जनता र हामीबीच कहीं न कहीं ग्याप छ, कार्यशैली बदलेर अघि बढ्नेछौं: पद्मा अर्याल – Nepal Press
नेपाल टक

जनता र हामीबीच कहीं न कहीं ग्याप छ, कार्यशैली बदलेर अघि बढ्नेछौं: पद्मा अर्याल

रुपन्देही । लुम्बिनी प्रदेश नेकपा एमालेको बलियो आधार क्षेत्र हो । २६ संघीय तथा ५२ वटा प्रदेशसभा क्षेत्र रहेको प्रदेशमा मंसिर ४ को निर्वाचनमा गठबन्धनविरुद्ध एमाले एक्लै पहिलो पार्टी बनेको थियो ।

पार्टीको बलियो आधार इलाकामा केन्द्रीय कमिटी र सचिवालय बैठकले जिम्मेवारी तोकेसँगै जेठ २९ बाट अन्तरप्रदेशबाट नेतृत्व सम्हाल्न आएकी छन् एमाले सचिव पद्मा अर्याल । लामो समय गण्डकी प्रदेशमा काम गरेकी पद्मा अर्यालसँग लुम्बिनीमा एमालेको रणनीति, पार्टीका आगामी योजनाका विषयमा नेपालप्रेसकर्मी रामप्रसाद आचार्यले गरेको कुराकानी:

– नयाँ जिम्मेवारीमा आउनुभयो । कसरी काम थाल्नुभएको छ ?

जिम्मेवारी पाएपछि प्रदेशमा आएको एक महिना पनि पुगेको छैन । यो बीचमा प्रदेश र १२ वटै जिल्ला कमिटीको बैठक सम्पन्न भएका छन् । सबै जिल्ला कमिटीको बैठक सकेर योजना बनाउन अन्य प्रदेशभन्दा पहिले सकियो भन्ने लागेको छ । १८ दिनमै सक्ने कार्यतालिका बनाएको थिएँ, बाढी पहिरोबाट केही ढिला भयो । पहिलो चरणमा प्रदेश कमिटी बैठकसहित जिल्ला कमिटी बैठक, जनसंगठन र प्रचारसँग सम्बन्धित कामको योजना र समाधानका उपायसहित वडा तहसम्म जिम्मेवारी तोक्ने काम भएका छन् ।

– अहिले जिल्ला दौडाहाको मुख्य उद्देश्य के हो ?

समस्याको ठोस पहिचानसहित समाधान केन्द्रित छलफल र योजना बनाएर जिल्लाका सबै पालिका र वडा तहसम्म पुग्ने कार्ययोजना बनाउने हो ।

– के थिए त मुख्य एजेण्डा ?

हामीले असार मसान्तसम्म सदस्यता नवीकरण अपडेट गर्नुपर्नेछ । केही नयाँ सदस्यलाई दिनुपर्नेछ । यसैगरी वार्षिक कार्ययोजना, केन्द्रीय नीति तथा योजना कार्यान्वयनका लागि आधार तय गर्ने र जिल्लामा रहेका असन्तुष्टिहरु समाधानको पहल खोज्ने मुख्य एजेण्डा थिए । अहिले तत्काल गर्ने योजना र पछि बन्ने योजना बनेका छन् ।

निर्वाचनका आन्तरिक विवाद केही मिसन ग्रासरुटमा पनि मिलेका थिए र अब पनि क्रमशः मिल्दैछन् । यति ठूलो पार्टी छ, सबैलाई भनेको ठाउँमा जिम्मेवारी पुग्दैन, सधैं मेहनत गरेको मान्छेलाई चाहना हुन्छ, भनेको जस्तो काम नभएको गुनासो हुनसक्छ । नयाँ शिराबाट हामीले अध्ययन सुरु गरेका छौं ।

– जिल्लास्तरमा खास समस्या के पाउनुभयो ?

पार्टी एकतापछि विभिन्न जिल्लामा संगठन चलायमान हुन सकेका थिएनन् । यो सबैलाई अवगत छ । लामो समय काम गरेका व्यक्तिहरुले पनि जिम्मेवारी पाउन नसकेको, स्थानीय तथा संघ र प्रदेशको निर्वाचनको समयमा भएका केही असन्तुष्टि र नयाँ पार्टीप्रतिको भ्रमबारे एमालेका कार्यकर्ता र शुभचिन्तकलाई प्रस्ट पार्ने विषय नै मुख्य हुन् । निर्वाचनका आन्तरिक विवाद केही मिसन ग्रासरुटमा पनि मिलेका थिए र अब पनि क्रमशः मिल्दैछन् ।

यति ठूलो पार्टी छ, सबैलाई भनेको ठाउँमा जिम्मेवारी पुग्दैन, सधैं मेहनत गरेको मान्छेलाई चाहना हुन्छ, भनेको जस्तो काम नभएको गुनासो हुनसक्छ । नयाँ शिराबाट हामीले अध्ययन सुरु गरेका छौं । जिल्लाबाट आएका सुझावअनुसार योजना बनाउँछौं । एमाले नेतृत्वको सरकारले राष्ट्र र जनताको पक्षमा गरेको राम्रा कामसमेत तलसम्म पुर्‍याउन नसकेको र सामाजिक सञ्जालबाट फैलाइएको अफवाहलाई चिर्ने काम पनि हुन नसकेकाले अबको पार्टी काम त्यस दिशातर्फ केन्द्रित हुनेछ ।

– पार्टीको संगठनात्मक अवस्था कमजोर भएको हो र ?

पार्टी एकीकरणपछि धेरै समस्या थियो भन्ने विषय धेरैलाई थाहा छ । त्यसलाई चलायमान बनाउन नै हामीले मिसन ग्रासरुट थालेका हाैं । धेरै विषय त्यहाँबाट नि समाधान भएका हुन् । अहिले पनि केही विषय छलफलमा आएका छन् । क्रमशः सुधार हुन्छ । सबै जिल्लामा पुग्दा ठूला विवाद कतै भेटिएनन् ।

– कसरी अघि बढ्छन् अब पार्टीका संरचना ?

प्रदेश र जिल्लाका बैठक सकिएका छन् । पालिकास्तरमा पनि आधाभन्दा बढी बैठक सकिएका छन्, प्रचार र जनसंगठनको बैठक पनि सकिएको छ । योजना निर्माणको चरण सकिएको छ, कार्यान्वयनमा दृढताका साथ लाग्ने हो । यो बीचमा नवीकरण, नयाँ सदस्यता प्रदानपछि प्रदेश, जिल्ला र पालिकाका अधिवेशन क्रमशः हुने हो । यही योजनाअनुसार काम अगाडि बढ्नेछ । सबै जिल्लामा मिशन ग्रासरुटले औंल्याएको समस्या समाधान गर्नेतिर पनि ध्यान दिइएको छ ।

योजना निर्माणको चरण सकिएको छ, कार्यान्वयनमा दृढताका साथ लाग्ने हो । यो बीचमा नवीकरण, नयाँ सदस्यता प्रदानपछि प्रदेश, जिल्ला र पालिकाका अधिवेशन क्रमशः हुने हो । यही योजनाअनुसार काम अगाडि बढ्नेछ ।

– नयाँ पार्टीलाई एमालेका नेता कार्यकर्ताले बढी रोजेको चर्चा छ । यो विषयलाई कसरी बुझ्नुभयो ?

नेतृत्वमा केही समस्या छैन, कार्यकर्ता तहमा पनि त्यो प्रभाव पुगेको छैन । जसरी बाहिर चर्चा गरिएको छ, त्यो देखिँदैन सबै जिल्लाको रिपोर्टिङमा । नयाँ माहोलमा केही व्यक्तिहरु जानु स्वाभाविक हो, फेरि यसरी जाने बीचमै रहेकाहरु धेरै हुन्छन् । एमालेभित्रका बलिया कार्यकर्ताको चिन्ता पार्टीलाई चलायमान बनाउनुपर्‍यो भन्ने हुनु स्वाभाविक हो । सबै जिल्लाको नेतृत्वसँग मागेको तथ्यांकमा नयाँ पार्टीमा जाने हाम्रोभन्दा अन्य पार्टीका धेरै छन् । नयाँ पार्टीको लहर हाम्रोबाट कम छ ।

– एमालेका कति जति गएको देख्नुभयो ?

विशाल पार्टीमा सामान्य असन्तुष्टि रहन्छ । सबैलाई उम्मेदवारी पुग्दैन र सबैले चाहे जस्तो सम्भव पनि छैन । कार्यकर्ता लेभलमा चिन्ता बढी छ । केही जिल्लामा सामान्य विषय आए । तर, ती सबै समाधानउन्मुख छन् । कपिलवस्तु सुरु भएर गुल्मीमा पुगेर पहिलो चरणको काम सकियो । पार्टी एकीकरणपछि ठूलो ग्याप थियो, पछि चुनाव आयो, चुनावमा घात–अन्तरघातका विषयमा पनि जिल्लास्तरमा समाधानकै क्रममा रहेको पाएँ ।

– अबका योजना के हुन् ?

आधारभूत तहमा रहेका कार्यकर्तादेखि नेतासम्मको अवस्थाबारे जानकारीसहित हालसम्म काममा देखिएको त्रुटि पहिचान भएको छ । सिंगो प्रदेशमा नेकपा एमालेलाई एकल बहुमतको शक्ति बनाउने गरी काम गर्ने अठोट सबै जिल्लाबाट पाएको छु । पहिलो चरणमा एमालेका नेतादेखि कार्यकर्तासम्मको मनोबल उकासेर काममा दृढताका साथ खटिने गरी योजना बनाइएको छ । समस्याका थप पहिचान पनि भइरहेका छन् ।

जनता र हामीबीच कहीं न कहीं तालमेल मिलेको देखिएन भन्ने साझा निष्कर्षका साथ अब कार्यशैली बदलेर लुम्बिनीका सबै जिल्ला र पालिकामा जनताको पहिलो रोजाइ एमाले बनाउने संकल्प लिएका छौं । एमाले नेतृत्वको सरकारले राष्ट्र र जनताको पक्षमा गरेको राम्रा कामसमेत तलसम्म पुर्‍याउन नसकेको र सामाजिक सञ्जालबाट फैलाइएको अफवाहलाई चिर्ने काम पनि हुन नसकेको भन्दै अबको पार्टी काम त्यस दिशातर्फ केन्द्रित हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर