सत्ता र प्रतिपक्ष आरोप-प्रत्यारोपमै, बस्ला त प्रतिनिधिसभा बैठक ? – Nepal Press

सत्ता र प्रतिपक्ष आरोप-प्रत्यारोपमै, बस्ला त प्रतिनिधिसभा बैठक ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरिरहेको सदन आज पनि अनिश्चित बनेको छ । आज दिउँसो ३ बजेका लागि राखिएको प्रतिनिधिसभा बैठक बस्ने/नबस्ने टुंगो नभएको हो ।

आइतबार सिंहदरबारमा भएको शीर्ष बैठकमा प्रधानमन्त्री प्रचण्डले सदनमा जवाफ दिने भएपछि सदन खुलाउने सहमति भएको भनिएको थियो । तर, त्यो सहमति केही घण्टा पनि टिकेन । सत्तापक्ष र प्रतिपक्ष एकअर्काविरुद्ध आरोप प्रत्यारोपमै छन् ।

आजको बैठक बस्छ बस्दैन भन्ने अझै टुंगो नभएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डले बताए ।

उनले भने, ‘हामी त बैठक बस्न हिजै सदनमा गइसकेको थियौं । उहाँहरुले नै नमान्नुभएको हो । आज के गर्ने भन्ने उहाँहरुले खबर गर्नुभएको छैन ।’

संसद सचिवालयले बैठक बस्नेबारे सूचना जारी गरेको भएपनि बैठकबारे कुनै जानकारी नआएको एमाले संसदीय दलको उपनेता सुवास नेम्वाङले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘हामी हाम्रो मागमा अडिग छौं । समस्या समाधानका लागि हिजोदेखि नै शीर्ष नेताहरू जुट्नुभएको थियो । आज पनि बस्नेबारे चाहिँ थाहा छैन ।’

प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएको एमालेले सदनमा आत्मालोचना गरे अघि बढ्न दिने भएको थियो । तर, ओलीले एमालेलाई लाञ्छना लगाइएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यको असार २१ गतेको वक्तव्य र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति फिर्ता लिनुपर्ने अडान राखेका छन् ।

सभामुख देवराज घिमिरे शीर्ष नेताबीच समाधान नगरी बैठक नराख्ने पक्षमा छन् । त्यसो त चौथो दिनसम्म अवरोध भएपछि राष्ट्रियसभा बैठक पनि भोलिसम्मका लागि स्थगित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर