राति १ बजे लाइभ आएर जिया केसीले भनिन्- मेरो कारणले भुवन केसीलाई गाली आयो, बाँच्न मन छैन – Nepal Press

राति १ बजे लाइभ आएर जिया केसीले भनिन्- मेरो कारणले भुवन केसीलाई गाली आयो, बाँच्न मन छैन

काठमाडौं । अभिनेता भुवन केसीलाई आफ्ना कारणले गाली आएको बताउँदै जिया केसीले टिकटक लाइभमार्फत गुनासो पोखेकी छन् । बुधबार राति १ बजे लाइभ आएर भुवनकी प्रेमिका जिया केसीले टिकटकमा दुःख व्यक्त गरेकी हुन् ।

उनले भनेकी छन्, ‘मलाई यो विषयमा बोल्न त मन थिएन । तर कतिपय कुराहरु नबोलौ भन्दा पनि बोल्न बाध्य हुनुपर्दो रहेछ । सामाजिक सञ्जाल हेरे। भुवन केसीले गाली खाएको देखेँ । त्यो देखेर एकदमै दुःख लाग्यो ।’

भुवनले आफ्ना कारणले गाली खानु परेको उनको आशय छ । उनले अगाडि भनिन्, ‘उहाँले न केही भन्नु भएको छ न केही गर्नु नै । नभएको कुराहरुमा यति धेरै आगोहरु थपिरहनुभएको छ । यो सब मेरो कारणले हो । किनभने ड्रिम्स फिल्ममा जो अभिनेत्री हुनुहुन्छ, उहालाई त्यस चलचित्रमा मेरै कारणले हुनुहुन्थ्यो । मैले नै उहाँ(साम्राज्ञी) राम्रो हुनुहुन्छ र उहाँलाई नै लिनुपर्छ भनेर प्रेसर दिएकी थिएँ । मेरो वचन राखेर उहाँलाई त्यस चलचित्रको नायिका बनाइएको थियो ।’

४० वर्षदेखि चलचित्र क्षेत्रलाई ज्यान दिएको व्यक्तिलाई तथानाम गाली र बेइज्जती आउँदा आफूलाई दुःख लागेको उनले बताएकी छन् ।

‘चलचित्र राम्रो अनि सफल भयो । तर धेरै वर्ष बितिसकेपछि भने उहाँँ(साम्राज्ञी)ले तथानाम गाली गर्न थाल्नुभयो । भन्न चाहिँ भुवन केसीलाई केही भनेकी छैन भन्नुहुन्छ तर अप्रत्यक्ष रुपमा मेरो पहिलो चलचित्रको निर्देशक अनि निर्माता भन्नुहुन्छ। सोही कारणले भुवनजीले कमेन्ट्समार्फत धेरै गाली खानुहुन्छ’, उनले थपिन् ।

धेरै गाली आएपछि सहन नसकेर भुवनले अदालतमा केस दर्ता गरेको जियाको भनाइ छ । उनले भनिन्, ‘गालीको वर्षा हुँदा उहाँले एकचोटी त्यो व्यक्ति भुवन केसी होइन भनेर भन्नुभएन । विचरा भुवनजीले सहन नसकेर अदालतमा केस दर्ता गर्नुभयो । केस फाइल भएपछि भने उहाँले मैले भुवन केसीलाई भनेको होइन, मैले त चलचित्र क्षेत्रको विकृतिको विषयमा आवाज उठाएका होे, के आवाज नै उठाउन नपाउने भन्नुहुन्छ । कस्तो बिडम्वना ?’

‘मिडियामा तथानाम गाली गर्ने अनि अदालत पुगेपछि भने मैले उहाँलाई भनेकै होइन भन्ने ? ४ दशक चलचित्र क्षेत्रमा योगदान दिएको व्यक्तिलाई तथानाम गाली र बेइज्जती आउँदा कस्तो हुन्छ होला ? त्यहीँ पनि मेरो कारणले । आज मलाई एकदमै नराम्रो लागिरहेको छ । म एकदमै दुःखी छु । म त आत्महत्या गर्छु होला जस्तो अनुभव गरिरहेकी छु,’ उनले भनेकी छन् ।

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले आफूमाथि भुवन केसीले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएपछि केसीले २०७७ साउन ९ गते १० करोड क्षतिपूर्ति माग गर्दै शाहविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । केसीले दायर गरेको मुद्दामा तीन वर्षपछि अन्तत काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेको छ ।

गाली बेइज्जतीको मुद्दामा अदालतले दाबी नपुगेको ठहर गरेसँगै केसीले मुद्दा हारेका छन् । अदालतले फैसला सुनाएपछि यतिबेला सामाजिक सञ्जालमा साम्राज्ञीप्रति सहानुभूति र भुवनप्रति आलोचना वर्षिन थालेको छ । गाली र आलोचनाको वर्षात हुन थालेपछि जिया केसीले लाइभ आएर आफ्ना गुनासा पोखेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर