हुलाक बचत बैंकका खाताहरु राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गरेर साउन १ देखि नियमित कारोबार हुने – Nepal Press

हुलाक बचत बैंकका खाताहरु राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गरेर साउन १ देखि नियमित कारोबार हुने

काठमाडौं । हुलाक बचत बैंकको खाता राष्ट्रिय बाणिज्य बैंकमा हस्तान्तरण हुने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेटमा हुलाक बचत बैंक खारेज गर्ने व्यवस्था गरेको थियो ।

सोही व्यवस्थाअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम हुलाक बचत बैंकमा रहेक बचत खाता तथा रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने भएको हो ।

यसका लागि विभाग र बैंकबीच सम्झौता भएको छ । सम्झौता पत्रमा हुलाक सेवा विभागका महानिर्देशक ईन्दु घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

देशभरका ६८ हुलाक कार्यालयबाट करिब ५७ हजार सर्वसाधारणको बचत खाता तथा करिब एक हजार सात सय कर्मचारीहरुको ऋण लगानीका खाताहरु विभागले बैंकका विभिन्न शाखा कार्यालयहरु मार्फत यही असार २८ गतेभित्र विवरण हस्तान्तरण गर्ने छ ।

हुलाक बचत बैंकका निक्षेपकर्ताहरुले राष्ट्रिय वाणिज्य बैंकको नजिकैका शाखा कार्यालयमा गई नियमानुसार खाता आद्यवधिक गरी आफ्नो नियमित कारोबार आगामी साउन १ गते देखि गर्न सक्नेछन् ।

यसरी खोलिने सम्पूर्ण खातावालाहरुलाई बैंकले चेकबुक, एटिएम कार्ड, मोवाइल बैंकिङ्ग सेवा, एसएमएस सेवा निशुल्क उपलब्ध गराउने छ ।

नेपाल सरकारले हुलाक कार्यालयलाई आ.व. २०३२/०३३ सालदेखि सर्वसाधारणको बचत संकलन गर्ने र आ.व. २०६०/०६१ देखि ऋण लगानी समेत गर्ने अनुमति दिएको थियो । हुलाक बचत बैंकको कार्यक्षेत्र निक्षेप सङ्कलनमा सर्वसाधारण र ऋण लगानीमा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका स्थायी कर्मचारीहरु रहँदै आएको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ्ग सेवा, ईन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने युएसएसडि मोबाइल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

सञ्चालन भएको झन्डै पाँच दशकपछि हुलाक बचत बैंकको प्रभावकारितामै प्रश्न उठ्न थालेको थियो । अन्य बैंक तथा वित्तीय संस्थाले उत्कृष्ट सेवा दिइरहेकाले हुलाक बचत बैंक खारेज गर्ने योजना सरकारले बनाएको अर्थमन्त्रालयले बताएको छ । आर्थिक वर्ष २०७५/०७६ कै बजेटमा पनि हुलाक बचत बैंक खारेज गर्ने प्रस्ताव गरिएको थियो तर सफल भएको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर