संसदमा प्रधानमन्त्रीको प्रष्टीकरणः दिवंगत छोरीलाई तानेर ‘सेन्टिमेन्ट’ मा खेल्ने प्रयास – Nepal Press

संसदमा प्रधानमन्त्रीको प्रष्टीकरणः दिवंगत छोरीलाई तानेर ‘सेन्टिमेन्ट’ मा खेल्ने प्रयास

प्रधानमन्त्रीको जवाफमा तर्क कम, भावुकताको बाढी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादित अभिव्यक्तिलाई लिएर आज संसदमा प्रष्टीकरण दिए । उनले आफ्नो अभिव्यक्तिको ‘भाषा’ नमिलेको स्वीकारोक्तिसहित दुःखमनाउ समेत गरेका छन् ।

सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा बोलेका शब्दहरुले प्रधानमन्त्रीलाई विवादमा पारेको थियो । उनले निर्लज्ज रुपमा ‘आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक-पटक दिल्ली धाएको’ खुलासा गरेका थिए । देशकै गरिमा र स्वाभीमानमा आँच आउने उनको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरुले सीधै प्रधानमन्त्रीको राजीनामा माग्दै आएका थिए ।

खासमा प्रधानमन्त्रीको उक्त भाषण कसैले रफ्फु भरिदिन सक्ने खालको नै थिएन । न प्रधानमन्त्रीले आफ्नो सो भाषणको बचाउमा कुनै ठोस तर्क नै गर्न सक्थे । उनले बोलेका शब्दहरु स्पष्ट र रेकर्डेड थिए । रक्षात्मक बनेर उभिएका प्रचण्डले अप्रासंगिक रुपमा सरदार प्रितम सिंहसँगको आफ्नो सम्बन्धको बेलिविस्तार लगाए । क्यान्सर भएकी छोरी ज्ञानु भारतमा उपचार गर्न जाँदा सरदार सिंहले आश्रय दिएको भन्दै प्रचण्डले सिंहसँग पारिवारिक सम्वन्ध रहेको उल्लेख गरे ।

आफ्नो आपत्तिजनक अभिव्यक्तिलाई छोरीको रोगसँग जोडेर प्रचण्डले कथालाई ‘इमोसनल ट्वीस्ट’ दिने प्रयास गरे । आफू भावुक स्वभावको व्यक्ति भएको र यही कमजोरीले अन्तरमनको आवाज नै मुखबाट निस्कने गरेको उनको भनाइ थियो । उनको यस्तो स्वीकारोक्तिले पनि प्रस्ट हुन्छ कि सरदार सिंहको बारेमा बोलेको कुरा उनको ‘अन्तरमनको आवाज’ थियो । अर्थात् सिंह प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली धाएकै हुन् ।

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिलाई लिएर प्रतिपक्षीहरुले राजीनामा मागेकोमा असन्तुष्टि प्रकट गरे । उनले प्रतिपक्षी दलहरुको हर्कत संसदीय अभ्यास र मान्यताविपरीत रहेको बताए ।

‘मैले आफ्नो कमजोरी सहज र स्पष्ट शब्दमा स्वीकार्ने गरेको छु’, प्रचण्डले भने, ‘तर मेरो राजीनामा मागेर ३ दिनसम्म संसद अवरुद्ध गर्नु जायज हो ? प्रतिपक्षले माग्नासाथै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो ? स्पष्टीकरणको मौका पनि दिन नहुने हो ?’, उनको यो प्रश्न भने केही हदसम्म जायज हो ।

त्यसभन्दा बाँकी चाहिँ प्रधानमन्त्रीले भावुक कुराहरुमात्रै गरे । आफूले प्रधानमन्त्रीका रुपमा नभएर ज्ञानुको बुवा भएर त्यो कुरा बोलेको उनले बताए ।

प्रधानमन्त्रीको जवाफका केही अंश

म अलिकति भावनात्मक छु नै । यही त प्रचण्ड भयो, अब गर्नुहुन्छ के ? थोरै भावनामा म आएँ । मैले त्यो कुरा नभने हुन्थ्यो । भन्नुपर्ने जरुरी थिएन । तर मैले भनें । मनमा आयो भनें । राष्ट्रप्रति नै घात गर्ने कुरा हो त यो ? यति सहज र स्वाभाविक कुरा प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो । मैले प्रधानमन्त्री भएर होइन, ज्ञानुको बुवा भएर बोलें । त्यो सेन्टिमेन्ट सम्झिन पुगें । सदासयताका निम्ति धन्यवाद दिन पुगें । त्यति त हो कुरा ।

छोरीलाई क्यान्सर हुँदा सरदार प्रितम सिंहले आश्रय दिएकाले उहाँसँग भावनात्मक सम्बन्ध गाँसिएको थियो । उहाँले एक पटक मलाई प्रधानमन्त्री बनाउन दिल्ली र काठमाडौंमा समेत कुरा गरेको भन्नुभएको थियो । त्यही कुरा मैले बोलेको हुँ ।

प्रितम सिंह कुनै शक्तिकेन्द्र होइनन् । उनले भनेर म प्रधानमन्त्री भइहाल्ने पनि होइन । नेपालमा कसैलाई प्रधानमन्त्री बनाउने सामर्थ्य उनको छैन । त्यस्तो खालको व्यक्ति पनि होइनन् । हिजो अस्ति प्रितम आफैंले पनि भनेका छन् । उनीसँग मेरो नेता तथा प्रधानमन्त्रीको सम्बन्ध पनि छैन । बिरामी छोरीलाई सहयोग गरेको कृतज्ञ बाबुको सम्बन्धमात्रै हो ।

मेरो सवल पक्ष वा कमजोरी जे भने पनि सार्वजनिक र निजी कार्यक्रममा फरक रुपमा प्रस्तुत हुन धेरै गाह्रो पर्छ । सायद यो मेरो कमजोरी पनि हो र सायद सवल पक्ष पनि । यसभित्र अन्तरनिहित छ कि ? निजी जस्तै सार्वजनिक अभिव्यक्तिमा पनि म मनले बोल्छु । प्रधानमन्त्रीले बोल्नुपर्ने त दिमागले हो । यो कुराको सैद्धान्तिक ज्ञान मलाई नभएको होइन । तर, मान्छेको सत्व, जिन, उसको प्रवृत्ति, विशेषता जसले हामीलाई अलग अलग बनाएको छ, त्यही सत्वभित्र यो पर्छ । म दिमाग र मन दुवैले बोल्छु । कहिले मन अगाडि हुन्छ, कहिले दिमाग ।

मलाई धेरै साथीहरुले यस्तो स्वभाव परिवर्तन गर्न सुझाव दिने नगरेका पनि होइनन् । तर, ७० वर्षतिर अगाडि बढिरहेको समयमा यो बदल्ने कुरा फलामको च्यूरा हुँदो रहेछ । अब बदल्छु भन्यो बोल्न जाँदा आइहाल्छ । इमानदारीका साथ यो तथ्य राख्नुबाहेक मसित के विकल्प छ ? यही हो म, यही हो प्रचण्ड ।

तर, यो तहको भावुकता ठीक नभएको निष्कर्षमा म पुगेकै हो । स्वभाववश म अन्तरमनको आवाजतिर फर्किहाल्दो रहेछु । मनभित्र मैलो छैन । नियत सफा भए भित्र र बाहिरका अभिव्यक्ति समान हुँदा रहेछन् । म आत्मसमीक्षा गर्न चाहन्छु । भविष्यमा सतर्क हुन उत्प्रेरित गरेको ठानेको छु ।

तर, हिजो क्रान्तिकालमा स्वाधीनता र अखण्डताका लागि लडेको लडाइँ यत्तिले सिद्धियो त ? नाकाबन्दी हुँदा मैले लिएको अडान सबै प्रतिपक्षका नेता साथीहरुलाई राम्ररी थाहा छ । मेरो त्यही अभिव्यक्तिले सबै सकियो त ? ममाथि अदालतमा पनि मुद्दा छ । मैले षड्यन्त्र गरेर भनेको हो त ? तीन हजार, पाँच हजार, सत्र हजारका कुरा कुन प्रसंगमा के भन्यो हेक्का राख्नुपर्ने होइन ?

नैतिकताको कुरा गर्नुभयो माननीयज्यूले । विगतमा कसले कति गर्‍यो भनेर विगत हेर्नुभयो भने, राजेन्द्रजी भर्खरै दुई कार्यकाल भयो होला, पहिले पहिलेको यस्सो हेर्नुभयो भने, दुईपटक राजीनामा दिँदा कस्तो परिस्थितिमा दिएँ ? के आधारमा दिएँ ? गहिरोगरी छातीमा हात राखेर विचार गर्नुहोला, नैतिकता कसले देखायो भनेर विवेचना गर्नुहोला । तपाईंले भनेर त म राजीनामा गर्न सक्दिनँ । तर, अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा बस्दिनँ ।

दुवै पटक मैले उच्च नैतिकता देखाएँ । तर, प्रतिपक्षले माग्यो भन्दैमा भागिहाल्ने हो भने के गति हुन्छ देशको ? भोलि तपाईं प्रधानमन्त्री हुँदा पनि त्यस्तै होला । मतभेदका पनि मर्यादा हुन्छन् । आवेग र हतारमा त्यो भाषा र निष्कर्षमा नपुगौं । अलिकति समय लिएर पुगौं ।

अहिले परिस्थितिवश प्रधानमन्त्री बनेको हुँ । मलाई थाहा छ, म सधैंको लागि प्रधानमन्त्री भएको होइन, अहिले पनि मलाई लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन । तर, जति हुन्छु, यो पटक म जनताको पक्षमा काम गरेर देखाउँछु । त्यहीअनुसार काम गर्दैछु ।

म संसदमा केही प्रश्न पनि गर्छु । यो राख्दै जाँदा केही भावुकता आउने हो कि भन्ने डर पनि छ मलाई । यसबीचमा प्रश्न उठाइयो । मलाई प्रधानमन्त्री कसले बनायो ? नेपालमा प्रधानमन्त्री कसले बनाउँछ भन्ने किसिमले प्रश्न उठ्यो । यो प्रश्न उठ्दैगर्दा मभित्र धेरै कुरा खेले ।

मलाई प्रधानमन्त्री बनाउन लिखित रुपमा हस्ताक्षर गर्नेहरु प्रतिपक्षी दलका साथीहरुबाटै यो प्रश्न आएको देख्दा म गम्भीर भएको छु । किनकि मलाई प्रधानमन्त्री प्रितम सिंहले दिल्ली गएर बनाएर ल्याएको त होइन । मेरो भित्रको कुरा भन्दैछु । प्रितम सिंहले बनाएको त होइन । योभन्दा धेरै नबोलौं । त्यो बेलामा के स्थिति थियो, उहाँहरुलाई राम्रो थाहा छ ।

म प्रधानमन्त्री कुन परिवेशमा भएँ भन्ने कुरा सबैभन्दा बढी हेक्का प्रमुख प्रतिपक्षी दलका प्रमुख नेतालाई छ । क-कसले रोक्न खोजेका थिए भन्ने थाहा हुँदाहुँदै अहिले राष्ट्रपतिलाई आफैंले लेखेको पत्रको यति ठूलो अवहेलना हुने गरी प्रश्न कसरी उठाइयो ? मभित्र प्रश्न उठेको छ ।
मेरो भाषाबाट पर्न गएको असहजताप्रति दुःख व्यक्त गर्न चाहन्छु । मेरो मनसाय कसैको अनादर वा आरोपप्रत्यारोप गर्ने नहुँदानहुँदै पनि यसअघिका कतिपय टिप्पणी र वक्तव्यमा देखिएका भावहरुका निम्ति पनि दुःख व्यक्त गर्न चाहन्छु । विगतका सबै टिप्पणीहरु, तिनमा प्रयोग भएको भाव र भाषाभन्दा यो नै आधिकारिक हो र यसलाई नै स्थापित गरेर लैजाने विश्वास व्यक्त गर्न चाहन्छु । मेरो भाषा प्रधानमन्त्रीका रुपमा जसरी बोल्नुपर्थ्यो त्यस्तो नभएको रियलाइज गर्दै यसप्रति ध्यानाकर्षण गराउने प्रतिपक्ष दलहरुलाई धन्यवाद दिन्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर