सचिव बढुवाका लागि बस्नेतकाे एकल सिफारिस – Nepal Press

सचिव बढुवाका लागि बस्नेतकाे एकल सिफारिस

काठमाडौं । रिक्त एक सचिवमा बढुवाका लागि सहसचिव लक्ष्मीकुमारी बस्नेत सिफारिस भएका छन् ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ बस्नेतको ज्येष्ठताका आधारमा एकल नाम सिफारिस गरेको हो ।

बस्नेत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा महिला सशक्तीकरण महाशाखा प्रमुखको जिम्मेवारीमा रहेकी छन् ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौं पटक ज्येष्ठताबाट एक जनामात्र सहसचिवको नाम सिफारिस गर्ने व्यवस्थाअनुसार सबैभन्दा ज्येष्ठ सहसचिव बस्नेतको नाम सिफारिस भएको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले बस्नेतलाई सचिवमा बढुवा गर्नेछ । मन्त्रिपरिषद्को बैठक सम्भवतः आजै बस्ने बुझिएको छ । मन्त्रिपरिषद् बैठकले बस्नेतको बढुवासँगै दुई सचिवको पदस्थापन र केही सचिवको सरुवा पनि गर्ने बुझिएको छ ।

बस्नेत बढुवासँगै गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन हुने बुझिएको छ । त्यहाँका प्रमुख सचिव रविलाल पन्थ २० महिनापछि संघीय राजधानीको कुनै निकायमा सरुवा हुने अनुमान गरिएको छ ।

यसैगरी अघिल्लो मन्त्रिपरिषद्ले सचिवमा बढुवा गरेका घनश्याम उपाध्याय बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन हुने र त्यहाँका प्रमुख सचिव मुकुन्द निरौला पनि १७ महिनापछि संघीय राजधानीको कुनै निकायमा सरुवा हुने बुझिएको छ ।

सचिव बढुवासँगै पहिलो पदस्थापनका रूपमा प्रदेश सचिव खटाइँदै आएकोमा पछिल्लो समय पन्थ र निरौला लामो समय प्रदेशमा बसेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर