सुदूरपश्चिमका अर्थमन्त्रीको आग्रह- बजेट पास/फेल जे भएपनि संसदमा छलफल सुरु गरौँ – Nepal Press

सुदूरपश्चिमका अर्थमन्त्रीको आग्रह- बजेट पास/फेल जे भएपनि संसदमा छलफल सुरु गरौँ

कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले बजेट माथिको छलफलमा सहभागी हुन दलहरूलाई आग्रह गरेका छन् ।

आज बिहान बसेको कार्य व्यवस्था परामर्श समितिमा उपस्थित भएका अर्थमन्त्री शाहले बजेट पास/फेल जे भएपनि संसद्मा छलफल सुरु गर्न दलहरूलाई आग्रह गरेका थिए ।

सभामुख भीम भण्डारीको कार्यकक्षमा बसेको बैठकमा कांग्रेसका विक्रम धामी माओवादीका मानबहादुर धामी, नेकपा एमालेका वीर बहादुर थापा नागरिक उन्मुक्तिका खुसीराम चौधरी, नेकपा एकीकृत समाजवादीका प्रकाश रावल उपस्थित थिए ।

राप्रपाकी खेमा देवी विष्ट र स्वतन्त्र सांसद डा तारा जोशी समेत रहेको बैठकमा अर्थमन्त्रीले संसद्मा छलफल सुरु गर्न आग्रह गरेका थिए ।

बैठकमा उपस्थित सांसदहरूले अहिले सम्म सरकारले दलहरूसँग समन्वय गर्न नसकेको र बजेटमा असन्तुष्टि रहेको गुनासो पोखेका थिए ।

माओवादीका धामीले सरकारले कन्भिन्स नगरे बजेट छलफल प्रक्रियामा आफ्नो पार्टी सहभागी नहुने सम्मको चेतावनी दिएका थिए ।

कांग्रेसका प्रमुख सचेतक धामीले छलफलको माध्यमबाट समाधान खोज्नु पर्ने बताएका थिए ।
एमाले सांसद थापाले सरकारले अहिले सम्म छलफल र संवादबाट टाढा रहेर अन्तिममा हतारमा पर्याप्त छलफल बिना बजेट पारित गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरे । नागरिक उन्मुक्तिका प्रमुख समेतक चौधरीले परिपक्व बजेट नआएको गुनासो पोखे ।

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक रावलले पनि सरकारले समयै बजेट माथिको छलफल सुरु गर्नु पर्नेमा ढिलो गरेको बताए ।

राप्रपाकी सांसद बिष्टले प्रदेश सरकारले ल्याएको बजेटले प्रदेश सभा सदस्यहरू प्रति गुनासो बढेको र आफ्नो क्षेत्रमा जान पनि समस्या भएको बताइन् ।

बैठकमा उपस्थित स्वतन्त्र सांसद जोशीले बजेटमा पर्याप्त छलफल हुनुपर्ने बताए ।
असार १ गते सरकारले ल्याएको बजेट माथि अझै छलफल सुरु हुन सकेको छैन ।

आजको कार्य व्यवस्था समितिको बैठकले पनि आज संसद् सुरु गर्ने सहमति भएपनि बैठक माथिको छलफल कहिलेबाट सुरु गर्ने भन्ने बारे अझै सहमति जुट्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर