एमाले सांसद पाठकले भने : सरकारको शैली गुरिल्ला ताल भयो – Nepal Press

एमाले सांसद पाठकले भने : सरकारको शैली गुरिल्ला ताल भयो

कैलाली । सुदूरपश्चिम प्रदेशको बजेट माथि छलफल गर्दै एमाले सांसद धर्म पाठकले प्रदेश सरकारको ताल गुरिल्ला शैली जस्तो भएको आरोप लगाएका छन् ।

कैलालीको चिसापानीदेखि खानिडाडासम्म गुरिल्ला मार्ग बनाउन सरकारले २० लाख बजेट विनियोजन गरेको भन्दै सरकारको गुरिल्ला शैली भएको बताएका हुन् ।

उनले भने, ‘चिसापानी देखि खानिडाडा सम्म गुरिल्ला मार्ग बनाउन सरकारले २० लाख बजेट विनियोजन गरेको रहेछ । सरकारको शैली गुरिल्ला ताल भयो , झ्याप्प झुप्प देखिन्छ कता हराउँछ हराउँछ सरकार पनि बेपत्ता भयो ।कता तीन महिना देखी प्रदेश सभामा ताल्चा लगाएको छ ।’

प्रदेशका जनताको मुद्दा सम्बोधन गर्ने बेलामा प्रदेश सभा बैठक आह्वान गर्न ढिला गरेको भन्दै पाठकले सरकारको आलोचना गरे । उनले बजेट माथिको छलफल पनि समयमा सुरु हुन नसकेको बताए ।

संघीय संरचनाको कुरा उठाएर संविधान माथि प्रहार भइरहेको अवस्थामा सरकारको बजेट अझै कमजोर आएको उनको भनाइ थियो ।

‘कृषिमा आत्म निर्भर प्रदेश बनाउने भन्यौँ तर, बजेट ४१ करोड मात्रै बजेट छ । भौतिक पूर्वाधार मन्त्रालयको बजेट करिब १३ अर्ब देखिन्छ । हाम्रो प्राथमिकता कता हो ?’ उनले प्रश्न गरे ।

प्राथमिकता क्षेत्र निर्धारण नगरेर नेता र मन्त्री विशेष बजेट आएको भन्दै उनले एमालेले यस्तो बजेट समर्थन गर्न नसक्ने बताए ।

असार १ गते प्रदेश सरकारले ल्याएको बजेट माथि प्रदेश सभामा छलफल जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर