मधेशमा बदलिँदो राजनीतिक कोर्स- उपेन्द्रलाई सीके राउतले टक्कर दिँदा यसरी खुम्चिए महन्थ – Nepal Press

मधेशमा बदलिँदो राजनीतिक कोर्स- उपेन्द्रलाई सीके राउतले टक्कर दिँदा यसरी खुम्चिए महन्थ

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन भएको एक वर्ष नहुँदै सबै दलहरु मिसन २०८४ को अभियानमा जुटिरहेका छन् । पछिल्लो समय नयाँ दल र स्वतन्त्रहरुले ठूला दलहरुलाई चुनौती दिइरहेको बेला मधेश केन्द्रित दलहरु सत्तास्वार्थमा लिप्त छन् ।

पछिल्लो परिदृश्यअनुसार जुन पार्टीको सरकार बने पनि मधेश केन्द्रित दलहरु भाग पाउन मरिहत्ते गरिरहेका हुन्छन् । जसकारण पछिल्लो समय मधेश केन्द्रित दलहरुको शक्ति ओरालो लागेको छ ।

मधेशबाट उदाएर राष्ट्रिय राजनीतिमा शक्तिशाली देखिएका उपेन्द्र यादवलाई पछिल्लो निर्वाचनले धक्का दिएको छ । उपेन्द्रलाई मधेशको राजनीतिमा टक्कर दिन डा. सीके राउत नेतृत्वको जनमत पार्टीको उदय भएको छ । जनमत पहिलो पटकमै प्रतिनिधिसभामा ६ सीट जितेर राष्ट्रिय पार्टी बन्न सफल भयो ।

मधेशी दलहरू आन्तरिक स्वार्थकै कारणले छिन्नभिन्न भइरहेको बेलामा मधेशमा किसानको नारा लिएर सीकेको उदय भयो । कांग्रेस-एमालेमात्रै नभएर मधेशको राजनीतिमा उपेन्द्रविरुद्ध टक्कर दिन अहिले सीके राउत कडा रूपमा प्रस्तुत भइरहेका छन् ।

मिसन २०८४ लाई केन्द्रमा राखेर पार्टीको संगठन विस्तारमा जनमत आक्रामक हुँदा उपेन्द्र रक्षात्मक स्थितिमा देखिएका छन् । जसपाबाट फुटेर अलग बनेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि अहिले कमजोर अवस्थामा छ ।

उपेन्द्र र सीकेको शक्तिको लडाइँमा महन्थ कमजोर देखिएका हुन् । उपेन्द्र कम्युनिष्ट पृष्ठभूमिका नेता हुन् । अहिले उपेन्द्र र सीके एउटै गठबन्धनमा भए पनि उनीहरुबीचको प्रतिपस्पर्धा कम छैन ।

मधेशमा सीकेको उदयपछि आफूलाई रक्षात्मक स्थितिमा कायम राख्न उपेन्द्र अहिले समाजवादी मोर्चामा सामेल भएका छन् । मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा पनि सामेल छ ।

गत निर्वाचनमा जसपाले एमालेसँग तालमेल गरेको थियो । अहिले जसपासँग १२ सीट छ । राष्ट्रिय राजनीतिमा उपेन्द्रकै चालले अहिले जसपाले उपराष्ट्रपति र मधेश प्रदेशको मुख्यमन्त्री हात पारेको छ ।

उपेन्द्र सत्ता गठबन्धनमा हुँदाहुँदै पनि पार्टी सेभ जोनमा राख्नैपर्ने बाध्यताको कारणले समाजवादी मोर्चामा अटाएका छन् । शक्ति केन्द्रमा रमाएका कारणले उपेन्द्रको जनाधार कमजोर बन्दै गएको विश्लेषण हुन थालेको छ ।

लोसपाको ४ सीटमात्रै छ । राष्ट्रिय दल पनि बन्न नसकेपछि लोसपा स्वतः शिथिल बन्दै गएको छ ।

यता, मधेशमा निर्णायक शक्तिमा उदाएको जनमतले पछिल्लो समय आक्रामक रुपमा संगठन विस्तारलाई अघि बढाएको छ । जनमतका अध्यक्ष सीके अहिले पार्टीमा १४ वटा संगठन रहेको बताए ।

मधेशमा आगामी निर्वाचनबाट पहिलो बन्ने लक्ष्यका साथ जनमतले अहिले संगठन निर्माणलाई तिव्रता दिएको उनको भनाइ छ । जनमतले अहिले मधेशमा मात्रै नभएर पहाडी र हिमाली जिल्लाहरुमा पनि संगठन विस्तारलाई अगाडि बढाएको अध्यक्ष सीकेले बताए ।

त्यसो त जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेत पार्टी विधान अधिवेशन सकेर पार्टीलाई सांगठनिक रुपमा अगाडि लानेबारे ठोस निर्णय गर्ने तयारी भइरहेको बताए ।

उनले भने, ‘हामी सम्भवतः एक वर्षभित्र महाधिवेशन गर्छौं । पार्टीलाई चुस्त रुपमा राष्ट्रिय राजनीतिमा कसरी अगाडि बढाउने भन्नेबारेमा लागिरहेका छौं । त्यसको सुरुवाती चरणमा छौं ।’

बस्नेतले आफ्नो पार्टीको बेस मधेशमा भए पनि उत्पीडित समुदाय र श्रमजीवी वर्गको पार्टी बनाउने उद्देश्यका साथ अघि बढेको बताए ।

उनले भने, ‘अब हामी क्षेत्रगत होइन । राष्ट्रिय राजनीतिमा नै अगाडि बढ्नेगरी अघि बढ्दैछौं । पहाड र हिमालमा पनि स्थापित गराउने भनेर सांगठनिक काम अगाडि बढाएका छौं ।’

जनमतसहित नयाँ पार्टीहरु आउने कुरा स्वाभाविक भएकाले आफूहरुलाई असर नगर्ने उनको भनाइ छ ।

नेता बस्नेतले थपे, पार्टीलाई कसरी अगाडि बढाएर जनता र देशको पक्षमा उभ्याउने भन्ने विषयमा हामी दत्तचित्त भएर लागेका छौं । हामीले कसैलाई प्रतिस्पर्धी देख्नुभन्दा पनि कसरी अगाडि बढ्ने भन्नेमा केन्द्रित छौं ।’

त्यसो त केन्द्रीय कमिटीलाई विस्तार गरेर पार्टीको कामलाई अगाडि बढाउने तयारी गरिरहेको लोसपा नेता केवश झाले बताए ।

उनले भने, ‘मधेशमा नयाँ पार्टीको संगठन नभएकाले उनीहरुले बनाउँदा धेरै चर्चा भएको हो । हाम्रो पार्टीको संगठन तल्लो तहसम्म छ । त्यसकारणले त्यो रुपमा हामी अगाडि बढ्न आवश्यक छैन । हामीले सबै पक्षलाई विचार गरेर काम अगाडि बढाएका छौं ।’

तर, उनले आफूहरु बाहिर चर्चा भए जस्तो नखुम्चिएको जिकिर गरे ।

पछिल्लो सयम मधेशमा उपेन्द्र र सीकेबीच सत्ता स्वार्थकै लडाइँ भइरहेको राजनीतिक विश्लेषक रोशन जनकपुरी बताउँछन् ।

उनले भने, ‘मधेश आन्दोलनको रापताप अहिले छैन । हिजोको दिनमा लोसपा र उपेन्द्रबीच टकराव हुन्थ्यो । अहिले सीके राउत प्रतिस्पर्धामा देखिनुभएको छ ।’

लोसपा अहिले आफ्नै कारणले खुम्चिँदै गएको विश्लेषण उनको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर