डोटीमा संस्थागत सुत्केरी गराउने संख्या घट्दो – Nepal Press

डोटीमा संस्थागत सुत्केरी गराउने संख्या घट्दो

डोटी । जिल्लामा विगत तीन वर्षयता संस्थामा गएर सुत्केरी (संस्थागत सुत्केरी) गराउने महिलाहरुको संख्या घटेको देखिएको छ ।

स्वास्थ्य कार्यालय डोटीको विवरणअनुसार आर्थिक वर्ष २०७७/०७८ मा जिल्लामा संस्थागत सुत्केरी हुने महिलाको संख्या ९० प्रतिशत थियो । आर्थिक वर्ष २०७८/०७९ मा यो घटेर ७६ प्रतिशतमा पुग्यो । चालू आर्थिक वर्ष २०७९/०८० मा यो अझै घटेको छ । चालू आर्थिक वर्षको जेठसम्मको तथ्याङ्कअनुसार ५२ प्रतिशत महिलाको मात्रै संस्थागत सुत्केरी भएको छ ।

जिल्लाका ९ पालिकामध्ये संस्थागत सुत्केरी हुनेको संख्या शिखर नगरपालिकामा सबैभन्दा कम देखिन्छ । चालू आर्थिक वर्षको जेठसम्म यस नगरपालिकामा ३० प्रतिशत महिलामात्रै संस्थागत सुत्केरी भएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा यस पालिकामा ६६ प्रतिशत महिलाले संस्थागत सुत्केरी गराएका थिए । आर्थिक वर्ष २०७८/०७९ मा ४९ प्रतिशतमात्रैले संस्थागत सुत्केरी गराए ।

दिपायल सिलगढी नगरपालिकामा लक्ष्यभन्दा बढीले संस्थागत सुत्केरी गराएको तथ्याङ्कले देखाउँछ । यस पालिकामा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म १२३ प्रतिशतले संस्थागत सुत्केरी गराएका पनि गत वर्षको तुलनामा घटेको देखिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा १४७ प्रतिशत र २०७८/०७९ मा १४५ प्रतिशतले दिपायल सिलगढी नगरपालिकामा संस्थागत सुत्केरी गराएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

चालू आर्थिक वर्षमा सायल गाउँपालिकामा लक्ष्यको ३० प्रतिशतले मात्रै संस्थागत सुत्केरी गराएका छन् । यस गाउँपालिकामा संस्थागत सुत्केरी गराउनेको संख्या २०७७/०७८ मा ८४ प्रतिशत र २०७८/०७९ मा ५३ प्रतिशत रहेको थियो ।

जोरायल गाउँपालिकामा २०७७/०७८ मा संस्थागत सुत्केरी गराउनेको संख्या ५८ रहेकोमा २०७८/०७९ मा बढेर ७३ प्रतिशत पुगेको थियो । चालू आर्थिक वर्षको जेठसम्म ६३ प्रतिशत पुगेको छ ।

बडीकेदार गाउँपालिकामा पनि तीन वर्षयता संस्थागत सुत्केरी हुनेको संख्या ओरालोतर्फ छ । यस पालिकामा २०७७/०७८ मा ४४ प्रतिशत र चालू आर्थिक वर्षमा ३२ प्रतिशतमात्रै पुगेको छ ।

२०७७/०७८ मा संस्थागत सुत्केरी गराउने महिलाहरु लक्ष्यको ९४ प्रतिशत पुगेकोमा चालू आर्थिक वर्षमा ३६ प्रतिशतमात्रै पुगेको छ । गत आर्थिक वर्षमा यस पालिकाको संस्थागत सुत्केरी गराउने ८८ प्रतिशत थिए । केआई सिंह गाउँपालिकामा चालू आर्थिक वर्षमा संस्थागत सुत्केरी गराउने ३७ प्रतिशतमात्रै रहेको तथ्याङ्कले देखाउँछ । यस पालिकामा २०७७/०७८ मा ८९ प्रतिशत र २०७८/०७९ मा ६६ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा आदर्श गाउँपालिकामा ११८ प्रतिशत महिलाहरुले संस्थागत सुत्केरी गरेको देखिएको छ । तर, चालू आर्थिक वर्षमा लक्ष्यको ८३ प्रतिशतमात्रै संस्थागत सुत्केरी भएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा संस्थागत सुत्केरी ८३ प्रतिशत रहेको थियो ।

पूर्वीचौकी गाउँपालिकामा चालू आर्थिक वर्षमा ४६ प्रतिशत संस्थागत सुत्केरी भएका छन् । यस पालिकामा २०७७/०७८ मा ७० प्रतिशत र २०७८/७९ मा ५५ प्रतिशत संस्थागत सुत्केरी भएको तथ्याङ्कमा उल्लेख छ ।

स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासी संस्थागत सुत्केरीको संख्या घट्नुमा विविध कारण रहेको बताउँछन् ।

‘जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ । तर, हाम्रो लक्ष्य बढी छ’, उनले भने, ‘यस कारणले स्वास्थ्यका अधिकांश सूचकहरु पूरा हुन कठिनाइ भएको छ ।’

उनले जनसंख्या वृद्धिदर ऋणात्मक हुुनुले सुत्केरी हुनेको संख्या पनि कम भएको बताए ।

सुरक्षित गर्भपतन सेवा विस्तार हुनुले पनि संस्थागत सुत्केरी हुने महिलाहरुको संख्यामा कमी आएको मलासीको भनाइ छ । उनी भन्छन्, ‘सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दो क्रममा छ । यसले पनि प्रभाव पार्छ ।’

उनले अन्य जिल्लाका स्वास्थ्य संस्थामा गएर पनि महिलाहरुले संस्थागत सुत्केरी सेवा लिने भएकाले पनि यो संख्या कम देखिएको वताए । यो तथ्याङ्क जेठ मसान्तसम्मको मात्रै भएका कारण यस महिनाको तथ्याङ्क थपिँदा केही बढ्ने मलासीले वताए ।

उनले यस विषयमा आगामी आर्थिक वर्षदेखि ठोस तथ्याङ्क आउने सबै सुत्केरी महिलाहरुको विवरण संकलन गर्ने सोच बनाएकोसमेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर