डोटीको पद्म पब्लिक मुक्तिनारायण माविको असल अभ्यास- शैक्षिक गुणस्तर सुधार्न ‘विद्यार्थी लगबुक’ – Nepal Press

डोटीको पद्म पब्लिक मुक्तिनारायण माविको असल अभ्यास- शैक्षिक गुणस्तर सुधार्न ‘विद्यार्थी लगबुक’

डोटी । जिल्ला सदरमुकाम सिलगढीमा रहेको पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न दैनिक कक्षा सञ्चालन विवरण (विद्यार्थी लगबुक पद्धति) लागू गरेको छ ।

शिक्षकहरुलाई अध्ययन/अध्यापनमा जिम्मेवार बनाउने उद्देश्यले विद्यार्थी लगबुक पद्धति लागू गरिएको विद्यालयका प्रधानाध्यापक केशवराज ओझाले बताए ।

‘कक्षा कोठामा शिक्षकका क्रियाकलापहरु विद्यार्थी स्वयंले मूल्यांकन गरी सुधारका लागि सुझाव दिन सक्ने गरी यो व्यवस्था लागू गरिएको हो’, विद्यालयले गरेका असल अभ्यासहरु अन्य विद्यालय र सरोकारवाला निकायका प्रतिनिधिहरुसँग आदानप्रदान गर्न आयोजना गरिएको कार्यक्रममा प्रधानाध्यापक ओझाले भने, ‘यसबाट शिक्षकहरुलाई विद्यार्थीप्रति जिम्मेवार र उत्तरदायी बनाउनेछ ।’

यो पद्धति प्रभावकारी भएको पनि ओझाको दाबी छ ।

विद्यार्थी लगबुकमा शिक्षकले दैनिक पढाएको विषयवस्तु, कक्षामा उपस्थित विद्यार्थी संख्या, गृहकार्य दिएको नदिएको विवरण विद्यार्थीले भर्ने व्यवस्था छ । प्रत्येक कक्षामा विद्यार्थीहरुबाटै एक जना क्याप्टेन छानिएको छ र ती क्याप्टेनले नै लगबुक भर्ने गरेका छन् । प्रत्येक विषयको अलग अलग लगबुक राख्ने गरिएको ओझा बताउँछन् ।

उनले मासिक रुपमा पढाइ हुनुपर्ने अवधि र शिक्षकले पढाएको अवधि, पढाइ नभएको दिन पढाइ नहुनुको कारणसहित लगबुकमा उल्लेख हुने बताए ।

विद्यार्थी क्याप्टेनले भरेको लगबुक प्रधानाध्यापकलाई बुझाइन्छ । प्रधानाध्यापकले शिक्षकहरुको बैठकमा प्रत्येक शिक्षकको अवस्थाको विषय जानकारी गराउने गरेका छन् ।

त्यस्तै शिक्षक तथा कर्मचारीहरुको पनि लगबुक राखिएको ओझाले बताए । ‘शिक्षक वा कर्मचारीले विद्यालय समयमा कुनै कामले बाहिर जानु परेमा लगबुक भरेर जानुपर्छ’, प्रधानाध्यापक ओझाले थपे, ‘लगबुकमा काम र समय दुवै उल्लेख गरिएको हुन्छ र तोकिएको समयभित्र आइसक्नुपर्ने हुन्छ ।’

शिक्षक र कर्मचारीहरुका लागि ई-हाजिरीको व्यवस्था, विद्यार्थीहरुका लागि टाइम कार्ड, नियमित खेलकुद तथा अतिरिक्त क्रियाकलाप जस्ता असल अभ्यास विद्यालयले गरेको ओझाले बताए ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यालयले राम्रो नतिजा ल्याएको ओझाले बताए । ‘एसईईको परीक्षा दिएका १०९ जना विद्यार्थीमा दुई जनाले मात्रै २ जीपीएभन्दा कम ल्याएका छन्’, उनले भने, ‘२ जनाले ए प्लस ल्याएका छन् ।’

कार्यक्रमका सहभागीहरुले दिपायल सिलगढी नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि ध्यान नदिएको, विद्यालयको नियमित अनुगमन नगरेको, नगर शिक्षा नीति नबनाएको, स्थानीय पाठ्यक्रम तयार गर्न नसकेको गुनासो गरे । नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको समेत सहभागीहरुले आरोप लगाए ।

शिक्षाको गुणस्तर सुधार गर्न शिक्षकहरु सक्रिय हुनुपर्ने, व्यवस्थापन समितिका अध्यक्षले व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने, शिक्षकहरुका पेशागत संघसंस्थाहरुले गुणस्तरीय शिक्षामा बहस चलाउनुपर्ने, शिक्षकहरुले पनि आफ्नो कर्तव्य पूरा गर्नुपर्ने, प्रधानाध्यापकहरुले आफूलाई मालिक नसम्झी शिक्षकको सहकर्मी वा साथी सम्झनुपर्ने, संस्थागत र सामुदायिक विद्यालयले स्वच्छ प्रतिस्पर्धा गर्नुपर्ने कार्यक्रमका सहभागीहरुले सुझाएका थिए ।

दिपायल सिलगढी नगरपालिकाका मेयर बाजिसिंह खड्काले शिक्षा क्षेत्रमा थुप्रै समस्या रहेका र ती समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए ।

‘समस्या छ भन्दैमा यसबाट कोही पनि उम्किन नखोजी मिलेर सहकार्य गर्नुपर्‍यो’, खड्काले भने, ‘पद्म पब्लिक मुक्तिनारायण माविले पछिल्लो समयमा राम्रा अभ्यासहरु गरिरहेको छ, अन्य विद्यालयहरुले पनि यसको सिको गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *