कसैले पनि नून बारेका छैनन् ।

प्रधानमन्त्री प्रचण्डका भाइ नारायण दाहालले हिन्दू संस्कारमा हुने १३ दिनको काजक्रिया नगरिने बताए ।

‘उहाँ भोलिसम्म ३ दिन शोकमा बस्नुहुन्छ, तर हिन्दू संस्कारको काजक्रिया गरिएको छैन’, उनले भने ।

यसअघि प्रचण्ड पुत्र प्रकाश दाहालको निधन हुँदा पनि कागक्रिया गरिएको थिएन ।

भाइ दाहालले भने, ‘जस्तो प्रकाशको बेलामा गरिएको थियो, अहिले पनि त्यही नै हुने हो ।’

कम्युनिष्टले धर्म नमान्ने भएकाले प्रचण्ड परिवारले सीताको काजक्रिया नगर्ने भएको हो । बरु सातौं दिनमा एउटा शोकसभा राख्ने तयारी गरिएको दाहालले जानकारी दिए ।

‘निश्चित भइसकेको छैन, तर सातौं दिनमा शोकसभा राख्ने तयारी चाहिँ छ’, उनले भने ।

बालुवाटारमा आज बिहानैदेखि बाक्लो संख्यामा आगन्तुकहरु श्रद्धान्जली तथा समवेदनाका लागि आइरहेका छन् । सीतालाई लिखित श्रद्धाञ्जली दिन शोकपुस्तिका राखिएको छ । भेट्न आउनेहरुका लागि बिहान आठ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म समय छुट्याइएको थियो । माओवादीका अधिकांस नेताहरु आज बालुवाटार उपस्थित भएका थिए ।

यस्तै कूटनीतिक नियोगका केही प्रतिनिधिहरु पनि आएर शोक पुस्तिकामा हस्ताक्षर गरेका छन् । आगन्तुकहरुका लागि छुट्याइएको समयमा प्रधानमन्त्री तथा छोरीहरु बाहिर बसेर भेटघाट गर्ने गरेका छन् ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री ३ दिन शोकमा बस्ने, काजक्रिया भने नगर्ने

  1. हिन्दु धर्म संस्कृति र परम्परा लाई नमान्ने दुस्टहरु लाई हिन्दु मन्दिर र आराध्यदेब पशुपतिनाथ मन्दिर जान दिनु हुदैन। ती ओलि बिद्या पनि कम्युनिस्ट हुन तिनिहरु ले जलहरी राख्ने नाममा बाबा पशुपतिनाथ को अपमान गरे अब आयन्दा धर्म नमान्ने कमाउनिस्टहरुलाई कुनै हालतमा पनि पशुपतिनाथ मन्दिर भित्र छिर्न दिनु हुदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर