देउवालाई नेतृत्वबाट साइड लगाउने गगनको जमर्को- शेखरको साथ पाउलान् कि एक्लिएलान् ? – Nepal Press

देउवालाई नेतृत्वबाट साइड लगाउने गगनको जमर्को- शेखरको साथ पाउलान् कि एक्लिएलान् ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सदनमा उभिएर आफू अब धेरै समय प्रधानमन्त्री बन्ने विश्वास नभएको बताइरहँदा यो सरकार धेरै नटिक्ने छनक देखिएको छ । सत्ता गठबन्धनको शीर्ष तहमा प्रचण्डपछि १० सीट भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने भद्र सहमति छ ।

त्यो सहमति कार्यान्वयन हुने सम्भावना न्यून बन्दै गएको छ । प्रचण्डपछि गठबन्धनकै सरकार बन्ने स्थिति भए कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने निश्चित जस्तै छ । त्यसो त प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि गठबन्धन फुटाएर स्थिर सरकारका लागि देउवालाई नै प्रधानमन्त्री दिन तयार भएको चर्चा छ ।

देउवाले छैटौं पटक प्रधानमन्त्री बन्ने बाटो तय गर्दैगर्दा कांग्रेस महामन्त्री गगन थापा जसरी पनि रोक्ने प्रयासमा छन् । पार्टीमा नेतृत्व परिवर्तनको एजेण्डा अघि सारेका गगनले संसदीय दलको नेताबाट देउवालाई हटाउनेसम्मको तयारी गरेका छन् । यद्यपि, संसदीय गणितमा देउवाको अझै पकड छ ।

एउटै व्यक्ति ५-६ पटक प्रधानमन्त्री कहीं पनि हुने प्रचलन नरहेको भन्दै पार्टी बदल्न देउवालाई संसदीय दलको नेताबाट बिदा गराउने गगनको रणनीति छ । उनले सके आफैं नभए अर्को व्यक्तिलाई अघि सारेर भए पनि देउवालाई हटाउने सार्वजनिक रुपमै अभिव्यक्ति दिइसकेका छन् ।

शनिबार बुढानीलकण्ठ नगर समितिको अधिवेशनमा उनले भनेका थिए, ‘भूतपूर्व प्रधानमन्त्री भएको व्यक्ति कांग्रेसले पछि प्रधानमन्त्री पाएको बेलामा बन्न हुँदैन । त्यसैले संसदीय दलको नेता बदल्ने कुरामा म फेरि लाग्छु । सके आफू बन्छु । नसके अर्कोलाई बनाउँछु ।’

तर, गगनको पछिल्लो कदमप्रति इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइराला मौन छन् । गगनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलको बलियो साथ छ । तर, संसदीय गणितमा कमजोर छन् ।

गगन नेतृत्व परिवर्तनको एजेण्डा लिएर मतदाता तहमा फर्किंदैगर्दा शेखरले निर्वाचित सभापति भएकाले १५औं महाधिवेशन कुर्नुको विकल्प नभएको बताउँदै आइरहेका छन् ।

बैठकको एजेण्डा बन्ला ?

बुधबार कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । यो बैठकमा औपचारिक रुपमा नउठे पनि अनौपचारिक रुपमा नेतृत्व परिवर्तनको कुरा उठ्ने गगन निकट एक नेताको दाबी छ ।

‘सभापति र महामन्त्रीहरुले नै बैठकको एजेण्डा तय गर्ने हो । त्यसैले सभापतिले नै नेतृत्व परिवर्तनको कुरा बैठकको एजेण्डा राख्ने कुरा भएन । तर, यो वा त्यो माध्यमबाट कुनै न कुनै ढंगबाट नेतृत्व परिवर्तनको कुरा आउँछ नै’, ती नेताले भने ।

महामन्त्रीले नै राखेपछि पार्टीको एजेण्डाको रुपमा कहीं न कहींबाट स्थापित भएको उनको भनाइ छ ।

तर, देउवा निकट कांग्रेस सहमहामन्त्री महेन्द्र यादव अहिले कांग्रेसमा नेतृत्व परिवर्तन हुन नसक्ने दाबी गर्छन् ।

उनले भने, ‘विधानमा व्यवस्था छ । तर, अहिले कांग्रेसको मुद्दा त्यो होइन । अहिले व्यवस्थाविरुद्ध षड्यन्त्र भइरहेको छ । त्यसैले कांग्रेस एक ढिक्का भएर जानुपर्छ । महामन्त्री आफैं तेस्रो पोजिशनमा पार्टीको शक्तिशाली हुनुहुन्छ उहाँलाई काम गर्न कसले छेकेको छ ? किन चाहियो नेतृत्व परिवर्तन ?’

उनले महामन्त्री थापाले सबै कुरा बाहिर मिडियामा प्रचारबाजीको लागि मात्रै भनेको बताए । यादवले नेपाल प्रेससँग भने, ‘पार्टीको बैठकमा केही राख्नुभएको छैन । मिडिया खपतको कुरा हो । बैठकमा राख्नुहुन्न । उहाँले बाहिर भन्नुहुन्छ । पार्टीको बैठकमा म पनि हुन्छु, केही भन्नुभएको छैन । सभापतिको सामुन्ने केही राख्नुभएको छैन ।’

कांग्रेस नेता गुरुराज घिमिरे महामन्त्रीहरुले अहिलेको यथास्थितिबाट पार्टीलाई मुक्त गर्ने कार्यक्रम ल्याउनुपर्ने बताउँछन् । उनले भने, ‘उहाँहरुलाई पार्टीको निर्णय कार्यान्वयन गर्न चुनौती छ । त्यहीअनुसार अघि बढ्न दबाब पनि छ । कांग्रेस रुपान्तरणको प्रयास गर्न अब ढिला गर्नुहुन्न ।’

दलको नेता फेर्न संस्थापन पक्षको चुनौती

कांग्रेस संसदीय दलको नेतामा महामन्त्री थापा देउवासँग पराजित भएका थिए । कांग्रेसका ८९ सांसदमध्ये देउवाले ६४ र थापाले २५ मत पाएका थिए । तर, नेतृत्व परिवर्तनको कुरा जोडदार रुपमा पार्टीको तल्लो तहबाटै उठेको गगन निकट नेता अजयबाबु सिवाकोटीले बताए ।

उनले भने, ‘जिम्मेवारी हस्तान्तरण गर्नुप¥यो भन्ने कुरा पनि छ । जस्तो हिजो सुशील कोइराला सभापति हुँदा संसदीय दलको नेता रामचन्द्र पौडेल थिए । तर, त्यतिबेला पार्टीको संसदीय दलको चुनाव हारे पनि शेरबहादुर देउवाले संसदीय दलमा जे निर्णय आए पनि सहमतिको बन्दा शेरबहादुर देउवा र बहुमतको निर्णयमा रामचन्द्र पौडेल हुने गरी सहमति भएको थियो । त्यहीअनुसार दुईचार दिन सहमति कार्यान्वयनको प्रयास भएको थियो ।’

त्यही सहमति हुन नसकेपछि बहुमतीय प्रणालीमा जाँदा रामचन्द्र पौडेल १७ पटक चुनाव लडेको उनले स्मरण गरे ।

देउवाले भोलि बस्ने केन्द्रीय कमिटीको बैठकमा पार्टीबाट आगामी प्रधानमन्त्री आफू नबन्ने घोषणा गरेर अर्को व्यक्तिलाई तोक्नुपर्नेमा उनीहरुले दबाब बढाइरहेका छन् ।

गगन निकट ती नेता भन्छन्, ‘पार्टीभित्रको आन्तरिक परिस्थितिअनुसार देउवाले संसदीय दलको नेता म भए पनि अब छैटौं प्रधानमन्त्री म हुन्न, हाम्रोतर्फबाट यो हुन्छ भनेर अर्काे व्यक्तिलाई भन्ने कुरा उहाँबाट यही केन्द्रीय समितिको बैठकमा आउनुपर्छ । हामीले त्यो कुरा स्पष्ट राख्छौं । आजको आजै नेतृत्व परिवर्तन सम्भव नहुनसक्छ ।’

देउवाले नेतृत्व परिवर्तनको कदम चाल्न सके पार्टीको तल्लो तहसम्म होप बढ्नसक्ने उनीहरुको बुझाइ छ । तल्लो कमिटीसम्म पार्टीमा बढ्दै गइरहेको निराशालाई अन्त्य गर्न नेतृत्वले सामूहिक संकल्प गर्नुपर्ने नेताहरु बताउँछन् ।

यता, देउवा निकट सहमहामन्त्री यादवले सके नेतृत्व परिवर्तन गर्न चुनौती दिए । उनी भन्छन्, ‘संसदीय दलको नेता उहाँले हार्नुभयो । तर, देउवाजीले गुमेको सत्ता फिर्ता ल्याउनुभयो । राष्ट्रपति कांग्रेसको बनाउन सफल हुनुभयो । उहाँले धेरै राम्रो काम गर्नुभएको छ । किन हटाउनुपर्‍यो ? अहिले पार्टीमा उहाँलाई ८० प्रतिशत समर्थन छ । कसरी उहाँबाट चल्दैन ?’

कांग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेता फेर्नसक्ने व्यवस्था छ । देउवाले आफ्नो बहुमत देखाएर पेलेर अघि बढ्न खोजे पार्टीलाई नै घाटा हुने नेताहरुको विश्लेषण छ ।

शेखरप्रति गगनको असन्तुष्टि

त्यसो त इतर पक्षको नेतृत्व गरिरहेका कोइरालाको पछिल्लो मौनताप्रति गगन सन्तुष्ट छैनन् । उनले नेतृत्व परिवर्तनको एजेण्डा अघि सार्दा शेखर मौन छन् ।

देउवाले १५औं महाधिवेशनमा आफू सभापति नलड्ने घोषणा गरेपछि शेखरले रणनीतिक रुपमा आफूलाई नजिक्याएको कतिपयको टिप्पणी छ । गगनले नेतृत्व परिवर्तनको एजेण्डा बोक्दा उनी १५औं महाधिवेशन कुर्न तयार छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उनले दोस्रो वरियतामा आफ्नो स्थान सुरक्षित बनाउन देउवासँग नजिकिएको कतिपयको आरोप छ ।

गगन निकट ती नेता भन्छन्, ‘पछिल्ला घटनाक्रमले शेखर दाइ पार्टी सभापतिसँग नजिकिएको देखिएको छ । तर, उहाँले व्यक्तिगत रुपमा केही भन्नुभएको छैन ।’

देउवा दाइले शेखरलाई मात्रै नभएर पार्टीका सबै नेताहरुलाई एकताबद्ध बनाउने प्रयास गरिरहेको सहमहामन्त्री यादव बताउँछन् । उनले भने, ‘शेखर दाइमात्रै होइन, सबै मान्छे सभापतिको नजिक हुनुहुन्छ । पार्टीलाई एक ढिक्का बनाउने सभापतिको अभियान हो । उहाँले शेखरलाई पनि विश्वासमा लिनुभएको छ । उहाँ पनि विश्वासमा हुनुहुन्छ ।’

तर, शेखरले वरिष्ठ नेताको आकांक्षा राख्दैगर्दा पार्टी विधानले त्यो कल्पना नगरेको यादवको भनाइ छ । उनले भने, ‘विधानभन्दा बाहिर जान कोही सक्दैन । किन त विधान फेर्न सक्नुपर्‍यो !’

गगनको तयारी

गगन निकट नेता सिवाकोटीका अनुसार पार्टी रुपान्तरण अभियान लिएर महामन्त्री थापा भदौबाट देश दौडाहमा लाग्दैछन् ।

उनले भने, ‘तल्लो दलबाट पनि नेतृत्व परिवर्तनको दबाब आएपछि माथिल्लो तहमा पनि त्यहीअनुसार अघि बढ्दै हुनुहुन्छ । मतदाता तहबाट थप कुरा बझ्न देशव्यापी अभियान उहाँले भदौबाट थाल्दै हुनुहुन्छ । विभिन्न चरणमा यात्रा हुन्छ ।’

दशैं अगाडि ३३ दिनको मतदाता तहको कुरा सुन्ने यात्रा तय भएको उनले बताए । ‘दशैंपछि अर्को चरणको यात्रा हुन्छ । पार्टी र आफ्नो विषयलाई राखेर पार्टीलाई आशा जगाउनेगरी लाग्दै हुनुहुन्छ’, सिवाकोटीले भने ।


प्रतिक्रिया

3 thoughts on “देउवालाई नेतृत्वबाट साइड लगाउने गगनको जमर्को- शेखरको साथ पाउलान् कि एक्लिएलान् ?

  1. एकल प्रयाशले हुनेभए पार्टीमा नलागे वा पार्टी गठन नगरेको भएपनि भैहाल्यो।एकलकाठे व्यवहारले व्यक्तिलाई त फाइदा होला तर समग्र पार्टीलाई घाटाबाहेक केही हुने छैन्।पार्टीको पूनर्जीवन एकल ब्यक्तिको प्रयासबाट संभव छैन्हो अत केन्द्रीय समितिबाट सामुहिक निर्णय गरी सबै अंगहरुलाई चलायमान बनाउनु पर्छ।

  2. एकल प्रयाशले हुनेभए पार्टीमा नलागे वा पार्टी गठन नगरेको भएपनि भैहाल्यो।एकलकाठे व्यवहारले व्यक्तिलाई त फाइदा होला तर समग्र पार्टीलाई घाटाबाहेक केही हुने छैन्।पार्टीको पूनर्जीवन एकल ब्यक्तिको प्रयासबाट संभव छैन् अत केन्द्रीय समितिबाट सामुहिक निर्णय गरी सबै अंगहरुलाई चलायमान बनाउनु पर्छ।

  3. एकल प्रयाशले हुनेभए पार्टीमा नलागे वा पार्टी गठन नगरेको भएपनि भैहाल्यो।एकलकाठे अभियान एवम् व्यवहारले व्यक्तिलाई त फाइदा होला तर समग्र पार्टीलाई घाटाबाहेक केही हुने छैन्।पार्टीको पूनर्जीवन एकल ब्यक्तिको प्रयासबाट संभव छैन् अत केन्द्रीय समितिबाट सामुहिक निर्णय गरी सबै अंगहरुलाई चलायमान बनाउनु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर