राप्रपामा विद्युतीय माध्यमबाटै साधारण र सक्रिय सदस्य बन्न पाइने – Nepal Press

राप्रपामा विद्युतीय माध्यमबाटै साधारण र सक्रिय सदस्य बन्न पाइने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विद्युतीय माध्यमबाटै साधारण र सक्रिय सदस्य बन्ने तथा आर्थिक सहयोग गर्न सक्ने व्यवस्था मिलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीमा अब काम नगरी नेता हुन नपाइने व्यवस्था गरिएको बताए ।

उनले तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेता स्वतः पदीय जिम्मेवारीबाट मुक्त हुने बताए ।

एक वर्षभित्र सक्रिय सदस्यको संख्या दुई लाख पु¥याउने, ६ महिनाभित्र १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने, ६ महिनापछि भूगोलको जिम्मेवारी हेरफेर हुने, भूगोल केन्द्रित जिम्मेवारीमा रहेका नेताले आफ्नो दैनिक क्रियाकलाप विद्युतीय माध्यमबाट सचिवालयमा नियमित रुपमा पेस गर्नुपर्ने व्यवस्था लागू गरेको उनले बताए ।

अध्यक्ष लिङदेनले जिम्मेवारीमा रहेका सबैका लागि एकबाट तीन सदस्यता अभियान सञ्चालन गर्ने, ६ महिनाभित्र पार्टीका सबै तहमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गर्ने, पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाहरुको अनिवार्य सहभागिताको व्यवस्था मिलाउन केन्द्रीय कार्यसमितिमा ४० तथा कार्यसम्पादन समितिमा कम्तिमा ७ जना विभिन्न प्रक्रियाबाट अनिवार्य प्रतिनिधित्व गराइने, आगामी दिनमा विभिन्न तहमा उम्मेदवार बनाउँदा ५० प्रतिशत प्राइमरी छनोट प्रक्रिया अपनाउने निर्णय भएको जानकारी दिए ।

अध्यक्ष लिङदेनले बिहीबार नवीन राप्रपा कार्ययोजना सार्वजनिक कार्यक्रम २०८० अन्तर्गत भ्रष्टाचार र भ्रष्टाचारका विरुद्ध पार्टीको अवधारणालाई प्राथमिकताका साथ राख्ने, राजसंस्था, हिन्दू राष्ट्र र संघीयतासम्बन्धी पार्टीको अवधारणालाई जनतासमक्ष पु¥याउने, पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप्रपामा जोड्ने विशेष अभियान सञ्चालन गर्ने निर्णय केन्द्रीय कार्यसमितिको बैठकले गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर