भारतीय जानकारको दाबी- चीन दक्षिण एसियाको आवासीय शक्ति – Nepal Press

भारतीय जानकारको दाबी- चीन दक्षिण एसियाको आवासीय शक्ति

काठमाडौं । भारतका भूराजनीतिक जानकार डाक्टर कन्स्टान्टिनो जेभियरले चीन दक्षिण एसियाको आवासीय शक्ति भएको दाबी गरेका छन् ।

काठमाडौंमा आज भएको चीनको दक्षिण एसियाली प्रभावको बारेमा लेखिएका अनुसन्धानात्मक लेखहरुको बारेमा भएको छलफल कार्यक्रममा जेभियरले यस्तो दाबी गरेका हुन् ।

नेपाल, भारत, बंगलादेश र श्रीलंकाका लेखकहरुको अनुसन्धानात्मक लेखहरुको संकलनको बारेमा बानियाँटारको इस्न्टिट्युट फर इन्टिग्रेटेड डिभेलपमेन्टको सभाहलमा भएको कार्यक्रममा बोल्दै जेभियरले भने, ‘चीन दक्षिण एसियामा नयाँ होइन । जनवादी गणतन्त्र चीन तुलनात्मक रुपमा नयाँ एक्टर होला । तर, चीन धेरै पुरानो हो । जसका सम्बन्धहरु पुनर्जागृत, पुनःस्थापित र पुनः परिभाषित भएका छन् । चीन दक्षिण एसियाको आवासीय क्षेत्रीय शक्ति हो ।’

अबका दशकमा चीन झनै चर्चा र प्रभावको विषय बन्ने जेभियरले बताए । दक्षिण एसियामा चीनको प्रभावको बारेमा युरोप, अमेरिकी र अरु बाहिरियाको नभएर सम्बन्धित देशकै धारणा आवश्यक भएको भन्दै उनले त्यसैअनुरुप सेन्टर फर सोसल एण्ड इकोनोमिक प्रोग्रेसले अनुसन्धानात्मक लेखहरु प्रकाशन गरेको बताए ।

कार्यक्रममा प्रमुख वक्ताको रुपमा रहेका संघीय सांसद डा. स्वर्णिम वाग्लेले चीनले दिने दुई पक्षीय ऋण कतिपय अवस्थामा विश्व बैंकको भन्दा धेरै भएको बताए । चीनको आर्थिक सहयोग नेपाल जस्ता दक्षिण एसियाली देशहरुको विकासे आवश्यकता पूरा गर्न महत्वपूर्ण भएको उनको भनाइ छ ।

तर, त्यस्ता सहायताहरु आर्थिक रुपमा लगानी उठ्न लायक हुनुपर्ने वाग्लेले बताए ।

नेपालबाट अनुसन्धानात्मक लेख लेख्ने लेखकहरु अखिलेश उपाध्याय, एनेका रेबिका राजभण्डारी, अमिसराज मुल्मीलगायतले पनि चीनको प्रभाव नेपालमा बढेको बताए ।

उपाध्यायले चीनको प्रभाव नेपालसँग शैक्षिक अध्ययन, छात्रवृत्तिलगायतका क्षेत्रबाट बढेको बताए । भारतबाहेक सबैभन्दा बढी नेपाली विद्यार्थीहरु अस्टे«लियामा पुगे पनि चीनमा पुग्नेहरुको संख्या पनि बढेर गएको उनले बताए ।

चीनको कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्ट पार्टीहरुको सम्बन्धबारेमा बोल्दै राजभण्डारीले चीनसँग औपचारिक सम्बन्ध स्थापना हुनु अगाडि नै कम्युनिष्ट पार्टीको स्तरमा नेपालबाट सम्बन्ध बनेको बताइन् ।

यस्तै मुल्मीले नेपालमा चीनले आफ्नो सकारात्मक छाप छोड्न धेरै प्रयत्न गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *