कथित ‘उपल्लो जात’ की केटी बिहे गर्न केरमेट गरेको नागरिकताबाट ठगी – Nepal Press

कथित ‘उपल्लो जात’ की केटी बिहे गर्न केरमेट गरेको नागरिकताबाट ठगी

काठमाडौं । ललितपुरको बागमती गाउँपालिका घर भई चापागाउँ बस्दै आएका ४० वर्षीय विजयकुमारल‍े नारायण विकलाई दीपेन्द्र अधिकारी भनेर चिनेका थिए । एक वर्षअघि चापागाउँमा भेट हुनेक्रममा दीपेन्द्रले विजयको बा. २ क ५७१० नम्बरको टिपर ३ लाख १७ हजार रूपैयाँ नगद दिएर बाँकी बैंक किस्ता आफूले सकार्ने गरी खरिद सहमति गरे ।

गत साउन २५ गते उनीहरूबीच लिखित कागज भएकाे थियाे । दीपेन्द्रले लुम्बिनी विकास बैंकमा रहेको दीपेन्द्र अधिकारी नामको खाताको ३ लाख १७ हजारको चेक थमाए । एक महिनापछि साटिने गरी दिइएको चेक न साटियो न त दीपेन्द्रले बैंकमा बुझाउनुपर्ने मासिक ४० हजार रूपैयाँ किस्ता नियमित बुझाए । गाडी अझै विजयकै नाममा रहेकाले किस्ता नतिरेको भन्दै बैंकले उनैलाई ताकेता गर्‍यो । विजयले यता दीपेन्द्रलाई बुझ्दा अनेकन बहाना बनाउँथे । चेक नसाटिँदा पाएको हैरानी अर्कातर्फ छँदै थियो ।

केही साताअघि चापागाउँ प्रहरी वृत्तले दीपेन्द्रलाई अभद्र व्यवहारमा पक्राउ गरेको थाहा पाएपछि विजय झस्किए । दीपेन्द्रको वास्तविक नाम त नारायण विक रहेछ । उनले नागरिकतामा नामथर सच्याएका रहेछन् । नारायणका अनुसार उनले सोही नक्कली नागरिकताको फोटोकपि प्रयोग गरेर बैंकहरूमा खाता खोलेका थिए ।

अनुसन्धान अधिकारीसँग उनले दिएको बयानअनुसार नारायणले ‘माथिल्लो जात’ की युवतीसँग प्रेम गरेपछि विवाह गर्न परिवारले थाहा नपाउन् भनेर नागरिकताका विवरणहरू सच्याएर दीपेन्द्र अधिकारी बनाएका हुन् । सिन्धुपाल्चोक साँगाचोक स्थायी घर भएका नारायणले बुबा र हजुरबुबाको समेत नाम परिवर्तन गरी नागरिकता प्रमाण पत्र नम्बर १५३१८२ र जारी मिति २०६३ भदौ ६ गते राखेर नागरिकता कीर्ते गरेका थिए ।

अनुसन्धानका क्रममा नारायणले यसअघि आफूले सिन्धुपाल्चोक अदालतबाट नागरिकतासम्बन्धी कसुरमा सजाय पाएको उल्लेख गरेका छन् । सजाय पाएपनि आफूले दीपेन्द्र अधिकारी नामकै नागरिकताबाट बैंक तथा वित्तीय संस्थाहरूमा कारोबार गर्दै आएको उनको भनाई छ ।

नारायणले चापगाउँमै होटल पसल सञ्चालन गर्दै आएकी शर्मिला श्रेष्ठसँग ४० हजार रूपैयाँ ऋण लिएर दीपेन्द्र अधिकारी नामको चेक दिएको पनि खुलेको छ । नारायणलाई २०७७ चैत ८ गते काठमाडौं जिल्ला अदालतले ठगी कसुरमा २ महिना कैद र २० हजार रूपैयाँ जरिवाना गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर