सर्पले डसेर कपिलवस्तुमा २ दिनमा ४ जनाको मृत्यु – Nepal Press

सर्पले डसेर कपिलवस्तुमा २ दिनमा ४ जनाको मृत्यु

रुपन्देही । कपिलवस्तुमा सर्पले डसेर दुई दिनमा ४ जनाको मृत्यु भएको छ । विषालु सर्पले डस्दा दुई दाजुभाइसहित ४ जनाको सोमबार र मंगलबार मृत्यु भएको हो ।

मंगलबार बिहान बुद्धभूमि नगरपालिका- १ कपासीका ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल दाजुभाइको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष तेजबहादुर बस्नेतका अनुसार हजुरआमासँग भुईंमा सुतेका उनीहरुलाई सोमबार राति सर्पले डसेको थियो । राति अचेत अवस्थामा पुगेपछि परिवारले उपचारका लागि गोरुसिंगेस्थित बुद्ध पोलिक्लिनिक लगेका थिए । पोलिक्लिनिकले बुटवल रिफर गरेको थियो ।

बुटवल लैजाँदा एक जनाको बाटोमै र अर्कोको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुँदाहुँदै मृत्यु भएको बताइएको छ । दाजुभाइ गोरुसिंगेस्थित पारिजात बोडिङ स्कुलमा अध्ययनरत थिए ।

त्यस्तै सोमबार महाराजगञ्ज नगरपालिकाकी ३१ वर्षीया अनिता यादवलाई गोमन सर्पले डस्दा मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका- १० हरदासडिहवाकी १४ वर्षीया ममता चमारको पनि विषालु सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुवै जनालाई गोरुसिंगे सर्पदंश उपचार केन्द्रमा लगे पनि ढिलो भएका कारण मृत्यु भएको हो । उनीहरुलाई सोमबार दिउँसो र साँझ सर्पले डसेको जनाइएको छ ।

गोरुसिंगेस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले सर्पले डसेको शंका लागेमा समयमै उपचार गराउन सचेत हुनुपर्ने बताए ।

उपचारमा ढिला हुँदा सोमबार र मंगलबार चार जनाले ज्यान गुमाएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर