सुदूरपश्चिमका मुख्यमन्त्री र माओवादी संसदीय दलका नेताबीच वार्ता, बजेटमा ठोस सहमति भएन – Nepal Press

सुदूरपश्चिमका मुख्यमन्त्री र माओवादी संसदीय दलका नेताबीच वार्ता, बजेटमा ठोस सहमति भएन

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र माओवादी संसदीय दलका नेता खगराज भट्टबीच वार्ता भएको छ ।

मुख्यमन्त्रीको सरकारी निवासमा दुबै बिच बजेटका विषयमा छलफल र वार्ता भएको हो । बिहान १० बजे दुवै बिच करिब ३० मिनेट संवाद भएको थियो ।

असार १ गते प्रदेश सरकारले ल्याएको बजेट प्रति असन्तुष्टि जनाउँदै सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले बजेटको विपक्षमा उभिने निर्णय गरेको छ ।

मुख्यमन्त्री शाहले दलका नेता भट्टलाई बजेट पारितका लागि वातावरण सृजना गर्न आग्रह गरेका थिए । भट्टले भने बजेटमा व्याप्त विरोध रहेको हुँदा त्यसलाई सम्बोधन गर्न मुख्यमन्त्री शाहलाई आग्रह गरे ।

उनीहरू दुवै बिच संवाद भएपनि ठोस कुनै निष्कर्षमा भने वार्ता पुग्न नसकेको संसदीय दलका नेता भट्टले जानकारी दिए ।

हिजो साँझ सत्ता गठबन्धनका तीन दलसँग मुख्यमन्त्रीले बजेट करेक्सन गर्ने विषयमा सहमति भएको थियो । मुख्यमन्त्रीले अहिले असन्तुलित बजेट सन्तुलन गर्ने तयारी गरिरहेका छन् ।

आजको भेटमा पनि माओवादी संसदीय दलका नेता भट्टले बजेट लोकप्रिय बनाउन आग्रह गरेका थिए । उनले सांसदहरूको भूमिका सरकारले खुम्चाएको भन्दै सांसदलाई जिम्मेवार बनाउने गरी बजेट करेक्सन गर्न मुख्यमन्त्रीलाई सुझाव दिएका थिए । मुख्यमन्त्रीले आएको सुझावहरूलाई कार्यान्वयन गर्ने बताए ।

२६ दिन सम्म पनि बजेट माथि छलफल सुरु हुन सकेको छैन । हिजो प्रदेश सभा बैठक बसेर अनिश्चितकालका लागि स्थगित गरिएपछि बजेट माथिको छलफल थप अन्योलमा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर