आचारसंहिता उल्लङ्घनमा निगरानी गर्न प्रेस काउन्सिलले बनायो विज्ञ समूह – Nepal Press

आचारसंहिता उल्लङ्घनमा निगरानी गर्न प्रेस काउन्सिलले बनायो विज्ञ समूह

काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यममा आचारसंहिता उल्लङ्घनका घटनाको प्रवृत्तिगत समस्या केलाउन विज्ञ समूह गठन गरी काम सुरु गरेको छ ।

वरिष्ठ पत्रकारहरु तारानाथ दाहाल, डा.महेन्द्र विष्ट र बबिता बस्नेत संलग्न समूहले काम थालेको काउन्सिलले जनाएको छ । दाहाल र विष्ट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् । बस्नेत सञ्चारिका समूहका पूर्वअध्यक्ष हुन् ।

छापा र प्रसारणसँगै डिजिटल सञ्चारमाध्यमबाट सार्वजनिक समाचारका विषयवस्तु, त्यसबारे जनगुनासो, उजुरी, आचारसंहिताको वर्तमान प्रावधान, काउन्सिलको नियमन, आगामी दिनमा चाल्नुपर्ने कदमसमेतबारे विज्ञ समूहले अध्ययन गर्नेछ ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार जगतलाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन विज्ञ समूहबाट आउने सुझाव महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

‘सञ्चारमाध्यमका आकार, प्रवृत्ति र प्रस्तुतिमा आएका फरकपन, प्रविधिको विकासले अवसरसँगै चुनौती पनि थपेको छ । जनमानसमा गुनासा पनि बढेका छन्’, विज्ञ समूहको मङ्गलबार भएको बैठकमा अध्यक्ष बस्नेतले भने, यसलाई सही ढङ्गले सम्बोधन गर्न र काउन्सिलको कामलाई थप व्यवस्थित गर्न यो नौलो अभ्यास थालनी गरिएको हो । यो एक श्रृङ्खलामात्र हो ।’

एक साताअघि बसेको काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले १० दिनमा कार्य सम्पादन गर्ने गरी विज्ञ समूह गठन गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष बस्नेतको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष एवं काउन्सिलका बोर्ड सदस्य विपुल पोखरेल, नेपाल बार एसोसियसनका महासचिव अन्जिता खनाल, उपसमितिमा सदस्य रहेका काउन्सिलका बोर्ड सदस्यद्वय दीपक पाण्डे र ठाकुरप्रसाद बेलबासे सहभागी बैठकले विज्ञ समूह गठन गरी जिम्मेवारी दिने निर्णय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *