इटहरीमा पाँच वर्षमुनिका बालबालिकालाई होस्टलमा राख्न निषेध – Nepal Press

इटहरीमा पाँच वर्षमुनिका बालबालिकालाई होस्टलमा राख्न निषेध

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा पाँच वर्षमुनिका बालबालिकालाई होस्टलमा राख्न निषेध गरिएको छ ।

इटहरीस्थित एक निजी विद्यालयकाे हाेस्टलमा आइतबार राति सुतेकै स्थानमा एक जना विद्यार्थीको मृत्यु भएको थियो । उक्त स्कुलको कक्षा ८ मा अध्ययनरत १४ वर्षे जेनिस श्रेष्ठको मृत्यु भएपछि उपमहानगरपालिकाले इटहरी क्षेत्रका निजी तथा सामुदायिक विद्यालयको छात्रावासको अनुगमनसमेत गरेको थियो । उक्त अनुगमनपछि स्कुलका होस्टलमा ५ वर्षमुनिका बालबालिका राख्न निषेध गरिएको हो ।

इटहरीका मेयर हेमकर्ण पौडेलको नेतृत्वमा मंगलबार पहिलो चरणमा होस्टलमै विद्यार्थीको मृत्यु भएको सेकेन्डरी माध्यमिक विद्यालयसहित पिसजोन आवासीय माध्यमिक विद्यालय, मोर्डन प्रिपेटरी माध्यमिक विद्यालय, ग्रिनपिस माध्यमिक विद्यालय र शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा सेकेन्डरी माध्यमिक विद्यालयको किचन र छात्रावास अनुगमन गरिएको थियो । जसमा किचन साँघुरो ठाउँमा पर्खाल र भित्तामा जालो लागेको अवस्था रहेको पाइएको मेयर पौडेलले बताए ।

उनले होस्टेल पनि आवश्यक मापदण्ड पूरा नगरिकन सञ्चालन गरेको बताए ।

मेयर पौडेलले मापदण्ड पूरा नगरिकन सञ्चालन गरिएको सेकेन्डरी माध्यमिक विद्यालयको होस्टेल रुममा उपमहानगरपालिकाले तालाबन्दी गरेको जानकारी दिए । उनका अनुसार सेकेन्डरी माध्यमिक विद्यालयलाई मापदण्ड पूरा भएपछि मात्रै होस्टेल सञ्चालन गर्न दिइनेछ ।

विद्यालयमा मृत्यु भएका जेनिस श्रेष्ठको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरी आफन्तले शव बुझेर मंगलबार दाहसंस्कार गरेका छन् ।

अनुगमनका क्रममा सुधार गर्नुपर्ने पक्ष उपमहानगरपालिकाको शिक्षा शाखासँग समन्वय गरेर अघि बढ्न भनिएको मेयर पौडेलले बताए ।

अनुगमनमा उपमहानगरकी उपमेयर संगीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेता, शिक्षा शाखाका फाल्गुनी काफ्लेलगायतका सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *